असोज २२, नुवाकोट । भदौ १० गते आएको बाढीका कारण अवरुद्ध भएको विद्युत् लाइनको लगतकट्टा प्रक्रिया अघि बढाउन विदुर नगरपालिका वडा नं. १ ले वडाबासीहरूलाई निवेदन दिन आग्रह गरेको छ।
हाल त्रिशूली नदी वारिपारि आवतजावतका लागि तुइनबाट मात्र जानुपर्ने कठिन अवस्था रहेकाले आवश्यक प्रहरी मुचुल्कापछि पेश गर्ने गरी सम्बन्धित ग्राहकहरूको एकमुष्ट निवेदन पेश गर्न वडा कार्यालयले अनुरोध गरेको हो।
विद्युत् लाइनको लगतकट्टा गर्नुपर्ने सम्पूर्ण सेवाग्राहीहरूले आफ्नो ग्राहक नम्बर उल्लेख गरी निवेदन वडा कार्यालयमा, वडाको व्हाट्सएप नम्बर वा इमेलमा बुझाउन सकिनेछ। प्राप्त निवेदनका आधारमा वडा कार्यालयले नेपाल विद्युत् प्राधिकरणमा एकमुष्ट सिफारिस गरिने वडा अध्यक्ष लेनिन रञ्जितले बताए ।
वडा कार्यालयले सबै त्रिशूलीबासी सेवाग्राहीहरूलाई समयमै निवेदन बुझाई सहयोग गर्न आग्रह गरेको छ।