१ वैशाख, नुवाकोट । जनस्वास्थ्य कार्यालय नुवाकोटको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा बट्टाको दूध प्रवर्द्धन नगर्ने र आमाको दुधलाई प्राथमिकता दिने सरोकारवालाले ऐक्यबद्धता जनाएका छन्।
आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन २०४९ तथा नियमावली २०५१ को प्रभावकारी कार्यान्वयन र स्तनपान प्रवर्धन सम्बन्धी सरोकारवालाहरुका लागि अभिमुखीकरण कार्यक्रम निरन्तरता कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईंले कानुनसम्मत औषधी वा पोषणयुक्त वस्तु बिक्री गर्नुपर्ने बताए । नेपालको संविधानको धारा ४८ मा नागरिकका कर्तव्यहरूबारे उल्लेख भएबमोजिम संविधान र कानूनको पालना गर्नु प्रत्येक नागरिकको कर्तव्य रहेकोले कानुन बिपरित उक्त कार्य नगर्न निर्देशन दिए ।
यसैगरी, उनले कार्यान्वयको लागि बनेको कानुन सबैले मान्नुपर्ने र नवजात शिशुको स्वस्थ वृद्धिका लागि स्तनपान नै सर्वोत्कृष्ट विकल्प भएको तथ्यलाई आत्मसात् गर्दै ऐनले विशेषगरी स्वास्थ्यकर्मीहरूलाई यस प्रक्रियामा बाधा पुऱ्याउने कुनै पनि गतिविधिमा संलग्न नहुन उनले अनुरोध गरे ।
आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन सम्बन्धि जानकारी दिन आयोजित कार्यक्रममा कार्यालयका प्रमुख डा. अञ्जु कार्कीले आमाको दुध रोगसँग लड्ने क्षमता भएकोले स्तनपान गराउनुपर्ने बताईन् । चिकित्सकको परामर्शमा मात्र बजारमा उपलब्ध बट्टाको दुध खुवाउनुपर्नेमा जोड दिईन् । बजारमा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको बिक्री–वितरण भइरहेको पाइएकाले सो कार्य बन्द गरी स्तनपानमा जोड दिन आग्रह गरिन् ।
कार्यक्रममा विदुर नगरपालिका-४ का अध्यक्ष निलमबाबु ढुंगेल, जनस्वास्थ्य निरीक्षक रामराजा भण्डारी, नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष, पूर्व वरिष्ठ उपाध्यक्ष गीता अमात्य, त्रिशुली अस्पतालकी नर्सिङ्ग अधिकृत देवकी पुडासैनी, नुवाकोट औषधी व्यवसायी सङ्घका अध्यक्ष टलकमान श्रेष्ठलगायतले आमाको दूध प्रतिस्थापन गर्ने वस्तुको ऐनको चर्चा गर्नुको साथै शिशुलाई स्तनपानमा प्राथमिकता दिनुपर्नेमा बताए ।
कार्यक्रममा पोषण फोकलपर्सन जनार्दन ढकालले आमाको दुधको महत्त्व र स्तनपानको तथ्यांकीय विश्लेषण प्रस्तुतिकरण गरेका थिए । स्तनपान गराउँदा शिशुको मृत्युदर कम हुने भएकोले स्तनपानमा जोड दिनुपर्ने स्पष्ट पारे । बालबालिकाको नैसर्गिक अधिकार र पोषण सुरक्षालाई मध्यनजर गर्दै सरकारले आमाको दूधलाई प्रतिस्थापन गर्ने कृत्रिम आहार, बट्टाको दूध र दूधदानी जस्ता सामग्रीको बिक्री वितरण र प्रवर्द्धनमा गर्न नहुनेमा सबै पक्षमा अनुरोध गरे । आमाको दूधमा शिशुका लागि आवश्यक सबै प्रकारका पोषण तत्व पाइने तथा पोसिलो र रोग प्रतिरोधको क्षमता बढाउने महत्वपूर्ण आहार भएकाले त्यसको विकल्पमा कुनै पनि खाद्य, आहार तथा बजारमा पाइने दूध हुन नसक्ने उनले बताए।
कार्यक्रममा सन्तोषी पौडेलले स्तनपान संरक्षण प्रबर्द्धन र सहयोगको लागि नीतिगत अवस्थाबारे प्रस्तुतिकरण गरेकी थिईन्। आमाको दूधको विकल्प (बट्टाको दूध, दूधदानी) को अनियन्त्रित बिक्री रोकी ६ महिनासम्म आमाको दूध मात्रै खुवाउने र २ वर्षसम्म स्तनपानलाई निरन्तरता दिने रहेको बताईन्। उत्पादक वा वितरकले बट्टाको दूधको विज्ञापन गर्न, स्वास्थ्य संस्थामा उपहार वा नमुना दिन, र स्वास्थ्यकर्मीलाई प्रवर्द्धनका लागि प्रलोभनमा पार्न नहुने, चिकित्सक वा स्वास्थ्यकर्मीले बट्टाको दूध सिफारिस गर्न पाउँदैनन् र आमाको दूध नै सर्वोत्तम हो भनी परामर्श दिनुपर्ने, बट्टाको दूधको खोलमा “आमाको दूध उत्तम हो” भन्ने सन्देश स्पष्ट लेखिएको हुनुपर्ने र ऐन उल्लङ्घन गर्नेलाई जरिवाना र जेल सजायसम्मको व्यवस्था रहेको जानकारी स्पष्ट पारिन्।
कार्यक्रममा सुरक्षित र पर्याप्त पोषणको सुनिश्चितताका लागि सरकारी मापदण्डको पालना गर्नु सरोकारवालहरुले कानुनी एवं नैतिक जिम्मेवारीमा जोड दिएका छन् ।
सहभागी व्यवसायीहरुले बजारमा पाइने कृत्रिम आहारको उत्पादनकर्ताको उत्पादनमा कडाई गर्नुपर्नेमा जोड दिए । कानुनको कार्यान्वनभन्दा पनि व्यवहारिक रुपले संशोधन गरी व्यवसायीहरुलाई उक्त कानुनको पूर्णरुपमा जानकारी दिई दिनुपर्ने बताए ।
कार्यालयले बजारमा पाइने कृत्रिम आहारका नमुना संकलन गर्ने वा वितरण गर्ने कार्यलाई समेत पूर्णतः वर्जित र स्तनपानको कमीले शिशुको दीर्घकालीन स्वास्थ्यमा समेत नकारात्मक असर पुऱ्याउने भएकोले आमाको दूध प्रतिस्थापन गर्ने वस्तुको (बिक्री–वितरण नियन्त्रण) ऐन २०४९ तथा नियमावली २०५१ को पालना गर्न तथा आमा र शिशुको स्वास्थ्य अधिकार प्रवद्र्धन गर्न सबैलाई आग्रह गरेको छ।