+
Search

ताजा अपडेट +

पपुलर +

निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन सञ्चारकर्मीलाई पत्रकार महासंघ बागमती प्रदेशको अपिल

FNJ Bagamati
डबली खबर
३ महिना अगाडी

१६ फागुन, नुवाकोट । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित वातावरणमा सम्पन्न गराउन सञ्चारकर्मी र सञ्चार माध्यमहरूलाई विशेष अपिल गरेको छ।

समितिका अध्यक्ष कृष्णसारु मगरद्वारा जारी प्रेस विज्ञप्तिमा लोकतन्त्रको सुदृढीकरणका लागि निर्वाचन एक महत्त्वपूर्ण कडी भएको उल्लेख गर्दै यस प्रक्रियामा सञ्चार क्षेत्रको भूमिका अपरिहार्य रहने बताइएको छ। महासंघले निर्वाचनका बेला सूचना प्रवाह गर्दा संवेदनशीलतालाई मनन गर्दै कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा नलागी तटस्थ र सन्तुलित समाचार सम्प्रेषण गर्न आग्रह गरेको छ।

महासंघले आचारसंहिताको पालना, भ्रामक सूचनाको प्रतिरोध, समावेशी आवाज र सुरक्षा र सावधानी गरी मुख्य चार बुँदाहरूमा ध्यानाकर्षण गराएका छन् ।

विज्ञप्तिमा पत्रकार महासंघ, प्रेस काउन्सिल नेपाल र निर्वाचन आयोगले जारी गरेका निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न सञ्चारकर्मीहरूलाई आग्रह गरिएको छ।

यसैगरी सामाजिक सञ्जाल र विभिन्न माध्यमबाट फैलिन सक्ने ‘मिस-इन्फर्मेसन’, ‘डिस-इन्फर्मेसन’ र द्वेषपूर्ण अभिव्यक्ति (हेट स्पीच) प्रति सतर्क रहँदै तथ्यपूर्ण समाचार मात्र प्रकाशन/प्रसारण गर्न भनिएको छ।

समाचार संकलनका क्रममा अल्पसङ्ख्यक, महिला, दलित र सीमान्तकृत समुदायका आवाजलाई उचित स्थान दिई निर्वाचनलाई थप उल्लासमय बनाउन आह्वान गरिएको छ।

यस्तै, विज्ञप्तिमा कार्यक्षेत्रमा खटिँदा आफ्नो व्यक्तिगत सुरक्षा र स्वास्थ्यको ख्याल गर्दै सम्भावित जोखिमप्रति सतर्क रहन समेत महासंघले सञ्चारकर्मीहरूलाई सचेत गराएको छ।

निर्वाचनलाई एक उत्सवका रूपमा सफल पार्न र नागरिकको मताधिकारको सम्मान गर्दै व्यावसायिक धर्म निर्वाह गर्न बागमती प्रदेशका सम्पूर्ण सञ्चारकर्मीहरूमा हार्दिक अनुरोध गरिएको छ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ