१ वैशाख, नुवाकोट । विदुर नगरपालिका–४ स्थित समाज सचेतन केन्द्रको सभाहलमा एक विशेष समारोहका बीच यमकुमार खातीद्वारा लिखित पुस्तक ‘आधारभूत मौरीपालन सिकाई’ विमोचन गरिएको छ । नयाँ वर्ष २०८३ को शुभकामना आदानप्रदान तथा पुस्तक विमोचनका लागि आयोजित सो कार्यक्रममा जिल्लाका विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा वडा नं. ४ का वडा अध्यक्ष निलमबाबु ढुङ्गेल, वडा नं. ९ का वडा अध्यक्ष हरिराम भण्डारी, कृषि विकास कार्यालयका प्रमुख श्रीकृष्ण अधिकारी, साहित्यकार श्रीराम श्रेष्ठ, विदुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष सञ्जिव श्रेष्ठ, उपभोक्ता हित संरक्षणका इन्द्रबहादुर पण्डित लगायतका व्यक्तित्वहरूले पुस्तकमाथि चर्चा गरे ।
कार्यक्रममा वडाअध्यक्षहरू ढुङ्गेल र भण्डारीले मौरीपालनको महत्त्वलाई बुझेर यसलाई स्थानीय पाठ्यक्रममा समावेश गरी विद्यालय शिक्षादेखि नै अगाडि बढाउनुपर्ने विषयमा चासो व्यक्त गरेका छन् ।
कार्यक्रममा कृषि प्रमुख अधिकारीले मौरीले परागसेचनमार्फत् जैविक विविधता र कृषि उत्पादनमा पुर्याउने योगदानबारे प्रकाश पार्दै भने, “मौरीको संरक्षण र पालनले फलफूल तथा बालीको गुणस्तर बढाउँछ । यस्तो प्राविधिक र उपयोगी विषयमा पुस्तक लेखेर ज्ञान बाँड्ने कार्य प्रशंसनीय छ ।”
पुस्तकले कृषि कर्ममा लाग्न चाहनेहरूका लागि व्यवहारिक ज्ञान प्रदान गर्ने र व्यावसायिक मौरीपालनका लागि कोशेढुङ्गा सावित हुने विश्वास लिइएको केन्द्रका अध्यक्ष हरिदेव चित्रकारले बताए ।
कार्यक्रममा साहित्यकार श्रेष्ठले आफ्ना कृतिहरू सचेतन पुस्तकालयका अध्यक्ष सन्तोष खनाललाई हस्तान्तरण गरेका थिए ।