+
Search

ताजा अपडेट +

पपुलर +

एसइई दिएका विद्यार्थी कम्प्युटर तालिममा व्यस्त, विपन्नलाई सहुलियत

सुनील श्रेष्ठ
४ महिना अगाडी

जेठ २६, नुवाकोट । माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएर बसेका विद्यार्थीहरू यतिबेला आफ्नो खाली समयको सदुपयोग गर्दै कम्प्युटर सीप सिक्न व्यस्त भएका छन्।

विदुरस्थित प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटीइभिटि) बाट मान्यता प्राप्त ईलम प्रशिक्षण केन्द्रमा अहिले विद्यार्थीहरूको कम्प्युटर तालिम सिकिरहेका छन् ।

केन्द्रमा हाल ६५ जना विद्यार्थीहरूले तीन महिने डिप्लोमा कम्प्युटर र बेसिक कम्प्युटर तालिम लिइरहेका छन्। गत वर्ष यस केन्द्रबाट एसइई दिएका १२० जना विद्यार्थीहरुले सो तालिम लिएका थिए । आर्थिक रूपमा विपन्न परिवारका प्रशिक्षार्थीहरूलाई केन्द्रले विशेष सहुलियत समेत प्रदान गर्दै आएको छ।

प्रशिक्षक मनिता श्रेष्ठका अनुसार अहिलेका प्रशिक्षार्थीहरूले विद्यालय तहमा नै आधारभूत कम्प्युटर ज्ञान हासिल गरिसकेका कारण उनीहरूलाई थप सीप सिकाउन निकै सहज भएको छ। विद्यार्थीहरूले पनि पहिलेभन्दा धेरै छिटो र उत्सुकताका साथ नयाँ प्रविधि र सफ्टवेयरका बारेमा ज्ञान लिइरहेको उनले जानकारी दिइन्।

कम्प्युटर तालिमले विद्यार्थीहरूलाई आगामी उच्च शिक्षा र आधुनिक कार्यक्षेत्रका लागि बलियो आधार तयार पार्ने विश्वास केन्द्रले लिएको छ।

यसैगरी, केन्द्रमा कम्प्युटरका अतिरिक्त महिलाहरूका लागि उद्यमशीलता सम्बन्धी विशेष तालिम पनि सञ्चालन भइरहेको छ।

विदुर नगरपालिकाको समन्वयमा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत पुराना उद्यमीहरूको स्तर उन्नतिका लागि ‘एडभान्स ब्युटी पार्लर (नेल कटिङ)’ तालिम भइरहेको छ ।

गत जेठ ११ गतेदेखि सुरु भएको यो तालिम आगामी असार ११ गतेसम्म चल्नेछ । जसमा ३० जना स्थानीय महिलाहरू सहभागी रहेको प्रशिक्षक सुनिता महर्जन रञ्‍जितले जानकारी दिईन् ।

लेखकको बारेमा

सुनील श्रेष्ठ

ट्रेन्डिङ