२६ जेठ, नुवाकोट । नेपाली सेनाद्वारा शेर गणले निर्माण गरको ऐतिहासिक ‘एकीकरण पदमार्ग’को एक विशेष खण्डको स्तरोन्नति कार्य सम्पन्नपश्चात् औपचारिक रूपमा विदुर नगरपालिकालाई हस्तान्तरण गरिएको छ।
आज आयोजित एक विशेष समारोहका बीच ६ नम्बर बाहिनी अड्डाका बाहिनीपति सहायक रथी उज्वोल राणा र विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले संयुक्त रूपमा उक्त मार्गको उद्घाटन गरेका हुन् ।
नेपाली सेनाको ‘जनहित कार्यक्रम’ अन्तर्गत शीघ्र प्रभावी आयोजना मार्फत बनाईएको मार्ग विदुर नगरपालिका वडा नम्बर १० मा पर्ने ऐतिहासिक शुभघाटदेखि गेर्खुटारसम्मको पदमार्गलाई सेनाले स्तरोन्नति गरेको छ। इतिहास झल्काउने यस पदमार्गको कुल ३०० मिटर गोरेटो बाटोमा सेनाले थप सहज र आकर्षक सिँढी निर्माण कार्य समेत सम्पन्न गरेको छ।
समुद्घाटनपछि बाहिनीपति सहायक रथी राणाले उक्त स्तरोन्नति गरिएको ऐतिहासिक पदमार्ग आधिकारिक रूपमा विदुर नगरपालिकाका नगरप्रमुख श्रेष्ठलाई हस्तान्तरण गरेका थिए ।
यो पदमार्गको निर्माणले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन हुनुका साथै स्थानीय बासिन्दालाई आवतजावतमा ठूलो टेवा पुग्ने विश्वास लिइएको नगरप्रमुख श्रेष्ठले बताएका छन् । उक्त मार्गमा थप ढुङ्गा बिछ्याउने कार्य नगरपालिकाले गर्ने उनले जानकारी दिए ।
नेपाली सेनाले राष्ट्रिय सुरक्षाका साथै मुलुकको ऐतिहासिक सम्पदाको संरक्षण र विकास निर्माणमा पुर्याउँदै आएको यस्तै योगदानका कारण जनता र सेनाबीचको सम्बन्ध थप प्रगाढ बन्दै गएको देखिन्छ। यो पदमार्गले विदुर नगरपालिकाको ऐतिहासिक पहिचानलाई अझ बढाउने निश्चित छ।
कार्यक्रममा नुवाकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, शेर गणका गणपति आविष्कार ढुंगाना, प्रहरी प्रमुख बिपिन रेग्मी, विदुर नगरपालिका वडा नं. १० का वडाध्यक्ष गणेशकुमार नेपाल, स्थानीय जनप्रतिनिधिहरू, इतिहासविद्, समाजसेवी, बुद्धिजिवी र स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो ।
भौगोलिक र ऐतिहासिक रूपमा अत्यन्तै महत्त्वपूर्ण मानिएको गोर्खा-काठमाडौं एकीकरण पदमार्ग अन्तर्गतको शुभघाट-गेर्खुटार खण्ड नेपालको इतिहासमा विशेष स्थान राख्दछ। ऐतिहासिक तथ्य अनुसार नुवाकोट विजय अभियानका क्रममा पृथ्वीनारायण शाह आफ्ना सैनिक टोलीसहित शुभघाटमा एकत्रित भई स्थानीय जालुवा माझीको सहयोगमा त्रिशुली नदी पार गरेर योजनाबद्ध रूपमा नुवाकोटमाथि निर्णायक आक्रमण गरेका थिए। नेपाली सेनाले गर्ने यस्ता शीघ्र प्रभावी आयोजनाहरूले ऐतिहासिक सम्पदा र पदमार्गहरूको संरक्षण तथा संवर्द्धन गर्नुका साथै राष्ट्रको गौरवपूर्ण इतिहासलाई जीवित राख्न, स्थानीय क्षेत्रमा ऐतिहासिक पर्यटनको विकास गर्न र नागरिक-सैनिक सम्बन्धलाई थप सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्दछन्।

प्रतिक्रिया