+
Search

ताजा अपडेट +

पपुलर +

फलाखु खोलामा बन्यो पक्की इन्टेक

अब बर्खामा पनि धमिलो पानी पिउनुपर्ने बाध्यता हट्ने विश्वास

Historic success of Bidur drinking water supply Construction of modern spring in Falakhu River completed
डबली खबर
१ घण्टा अगाडी

जेठ ३०, नुवाकोट । विदुर नगरपालिका क्षेत्रमा स्वच्छ खानेपानी वितरण गर्दै आइरहेको विदुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले एक ऐतिहासिक सफलता हासिल गरेको छ । संस्थाको लामो समयदेखिको अथक प्रयास र प्रतिक्षापछि अन्ततः फलाखु खोलाको मुहानमा नयाँ र पानी संकलन गर्ने मुख्य संरचना  (इन्टेक) निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

शनिबार विदुर खानेपानी संस्थाका अध्यक्ष सञ्जिव श्रेष्ठसहित पदाधिकारीको टोलीले निर्माणाधीन मुहानको इन्टेक अवलोकन गरेका हुन् । उनका अनुसार विदुरवासीलाई स्वच्छ र दिगो रूपमा खानेपानी उपलब्ध गराउन स्थापनाकालदेखि नै विभिन्न प्रयासहरू भइरहेका थिए, जसले अहिले आएर मूर्त रूप लिने जनाएको छ ।

Historic success of Bidur drinking water supply Construction of modern spring in Falakhu River completed

उक्त आयोजना बागमती प्रदेश सरकार र जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयको विशेष आर्थिक एवं प्राविधिक सहयोगमा निर्माण गरिएको संस्थाका सचिव रघुनाथ रिमालले जानकारी दिए । उपभोक्ताहरूको सक्रियता र प्रदेश सरकारको बजेटलाई सही सदुपयोग गर्दै फलाखु खोलाको बगरमा पानी थुन्ने र नहरसम्म सुरक्षित रूपमा पठाउने बलियो पूर्वाधार खडा गरिएको सचिव रिमालले बताए ।

नवनिर्मित इन्टेक संरचनाको प्राविधिक बनोट निकै मजबुत र व्यवस्थित रहेको संस्थाले जनाएको छ । खोलाको बहाव र बाढीलाई थेग्न सक्ने गरी निर्माण गरिएको यस मुख्य संरचनाको कुल लम्बाई ३० मिटर रहेको छ भने यसको चौडाई ५ मिटर कायम गरिएको छ, जसले गर्दा ठूलो परिमाणमा पानी संकलन गर्न सहज हुने संस्थाका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।

“विगतका वर्षहरूमा बर्खायाम सुरु हुनासाथ फलाखु खोलामा आउने भीषण बाढी, पहिरो र लेदोका कारण मुख्य मुहान नै बगाउने वा थुनिने ठूलो समस्या रहेको थियो”, संस्थाका अध्यक्ष श्रेष्ठले भने, “यसपटक आधुनिक प्रविधिबाट पक्की इन्टेक बनेपछि अबका दिनमा बाढीले खानेपानी आपूर्तिमा कुनै अवरोध पुर्‍याउन नसक्ने र विदुरवासीले धमिलो पानी पिउनुपर्ने बाध्यताको अन्त्य हुने विश्वास छ ।”

मुहानमा संकलन गरिएको पानीलाई अब पूर्ण रूपमा सुरक्षित ढंगले नहर र पाइपलाइनमार्फत मुख्य प्रशोधन केन्द्र तथा वितरण प्रणालीमा जोडिने तयारी भइरहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए  । यो संरचना सञ्चालनमा आएसँगै विदुर नगरपालिका क्षेत्रका हजारौं उपभोक्ताहरूले हिउँद र बर्खा दुवै मौसममा निरन्तर, स्वच्छ र सुरक्षित खानेपानी उपभोग गर्न पाउने अध्यक्ष श्रेष्ठले बताए ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ