जेठ २०, नुवाकोट । विदुर नगरपालिकाले तेस्रो तथा अन्तिम शृङ्खलाको जनप्रतिनिधिसँग र विद्यार्थी कार्यक्रम सम्पन्न गरेको छ।
मङ्गलबार त्रिशूलीस्थित त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ‘जनप्रतिनिधिसँग विद्यार्थी’ कार्यक्रम गरेसँगै नगरपालिकाले उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी, सामाजिक विकास समितिका संयोजक एवं वडा नं. १ का अध्यक्ष लेनिन रञ्जित, वडा नं. २ का अध्यक्ष दीपक कायस्थ, र वडा नं. ४ का अध्यक्ष निलमबाबु ढुङ्गेल लगायतको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा नगरपालिकाका विभिन्न वडामा सञ्चालित माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरू र स्थानीय जनप्रतिनिधिहरूबीच शैक्षिक क्षेत्रका विविध आयामबारे प्रत्यक्ष संवाद भएको नगरप्रमुख श्रेष्ठले जानकारी दिए ।
जनप्रतिनिधिहरूले विदुरका वडा नं. १, २, ४, ८, १२ र १३ मा रहेका विद्यालयका विद्यार्थीहरूसँग शैक्षिक क्षेत्रसँग सम्बन्धित सुझाव, गुनासो, राय र प्रतिक्रिया सङ्कलन गर्दै आगामी दिनमा गर्नुपर्ने सुधारका विषयमा गहन छलफल गरिएको जनाएको छ ।
प्रत्यक्ष संवादका क्रममा नीति निर्माणको मुख्य भूमिकामा रहने जनप्रतिनिधिहरूसमक्ष विद्यार्थीहरूले विद्यालयको शैक्षिक गुणस्तर वृद्धि र रचनात्मक गतिविधिका लागि स्पष्ट मागहरू राखेका थिए । उनीहरूले विद्यालय क्षेत्र आसपासमा सुर्तीजन्य एवं मदिराजन्य सामग्रीको बिक्री वितरणमा पूर्ण रोक लगाउनुपर्ने, व्यवस्थित प्रयोगशाला र स्मार्ट बोर्डको व्यवस्था हुनुपर्ने, शुद्ध पिउने पानी तथा यातायातका साधनको उपलब्धता हुनुपर्ने र समयमै पाठ्यपुस्तक पाउनुपर्ने जस्ता व्यावहारिक र महत्वपूर्ण विषयमा जनप्रतिनिधिहरूको ध्यानाकर्षण गराएका थिए ।
यसैगरी, सामुदायिक विद्यालयहरूमा पछिल्ला शैक्षिक सत्रहरूमा क्रमशः सुधार हुँदै गइरहेको शैक्षिक गुणस्तरलाई अझ माथि उकास्न थप प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्न र समाजमा सामुदायिक विद्यालयप्रतिको अपनत्व एवं विश्वास बढाउनका लागिसमेत विद्यार्थीहरूले महत्वपूर्ण सुझावहरू प्रस्तुत गरेका थिए ।
उक्त कार्यक्रममा शिक्षा शाखा प्रमुख नमराज सापकोटासहित शाखाका कर्मचारीहरू, त्रिभुवन त्रिशूली माविका प्रधानाध्यापक राजेन्द्र दवाडी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, विभिन्न विद्यालयका शिक्षक प्रतिनिधिहरू र शिक्षा क्षेत्रसँग सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया