+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

डा. रामशरण महत

आधुनिक नेपालको आर्थिक रूपान्तरणका सूत्रधार

डा. रामशरण महत
श्रीराम श्रेष्ठ
२१ मिनेट अगाडी

डा. रामशरण महत आधुनिक नेपालको राजनीतिक र आर्थिक वृत्तमा सदैव सम्झनामा रहीरहने स्मरणीय व्यक्ति हुन् । जसलाई बिर्सेर नेपालको विशेष गरी अर्थराजनीति र विकास यात्राको चर्चा सधैं अपूर्ण नै रहन्छ । वि.सं. २००७ मा पहाडी जिल्ला नुवाकोटको मध्यमवर्गीय परिवारमा जन्मिएका महतको जीवन बाल्यकाल देखिनै सङ्घर्ष र बौद्धिकताको अनुपम संगम रह्यो । एक सामान्य विद्यार्थीदेखि विश्वस्तरको उत्कृष्ट अर्थमन्त्रीसम्मको उनको यात्रा कुनै चलचित्रको कथाभन्दा कम प्रेरणादायी देखिंदैन । उनको व्यक्तित्वको सबैभन्दा सबल पक्ष भनेको राजनीतिक निष्ठा र आर्थिक विज्ञताको सन्तुलन नै हो, जुन नेपाली राजनीतिमा विरलै देख्न पाइन्छ । महतको राजनीतिक चेतनाको विकास नेपालमा प्रजातन्त्रका लागि भएका सङ्घर्षपूर्ण दिनहरूबाट भएको थियो । विद्यार्थी जीवनमा नेपाल विद्यार्थी संघको राजनीतिमा होमिएका उनी अध्ययनमा पनि उत्तिकै अब्बल थिए । उनले त्रिभुवन विश्वविद्यालयबाट स्वर्ण पदक सहित अर्थशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन पुरा गरेपछि भारतको पुणे विश्वविद्यालयबाट विद्यावारिधि हासिल गर्न सफल भए । राजनीतिलाई केवल सत्ता प्राप्तिको माध्यम मात्र नभई देशको आर्थिक रूपान्तरणको बलियो औजार बनाउनुपर्छ भन्ने मान्यता उनले सुरुदेखि नै राख्दथे । पञ्चायती व्यवस्थाको अन्त्य र वि.सं २०४६ को जनआन्दोलनपछि जब देशले बहुदलीय व्यवस्थाको नयाँ बिहानी देख्यो, तब महतको विज्ञताले राष्ट्रिय मञ्चमा उजागर हुने अवसर पायो ।

नेपालमा आर्थिक उदारीकरणको जग बसाल्ने प्रमुख श्रेय डा. महतलाई जान्छ । वि.सं २०४८ को जननिर्वाचित सरकारमा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष र त्यसपछिका विभिन्न समयमा पटक–पटक अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्दा उनले नेपालको बन्द अर्थतन्त्रलाई विश्वव्यापीकरण र खुला बजारसँग जोड्ने साहसिक कदम चालेका थिए । उनले अंगीकार गरेको उदारवादी नीतिका कारण नै नेपालमा निजी लगानीका लागि ढोका खुलेको थियो । आज नेपालमा देखिएको र अभ्यासमा रहेकोे बैंकिङ क्षेत्रको विस्तार, निजी हवाई सेवा, सञ्चार क्षेत्रमा भएको क्रान्ति र स्वास्थ्य तथा शिक्षामा आएको परिवर्तनको आधारशिला उनकै कार्यकालमा कोरिएको मार्गचित्र थियो । तत्कालीन अवस्थामा उनले चालेका निजीकरणका कदमहरूको समय–समयमा आलोचना पनि नभएको होइन, तर राज्यले व्यापार गर्नेभन्दा पनि सहजीकरण गर्नुपर्छ भन्ने उनको अडानमा उनी सधैं अडिग रहे । उनले नेपाली कांग्रेसलाई आर्थिक सुधारको मियोका रूपमा स्थापित गराए र ‘सरकारले उद्योगधन्दा खोल्ने होइन, केवल उचित वातावरण निर्माण गरिदिने हो’ भन्ने मान्यतालाई दृढताका साथ कार्यान्वयन गराएका थिए । उनी अर्थमन्त्री हुँदा सुरु गरिएको निजीकरण र उदारीकरणको नीतिलाई पछि तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रले समेत पटक–पटक सरकारको नेतृत्व गर्दा आधारभूत रूपमा परिवर्तन गर्न सकेनन्, जसले गर्दा कमजोर अर्थतन्त्रलाई एक निश्चित् दिशामा हिँडाएको जस अहिले पनि महतले पाउने गरेका छन् । महतको अर्थशास्त्रीय दर्शन विशेषगरी वितरणमुखी बजेटको विपक्षमा केन्द्रित रह्यो । तत्कालीन अवस्थामा ‘पैसा बाँडेर मात्रै जनताको जीवनस्तर सुधार हुँदैन’ भन्ने अडान राख्ने उनले वृद्धभत्ता बढाउन वा सांसदहरूलाई रकम विनियोजन गर्ने जस्ता लोकप्रिय कार्यक्रमहरूमा सधैं अनुदार व्यवहार देखाएका थिए । राज्यले ‘माछा दिने होइन, माछा मार्न सिकाउनुपर्छ’ भन्ने उनको सिद्धान्त थियो, जसले गर्दा उत्पादन नबढ्ने र सार्वजनिक खर्च मात्र बढाउने क्षेत्रमा राज्यको ढुकुटी खर्चिनु हुँदैन भन्नेमा उनी अडिग रहन्थे । अर्थमन्त्रीका रूपमा उनले जहिले पनि पुँजी र प्रविधिका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने र सार्वजनिक खर्च नियन्त्रण गर्ने नीतिलाई नै प्राथमिकतामा राखिरहे ।

नेपाल विकासिल मुलुकहरूमा बढी कर तिर्ने मुलुकमा पर्ने भएकोले यस्तोमा उच्च लगानी कसरी आउला भन्नेमा आशंका उनको थियो ।

डा. महतका यी नीतिहरू पूर्णतः निर्विवाद भने रहेनन् । पञ्चायतकालमा फस्टाएका सरकारी उद्योगहरूलाई निजीकरणका नाममा कौडीको भाउमा बेचिएको र ती उद्योगहरू भ्रष्टाचार तथा राजनीतिकरणको अखडा बनेको गम्भीर आरोप उनीमाथि लाग्ने गरेको छ । आलोचकहरूका अनुसार उनको अर्थनीतिले सर्वसाधारणका लागि ठोस जनपक्षीय योजनाहरू ल्याउन सकेन, बरु ठेक्कापट्टामा कांग्रेसीकरण र राजनीतिक भ्रष्टाचारलाई संस्थागत गर्न मद्दत पु¥यायो । यही कालखण्डमा नेताहरू रातारात धनी हुने र देश भ्रष्टाचारको दलदलमा फस्ने प्रक्रिया सुरु भएको भन्दै उनको आर्थिक मोडेलको कडा आलोचना हुने गरेको छ । यसरी नेपालको अर्थतन्त्रलाई आधुनिक र प्रतिस्पर्धी बनाउन खोज्नु र त्यसका दुष्परिणामस्वरूप उत्पन्न भएका नीतिगत विचलनहरू डा. महतको व्यक्तित्व र कार्यकालका दुई फरक पाटाका रूपमा रहेका पाइन्छन् । निजि क्षेत्रलाई प्रोत्साहन गर्न तथा लगानी आकर्षित गर्न करको दर कम गर्नुपर्छ भन्ने उनको मान्यता छ । नेपाल विकासिल मुलुकहरूमा बढी कर तिर्ने मुलुकमा पर्ने भएकोले यस्तोमा उच्च लगानी कसरी आउला भन्नेमा आशंका उनको थियो । ‘हामी यसअघि नै कूल ग्राहस्थको २४ प्रतिशत कर उठाउने मुलुक हौं, दक्षिण एसियामा त कोही पनि छैन हामी संसरकै उच्च कर उठाउने देश हौ’ तत्कालीन समयमा उनको विचार थियो । उनले भने,‘संघीय बजेटबाटै ३० प्रतिशतभन्दा कर उठाउने भनिएको छ । स्थानीय र प्रदेशले उठाउँदा ३५ प्रतिशत पुग्छ । जिडीपीको यत्रो कर उठाउने देश उच्च विकसितमात्र होलान् । जुन मुलुकमा कर यति धेरै छ, जहाँ धेरै कर लाग्छ त्यहाँ कसरी लगानी अकार्षण हुन्छ ?’ तत्कालीन समयमा डा. महतले लगानी र करको सन्दर्भामा विचार राखेका थिए ।

उनी केवल गफ गर्ने नेता थिएनन्, बरु तथ्याङ्क र तर्कमा आधारित भएर नीति निर्माण गर्ने एक गम्भीर अर्थराजनीतिज्ञ थिए ।

डा. महतको कार्यकालको अर्को महत्वपूर्ण उपलब्धि भनेको नेपालमा मूल्य अभिवृद्धि कर (भ्याट) को सुरुवात र कार्यान्वयन हुनु हो । जब उनले यो प्रणाली ल्याउने प्रस्ताव गरे, त्यतिबेला चौतर्फी विरोध भएको थियो । तर, उनले दूरगामी सोच राख्दै यसलाई लागू गरेरै छोडे । आज त्यही भ्याट नेपालको राजस्वको मुख्य मेरुदण्ड बनेको छ, जसले राज्यको ढुकुटी बलियो बनाउन ठूलो भूमिका खेलेको छ । उनी केवल गफ गर्ने नेता थिएनन्, बरु तथ्याङ्क र तर्कमा आधारित भएर नीति निर्माण गर्ने एक गम्भीर अर्थराजनीतिज्ञ थिए । उनले बजेटमा अनुशासन र वित्तीय स्थिरतालाई सधैं प्राथमिकतामा राखे, जसले गर्दा नेपालको अर्थतन्त्र कठिन समयमा पनि धरासायी हुन पाएन । उनको व्यक्तित्वको वास्तविक परीक्षा भने वि.सं. २०७२ को विनाशकारी भूकम्पको बेला भएको थियो । देश शोक र भग्नावशेषमा डुबेको बेला अर्थमन्त्रीको रूपमा उनले जुन कुशलता प्रदर्शन गरे, त्यसले उनलाई अन्तर्राष्ट्रिय जगतमा उच्च सम्मान दिलायो । उनले छोटो समयमै विश्वका दातृ निकाय र मित्र राष्ट्रहरूलाई एकै ठाउँमा ल्याएर ‘नेपालको पुननिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’ को आयोजना गरे र अरबौंको सहायता जुटाउन सफल भए । उनको यही क्षमताको कदर गर्दै बेलायतको ‘द बैंकर’ म्यागजिनले उनलाई सन् २०१६ मा ‘विश्वको उत्कृष्ट अर्थमन्त्री’ बाट सम्मानित समेत गरेको थियो । यो केवल उनको व्यक्तिगत सम्मान मात्र थिएन, बरु नेपालको आर्थिक व्यवस्थापन क्षमताको अन्तर्राष्ट्रिय पहिचान पनि बनेको थियो ।

डा. रामशरण महतको जीवनी एउटा खुला किताब जस्तै छ, जहाँबाट लगनशीलता, विज्ञता र राष्ट्रियताको पाठ उदाहरणीय रुपमा सिक्न सकिन्छ ।

राजनीतिक जीवनमा डा. महत सधैं शालीन र अध्ययनशील व्यक्तित्वका रूपमा चिनिए । उनी पदमा रहँदा होस् वा नरहँदा, सधैं देशको आर्थिक स्थितिबारे चिन्तित रहन्थे र रचनात्मक सुझाव दिइरहन्थे । उनका प्रकाशित लेखहरू र पुस्तकहरूले नेपालको प्रजातान्त्रिक आन्दोलन र आर्थिक विकासका चुनौतीहरूलाई नजिकबाट बुझ्न मद्दत गर्छन् । उनकै आलेखबाट उनले राखेका विचार उल्लेख गरौं —‘मुलुकको समग्र विकासमा प्रजातन्त्रको विकल्प छ्रैन । प्रजातन्त्रको विकल्प थप प्रजातन्त्रीकरण मात्र हो । सदीयौंदेखि उपेक्षित समुदाय, वर्ग, जातिलाई आर्थिक र सामाजिक न्याय दिलाउन प्रतिनिधि शासन आवश्यक सर्त हो तर पर्याप्त होइन । प्रजातन्त्रलाई थप प्रतिनिधिमूलक, समावेशी र विकेन्द्रित बनाउनुपर्छ । प्रजातान्त्रिक प्रणाली राज्य सत्तमा मात्र होइन राजनीतिक दलभित्र पनि आवश्यक छ । आर्थिक पारदर्शिता, उच्च नैतिक बल, पदका लागि निश्चित् समयावधि आन्तरिक प्रजातन्त्र र समावेशीकरणको कुरा राजनीतिक दलहरुको व्यवस्थापनमा प्रतिविम्बित हुनुपर्छ । राष्ट्रिय राजनीतिको मूल एजेण्डा सत्ता सङ्घर्ष होइन, आर्थिक विकास हुनुपर्छ ।’ प्रजातन्त्र र आर्थिक विकासका लागि उनका विचारहरु आज पनि उत्तिकै सान्दर्भिक र उनको प्रजातन्त्र प्रतिको प्रतिबद्धतालाई बुझ्न सकिन्छ । उनी एक यस्ता नेता हुन् जसले लोकप्रियताको सस्तो नारामा भन्दा पनि दीर्घकालीन राष्ट्रिय हितका लागि कठोर निर्णय लिन कहिल्यै डराएनन् । डा. रामशरण महतको जीवनी एउटा खुला किताब जस्तै छ, जहाँबाट लगनशीलता, विज्ञता र राष्ट्रियताको पाठ उदाहरणीय रुपमा सिक्न सकिन्छ । उनले नुवाकोटको माटोबाट सुरु गरेको यात्रा र विश्व मञ्चमा पु¥याएको नेपालको गौरव आजका युवा पुस्ताका लागि ठूलो प्रेरणा बनेको छ । राजनीतिमा लागेर पनि आफ्नो बौद्धिक स्तरलाई कसरी कायम राख्न सकिन्छ र त्यसलाई देशको विकासमा कसरी लगाउन सकिन्छ भन्ने कुराको उनी एक जिउँदो उदाहरण हुन् । नेपालको आर्थिक इतिहासमा उनले पु¥याएको योगदान र उनले देखाएको विकासको मार्गचित्र आगामी लामो समयसम्म नेपाली राजनीतिका लागि एउटा बलियो सन्दर्भ सामग्री बनिरहनेछ । देशले खोजेको र रोजेको बौद्धिक नेतृत्वको खडेरी परेका बेला डा. महतको व्यक्तित्व अझै बढी सान्दर्भिक देखिन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

श्रीराम श्रेष्ठ

ट्रेन्डिङ