जेठ २७, विदुर । विश्वप्रसिद्ध नृत्य प्रतियोगिता ‘वर्ल्ड अफ डान्स’को नेपाल संस्करणको ग्रान्ड फिनाले शनिबार बेलुका काठमाडौंमा भव्यताका साथ सम्पन्न भएको छ।
बलिउडका चर्चित नृत्य निर्देशक टेरेन्स लुइसको विशेष उपस्थितिमा भएको यस कडा प्रतिस्पर्धामा नुवाकोट जिल्लाको स्थानीय नृत्य समूह ‘टिम एनटी’ ले ऐतिहासिक सफलता हात पारेको छ।
देशभरका ५ प्रमुख सहर तथा भारतबाट समेत आएका उत्कृष्ट नृत्यकारहरूलाई पछि पार्दै टिम एनटीले ‘अपर टिम डिभिजन’ तर्फको गरिमामय उपाधि आफ्नो पोल्टामा पारेको हो।
फाइनलमा टिम एनटीले उत्कृष्ट प्रदर्शन गर्दै ‘इन्नेट सोल्स’ र ‘एस स्क्वायर फ्यामिली’ लाई क्रमशः दोस्रो र तेस्रो स्थानमा सीमित तुल्यायो।
उपाधि विजेता बनेसँगै नुवाकोटको यस टिमले २४ क्यारेट सुनको जलप लगाइएको विशेष ट्रफी र नगद १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ। यो जितसँगै टिम एनटीले अब अन्तर्राष्ट्रिय मञ्चमा नेपालको झन्डा फहराउने ऐतिहासिक अवसर समेत पाएको छ।
कार्यक्रमका कलात्मक निर्देशक जेडी तमुका अनुसार अपर टिम डिभिजनको विजेताको हैसियतमा टिम एनटीले अमेरिकामा हुने ‘वर्ल्ड फाइनल’, थाइल्यान्डमा हुने ‘ग्लोबल डान्स रेप्रिजेन्टेटिभ’ र हङकङमा हुने ‘वर्ल्ड सुपेर्मेसी ब्याटलग्राण्ड’ जस्ता विश्वविख्यात मञ्चहरूमा सहभागी भई नेपालको प्रतिनिधित्व गर्नेछ।
स्थानीय स्तरबाट उठेर विश्व मञ्चसम्मको यो यात्रा तय गर्नु नुवाकोट र समग्र देशकै लागि गौरवको विषय बनेको छ।
प्रतियोगिताका राष्ट्रिय निर्देशक रोशन गहतराजले यो प्लेटफर्मले नेपाली प्रतिभालाई विश्वसामु चिनाउने र नेपाली नृत्यको स्तरलाई अन्तर्राष्ट्रिय मापदण्डमा पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेको बताए।
दयाहाङ राई, मिरुना मगर, टेरिया मगर, कविता नेपाली र प्रशान्त ताम्राकार लगायतका दिग्गज कलाकारहरूको बाक्लो उपस्थिति रहेको उक्त फिनालेको निर्णायक मण्डलमा बलिउडका टेरेन्स लुइससँगै नेपालका किरण थापा र जेडी तमु रहेका थिए।
सन् २००८ मा अमेरिकाको क्यालिफोर्नियाबाट सुरु भएको यो प्रतिष्ठित प्रतियोगिताको नेपाल संस्करणमा नुवाकोटको टिम एनटीले जमाएको यो साखले स्थानीय कला र प्रतिभालाई हेर्ने दृष्टिकोणमा नयाँ आयाम थपेको छ।
प्रतिक्रिया