जेठ २६, नुवाकोट । त्रिशूली अस्पताल नुवाकोटले आफ्नो सेवालाई थप पारदर्शी, उत्तरदायी र नागरिकमैत्री बनाउने उद्देश्यका साथ डिजिटल सञ्चालन प्रणाली अन्तर्गत विद्युतीय गुनासो र सुझाव व्यवस्थापन प्रणालीको सुरुवात गरेको छ।
अस्पतालबाट प्रवाह हुने स्वास्थ्य सेवाका सम्बन्धमा सेवाग्राहीहरूका अमूल्य सुझाव, सल्लाह वा गुनासोहरूलाई तत्कालै ग्रहण गरी उचित व्यवस्थापन गर्न यो नविनतम प्रविधिको सुरुवात गरिएको अस्पताल प्रशासनले जनाएको छ।
अस्पतालद्वारा जारी विशेष सूचनाका अनुसार अब सम्पूर्ण सेवाग्राही तथा सम्बन्धित पक्षहरूले अस्पतालमै उपस्थित भई परम्परागत गुनासो पेटिका खोजिरहनुपर्ने झन्झट अन्त्य भएको छ।
यस प्रणाली अन्तर्गत अस्पताल परिसरमा उपलब्ध गराइएको क्यूआर कोड स्क्यान गरी सजिलैसँग आफ्ना गुनासो वा रचनात्मक सुझावहरू डिजिटल रूपमा दर्ता गराउन सकिनेछ।
यसका साथै, क्यूआर स्क्यान गर्न नसक्ने वा उपलब्ध नहुने सेवाग्राहीहरूका लागि अस्पतालको आधिकारिक वेब पोर्टलमार्फत पनि अनलाइन गुनासो दर्ता गराउन सक्ने विशेष व्यवस्था मिलाइएको छ।

प्रतिक्रिया