२३ चैत, विदुर । नुवाकोट जिल्लामा थप एक जना पुरुषमा कुष्ठरोगको संक्रमण पुष्टि भएको छ।
जनस्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकारी तथा क्षयरोग फोकल पर्सन कृष्णप्रसाद रिजालका अनुसार तादी गाउँपालिकाका ६० वर्षीय एक पुरुषमा कुष्ठरोग संक्रमण पुष्टि भएको हो।
संक्रमित बिरामी हाल तादी अस्पताल खरानीटारमा नियमित औषधि सेवनमार्फत उपचाररत रहेका छन्। स्वास्थ्यकर्मीहरूको निगरानीमा उपचार प्रक्रिया अघि बढाइएको र बिरामीको अवस्था नियन्त्रणमा रहेको जनाइएको छ।
स्वास्थ्य कार्यालयले कुष्ठरोग सरुवा भए पनि समयमै पहिचान र निरन्तर औषधि सेवनले पूर्ण रूपमा निको पार्न सकिने स्पष्ट पारेको छ। साथै, छालामा दाग, सुन्निने वा संवेदनशीलता घट्ने जस्ता लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा परीक्षण गराउन नागरिकलाई आग्रह गरिएको छ।
प्रतिक्रिया