+
Search

ताजा अपडेट +

पपुलर +

बाढीपीडित नुवाकोटका उद्योगीद्वारा पूर्वराष्ट्रपति भण्डारीलाई ज्ञापनपत्र बुझाइयो

डबली खबर
५ घण्टा अगाडी

असोज २७, नुवाकोट ।गत भदौ १० गते आएको भोटेकोशी-त्रिशूली नदीमा लेदोसहित आएको बाढीको कारण प्रभावित उद्योगी तथा व्यवसायीहरूले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ज्ञापनपत्र बुझाएका छन्।

मंगलबार बाढी प्रभावित उद्योग पुनर्स्थापना समन्वय संयन्त्रका संयोजक राजाराम अधिकारीको नेतृत्वले बाढी गएको क्षेत्रको निरीक्षणमा नुवाकोट आएकी पूर्वराष्ट्रपति भण्डारीलाई ज्ञापनपत्र बुझाएको हो।

विज्ञप्तीमा आफ्नो पुनर्स्थापना, ऋण पुनर्संरचना र जलवायु क्षतिको परिपूर्तिका लागि राज्यस्तरबाट पहल गरिदिन आग्रह गर्दै बाढीले नुवाकोटका कृषि, पशुपालन, पोलिथिन पाइप, काठ, ग्रिल, कुखुरापालन र डेरीलगायतका दर्जनौँ साना तथा मझौला उद्योगहरूमा पूर्ण रूपमा क्षति पुर्‍याएको ज्ञापनपत्रमा उल्लेख छ। बाढीले उद्योगका भवन, मेसिनरी, कच्चा पदार्थ र पूर्वाधार नष्ट गर्दा करोडौँको प्रत्यक्ष भौतिक क्षति भएको छ।

ज्ञापनपत्रमा पीडित उद्योगीहरूका लागि कानुनी, प्रशासनिक तथा वित्तीय पुनरुत्थानका उपायहरू समेटिएका छन्। जसमा ३० दिनभित्र कर कार्यालयमा क्षति विवरण बुझाउनुपर्ने बाध्यकारी म्याद बढाउन, एकीकृत सेवाका लागि ‘एकद्वार प्रणाली’ लागु गर्न तथा ऋणको सावाँ-ब्याज भुक्तानीको म्याद २०८४ असार मसान्तसम्म थप गर्न माग गरिएको छ। त्यसैगरी सहुलियतपूर्ण कर्जा, डिमान्ड शुल्क मिनाहा, बिमा दाबीको द्रुत भुक्तानी र क्षति पुगेका ठाउँमा तटबन्ध तथा हेभी उपकरणको नि:शुल्क व्यवस्था गर्न पनि ध्यानाकर्षण गराइएको छ।

साथै, उद्योगीहरूले यो विपद्लाई जलवायु परिवर्तनको असरका रूपमा व्याख्या गर्दै आगामी ‘कोप’ सम्मेलन र अन्तर्राष्ट्रिय मञ्चहरूमा ‘हानि तथा क्षति कोष’बाट शतप्रतिशत क्षतिपूर्ति पाउनका लागि कूटनीतिक पहल गरिदिन आग्रह गरेका छन्।

पूर्वराष्ट्रपति भण्डारीले उद्योगीका समस्याप्रति सहानुभूति जनाउँदै सम्बन्धित निकाय र सरकारको ध्यानाकर्षण गराउन अभिभावकीय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ