असोज २९, नुवाकोट । गत भदौ १० गते आएको भीषण बाढीका कारण ठूलो क्षति व्यहोरेको नुवाकोटको विदुर नगरपालिकामा राहत, पुनर्लाभ तथा पुनस्र्थापनाका कामलाई तीव्र बनाउन नयाँ साझेदारी सुरु भएको छ।
बाढी प्रभावित समुदायको तत्कालका मानवीय आवश्यकता पूरा गर्नुका साथै भविष्यमा आउन सक्ने विपद् र जलवायुजन्य जोखिमविरुद्ध उनीहरूलाई सक्षम बनाउने उद्देश्यका साथ नेपाल रेडक्रस सोसाइटी र बिदुर नगरपालिकाबिच औपचारिक साझेदारी सम्झौता भएको हो।
बुधबार नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा नगरप्रमुख राजन श्रेष्ठ, रेडक्रसका महामन्त्री ऋषीरमण खनाल, आइएफआरसीका नेपाल प्रमुख डेभिड फिसर र रेडक्रस नुवाकोटका सभापति हरी श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
साझेदारीअन्तर्गत बाढीका कारण गहिरो चोट र क्षति भोगेका परिवारहरूका लागि लक्षित गरी ठूलो परिमाणको आर्थिक तथा भौतिक सहयोगको खाका तयार पारिएको रेडक्रस सभापति हरि श्रेष्ठले बताए ।
बाढीमा परी बेपत्ता भएका परिवारका विधवा, अनाथ बालबालिका तथा ज्येष्ठ नागरिक रहेका अति संवेदनशील घरधुरीलाई प्रतिपरिवार रु. एक लाखका दरले सहायता रकम उपलब्ध गराइने उनले जानकारी दिए । साथै दुई हजार घरधुरीलाई बहुउद्देश्यीय नगद सहायता, एक हजार परिवारलाई जीविकोपार्जन पुनस्र्थापनाका लागि सहयोग, दुई हजार घरधुरीलाई स्थायी आवासको प्रबन्ध नहुन्जेल घरभाडा भुक्तानी र छ सय परिवारलाई सङ्क्रमणकालीन आवासको व्यवस्थापन रेडक्रसले गर्नेछ।
भौतिक पूर्वाधारतर्फ बाढीले ध्वस्त पारेको बिदुर खानेपानी आयोजनाको साढे सात किलोमिटर लामो पाइपलाइन मर्मत तथा स्तरोन्नति गरिने भएको छ। यसबाट बिदुर, बुधसिंघाट, सिर्खाली र महारानिडिही क्षेत्रका करिब ३० हजार बासिन्दा प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्।
केवल खानेपानीमा मात्र सीमित नरही स्वास्थ्य, शिक्षा र सामाजिक पूर्वाधारको पुनर्निर्माण, आधारभूत तथा आपत्कालीन स्वास्थ्य सेवाको निरन्तरता, विद्यालय भवनहरूको पुनस्र्थापना एवं प्रभावित व्यक्तिहरूका लागि शिविर व्यवस्थापनजस्ता अति आवश्यक क्षेत्रहरूमा पनि काम अघि बढाइने समझदारी पत्रमा उल्लेख छ।
सम्झौतापछि नगरप्रमुख श्रेष्ठले रेडक्रसको यो अग्रसरताले बाढीपीडित नागरिकलाई सामान्य जीवनमा फर्काउन ठूलो आड पुग्ने बताउँदै विपद्को पीडा बिर्साएर नगरलाई थप उत्थानशील बनाउन स्थानीय सरकार पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पारेका थिए ।
रेडक्रसका महामन्त्री ऋषीरमण खनालले प्रभावित क्षेत्रमा राहत र पुनर्निर्माणका कामहरू तोकिएकै समयमा प्रभावकारी रूपमा पूरा गर्न स्थानीय तहसँग निरन्तर समन्वय रहने बताए ।