+
Search

ताजा अपडेट +

पपुलर +

एमसिए-नेपालद्वारा चार विद्युत प्रसारण लाइनको निर्माण कार्य शिलान्यास

MCA-Nepal lays foundation stone for construction of four power transmission lines
सुनील श्रेष्ठ
१ हप्ता अगाडी

जेठ २७, नुवाकोट ।  नेपालको ऊर्जा क्षेत्रको विकास र क्षेत्रीय व्यापार प्रवर्द्धन गर्ने उद्देश्यका साथ मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले आफ्नो गतिविधि तीव्र पारेको छ।

बुधबार नेपाल सरकारका अर्थ सचिव तथा एमसीए-नेपाल सञ्चालक समितिका अध्यक्ष डा.  घनश्याम उपाध्याय, अमेरिकी कार्यबाहक राजदुत स्कट अर्बम, एमसीसीका आवासीय राष्ट्रिय निर्देशक डायन फ्रान्सिस्को र नेपाल विद्युत प्राधिकरणका कार्यबाहक निर्देशक दिर्घायुकुमार श्रेष्ठ, एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर बिस्टले संयुक्तरुपमा नुवाकोटको बेलकोटगढी नगरपालिका रातमाटेस्थित विद्युत प्रसारण लाइनको निर्माण कार्यको औपचारिक रूपमा शिलान्यास गरेका हुन् ।

अमेरिकी सरकारको ५० करोड अमेरिकी डलर अनुदान र नेपाल सरकारको १९ करोड ७० लाख अमेरिकी डलर लगानीमा सञ्चालित यस ऐतिहासिक कम्प्याक्ट अन्तर्गत नुवाकोटको रातमाटे सबस्टेशन तथा नयाँ दमौली सबस्टेशन र २९७ किलोमिटर छ।

यसका साथै देशका विभिन्न रणनीतिक सडक खण्डहरूको स्तरोन्नति र आवधिक मर्मतका कार्यहरू पनि अगाडि बढाइएको जनाएको छ । नेपालको राष्ट्रिय विद्युत ग्रिडलाई सुदृढ बनाउनुका साथै यातायात क्षेत्रमा ठूलो सुधार ल्याउने अपेक्षा गरिएको छ।

विद्युत प्रसारण आयोजना तर्फ ४०० केभी क्षमताका तीनवटा अत्याधुनिक सबस्टेशनहरू निर्माण भइरहेका छन्। यस अन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा ३५५.१० लाख अमेरिकी डलरको लागतमा न्यू बुटवल सबस्टेशन, नुवाकोटमा ५१६ लाख अमेरिकी डलरको लागतमा रातमाटे सबस्टेशन र तनहुँमा ३८८.९० लाख अमेरिकी डलरको लागतमा न्यू दमौली सबस्टेशन निर्माण कार्य अघि बढेको छ।

प्रसारण लाइन निर्माणलाई चारवटा मुख्य खण्डमा विभाजन गरिएको छ । जसमा १८ किमीको सीमापार प्रसारण लाइन र २७९ किमी आन्तरिक लाइनहरू समेटिएका छन्। यस बृहत् संरचना निर्माणका लागि टेक्नो इलेक्ट्रिक एण्ड इन्जिनियरिङ कम्पनी लिमिटेड, आशिष–भोभ्लर संयुक्त उपक्रम, र एन्जेलिक–स्किपर संयुक्त उपक्रम जस्ता प्रतिष्ठित निर्माण कम्पनीहरू संलग्न रहेका छन्।

यता सडक मर्मत योजना तर्फ पनि उल्लेख्य प्रगति हासिल भएको छ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको धान खोला–लमही सडक खण्ड (करिब ४० किमी) को स्तरोन्नतिका लागि २ करोड अमेरिकी डलर बराबरको निर्माण सम्झौता सम्पन्न भइसकेको छ। यस खण्डमा अत्याधुनिक फुल–डेप्थ रिक्लेमेशन र सुपरपेभ प्रविधि प्रयोग गरिनेछ, जसले दाङ र अर्घाखाँचीका स्थानीय तहहरूलाई प्रत्यक्ष फाइदा पुर्‍याउनेछ।

यसैगरी, चितवनको पर्यटकीय तथा व्यापारिक मार्ग नारायणघाट–मुग्लिङ सडक खण्ड (करिब ३५ किमी) को आवधिक मर्मत कार्यका लागि डिजाइनको काम भइरहेको छ र आगामी असार मसान्तभित्र बोलपत्र आह्वान गर्ने तयारी गरिएको छ। प्राविधिक सहयोग अन्तर्गत सडक विभाग र सडक बोर्ड नेपालको क्षमता अभिवृद्धिका लागि प्रयोगशाला स्थापना तथा विशेषज्ञ परामर्शदाता नियुक्त गर्ने काम समेत भइसकेको छ।

परियोजना कार्यान्वयनका क्रममा स्थानीय बासिन्दाको जीविकोपार्जन सुधार र मुआब्जा वितरणलाई पनि विशेष प्राथमिकता दिइएको छ। नुवाकोटको रातमाटे सबस्टेशन निर्माणबाट प्रभावित २७० जना स्थानीय बासिन्दाका लागि कृषि तथा व्यावसायिक सीपमूलक तालिमहरू सञ्चालन भइसकेका छन् ।

प्रसारण लाइनबाट प्रभावित करिब १,५०० जनाका लागि पुनःस्थापना कार्यक्रम अघि बढाइएको छ। प्रसारण लाइनका टावरहरू निर्माण गर्न १० वटै जिल्लामा निजी जग्गा प्राप्ति र रुख गणनाको कार्य सम्पन्न भइसकेको जनाएको छ ।

नवलपरासी जिल्लामा रुख कटानीका लागि मन्त्रिपरिषद्‌बाट स्वीकृति समेत प्राप्त भइसकेको छ। ऊर्जा सुरक्षा सुनिश्चित गर्दै औद्योगिक विस्तार र आर्थिक वृद्धिलाई गति दिन यो आयोजना नेपालको आर्थिक भविष्यका लागि कोशेढुङ्गा साबित हुने अधिकारीहरूले बताएका छन्।

लेखकको बारेमा

सुनील श्रेष्ठ

ट्रेन्डिङ