+
Search

ताजा अपडेट +

पपुलर +

४१ जना सवारीचालकको स्वास्थ्य परीक्षण, ९ जनामा दृष्टि समस्या

41 drivers undergo health check-up, 9 have vision problems
डबली खबर
१ घण्टा अगाडी

१६ वैशाख, नुवाकोट । सार्वजनिक यातायातलाई सुरक्षित बनाउने र चालकहरूको स्वास्थ्य अवस्था सुधार्ने उद्देश्यले नुवाकोटमा एक विशेष स्वास्थ्य परीक्षण शिविर गरिएको छ।

जनस्वास्थ्य कार्यालय नुवाकोटको आयोजना तथा शिवपुरी गाउँपालिकाको सहयोगमा सञ्चालित उक्त कार्यक्रममा ४१ जना सार्वजनिक सवारीचालकहरूको स्वास्थ्य जाँच गरिएको कार्यालयका प्रमुख डा. अञ्जु कार्कीले जानकारी दिईन् ।

प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी र जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी विक्रम घलेको उपस्थिति रहेको  शिविरमा चालकहरूको रक्तचाप, मधुमेह र आँखाको परीक्षण गरिएको उनले जानकारी दिईन् । परीक्षणका क्रममा चालकहरूको स्वास्थ्यमा विभिन्न गम्भीर समस्याहरू फेला परेका छन् । जसले सडक सुरक्षामा समेत चुनौती थप्न सक्ने देखिएको छ।

जनस्वास्थ्य कार्यालयका फोकल व्यक्ति कृष्णप्रसाद रिजालका अनुसार कुल परीक्षण गरिएकामध्ये ६ जनामा उच्च रक्तचापको समस्या देखिएको छ। ६ जनामा उच्च मधुमेह (सुगर) पुष्टि भएको र ९ जना चालकको आँखाको दृष्टिमा खराबी भेटिएको छ।

दृष्टिमा समस्या देखिएका ९ जना चालकहरूलाई थप उपचार र विस्तृत परीक्षणका लागि तत्कालै त्रिशूली अस्पतालमा रिफर गरिएको रिजालले जानकारी दिए । लामो समयसम्म सवारी चलाउँदा हुने थकान र तनावका कारण चालकहरूमा यस्ता स्वास्थ्य समस्या देखिने गरेको उनले बताए ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी रेग्मीले सुरक्षित यात्राका लागि चालकको शारीरिक र मानसिक अवस्था चुस्त हुनुपर्नेमा जोड दिए। उनले सवारी दुर्घटना न्यूनीकरण गर्न केवल सडकको अवस्था र ट्राफिक नियमको पालना मात्र पर्याप्त नहुने भन्दै चालकको दृष्टि र स्वास्थ्य अवस्था प्राथमिक सर्त रहेको बताए ।

विशेषगरी दृष्टि र रक्तचाप जस्ता समस्याले सवारी दुर्घटनाको जोखिम बढाउने हुँदा समयमै यस्तो परीक्षण हुनुलाई सकारात्मक कदमका रूपमा हेरिएको नुवाकोट उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष तथा त्रिशूली यातायात कम्पनीका अध्यक्ष सन्तोष उप्रेतीले बताए ।

कार्यक्रममा ट्राफिक प्रमुख बिनोद ढकालले सवारीचालकहरुलाई ट्राफिक नियमपालनासम्बन्धि सचेतना गराईएका थिए ।

blood pressure check in Nuwakot by Public Health Office

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ