नुवाकोट दरबार क्षेत्र नेपालको ऐतिहासिक, सांस्कृतिक र वास्तुकलात्मक पहिचान बोकेको एउटा अनुपम धरोहर हो तर हाल २०७२ को विनाशकारी महाभुकम्पले थिलथिलो भएको दरवार चीन सरकारसँगको सहकार्यमा पुननिर्माणमा जुटिरहेको छ । कोभिड महामारीको कारणले पुननिर्माण कार्य निकै ढिला सुरु भएको हो । आजभन्दा करिब दुई दशकअघि, सन् २००८ जनवरी ३० (वि.सं. २०६४ माघ १६) मा युनेस्कोले यस क्षेत्रलाई विश्व सम्पदा सूचीको सम्भावित सूचीमा समावेश गरेसँगै यसको अन्तर्राष्ट्रिय महत्व अझै बढ्दैगएको छ । त्यसबेलाको दर्ता नम्बर ५२६० अन्तर्गत सूचीकृत यो क्षेत्र सांस्कृतिक सम्पदाका रूपमा मान्यता पाएको छ, जसले नुवाकोटको ऐतिहासिक गौरव मात्र नभई नेपालको सम्पूर्ण पहिचानलाई विश्वमाझ उजागर गर्ने सम्भावना बोकेको छ ।
नुवाकोट दरबार केवल एउटा दरबारको नाम मात्र होइन, यो नेपाल एकीकरणको आधारभूमि, मल्लकालीन वास्तुकलाको उत्कृष्ट नमुना र राजनीतिक तथा सांस्कृतिक परिवर्तनको एकमात्र जिवित साक्षी हो ।
नुवाकोट दरबार केवल एउटा दरबारको नाम मात्र होइन, यो नेपाल एकीकरणको आधारभूमि, मल्लकालीन वास्तुकलाको उत्कृष्ट नमुना र राजनीतिक तथा सांस्कृतिक परिवर्तनको एकमात्र जिवित साक्षी हो । विशेषगरी पृथ्वीनारायण शाहले नेपाल एकीकरणको अभियान सुरु गर्दा नुवाकोटलाई आफ्नो रणनीतिक केन्द्र बनाएका थिए । त्यसैले नुवाकोट दरबार क्षेत्र केवल प्राचित सौन्दर्यको उदाहरण मात्र नभई राष्ट्र निर्माणको इतिहाससँग प्रत्यक्ष जोडिएको स्थल पनि हो ।

नुवाकोटको ‘साततले दरबार‘ यस क्षेत्रको प्रमुख आकर्षण हो । परम्परागत नेपाली शैलीमा निर्मित यो दरबार शक्ति, सौन्दर्य र रणनीतिक सोचको उत्कृष्ट संयोजनका रूपमा देखिन्छ । पहाडको माथिल्लो भागमा अवस्थित यस क्षेत्रले आसपासको भूभागलाई अवलोकन गर्ने मात्र होइन, त्यस समयको राजनीतिक र सैनिक रणनीतिक महत्वसमेत उजागर गर्छ । दरबारको संरचनामा मल्लकालीन काष्ठकला, इँटा र ढुंगाको सन्तुलित प्रयोग, साथै झ्याल–ढोका र परम्परागत वास्तुकलाले नेपाली कला, संस्कृति र परम्परालाई झल्काउँछ । तर नुवाकोट दरबार क्षेत्रको महत्व केवल साततले दरबारमा सीमित छैन । यस क्षेत्रभित्र रहेका विभिन्न ऐतिहासिक संरचनाहरूले यसलाई एक समग्र ‘हेरिटेज सर्किट‘ का रूपमा विकास गर्न सकिने विशाल सम्भावना रहेकोछ । ग्राहतघर, जहाँ तत्कालीन प्रशासनिक र सैनिक गतिविधिहरू सञ्चालन हुन्थे, आज पनि इतिहासको मौन साक्षी बनेर उभिएको छ । त्यस्तै, भैरवी मन्दिर र कोतघर धार्मिक आस्था र सांस्कृतिक जीवनको केन्द्रका रूपमा परिचित छ, जहाँ स्थानीय समुदायको गहिरो श्रद्धा जोडिएको छ ।
नुवाकोट क्षेत्रमा पछिल्ला वर्षहरूमा निर्माण गरिएको स्वयम्भू महाचैत्यले यस क्षेत्रको धार्मिक पर्यटनलाई थप विस्तार गर्ने सम्भावना बोकेको छ । यसले नुवाकोटलाई केवल ऐतिहासिक स्थल मात्र नभई आध्यात्मिक गन्तव्यका रूपमा पनि स्थापित गर्न मद्दत पु¥याउन सक्छ । त्यसैगरी, दुप्चेश्वर मन्दिर, जुन धार्मिक रूपमा अत्यन्त महत्वपूर्ण मानिन्छ, आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षणको केन्द्र बन्न सक्छ । देविघाट क्षेत्र, जहाँ पृथ्वीनारायण शाहलाई अन्त्येष्टि गरिएको थियो, नेपालको इतिहासमा अत्यन्त संवेदनशील र गौरवपूर्ण स्थलका रूपमा चिनिन्छ ।
नुवाकोट दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीको सम्भावित सूचीमा समावेश गरिनु केबल एउटा औपचारिकता होइन, यो नेपालको सांस्कृतिक सम्पदालाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता दिलाउने महत्वपूर्ण कदम हो । तर सम्भावित सूचीमा परेको स्थललाई पूर्ण रूपमा विश्व सम्पदा सूचीमा सूचीकृत गराउन भने अझ धेरै प्रयास, संरक्षण, अनुसन्धान र व्यवस्थापन आवश्यक हुन्छ । नेपालले हालसम्म नुवाकोट दरबारसहित १५ वटा ऐतिहासिक तथा प्राकृतिक स्थलहरूलाई सम्भावित सूचीमा राखेको छ, जसले हाम्रो सांस्कृतिक विविधता र प्राकृतिक सम्पदाको धनी देशको रुपमा नेपाललाई चिनाउँछ ।
तर एउटा महत्वपूर्ण प्रश्न यहाँ उठ्छ—२० वर्षअघि नै सम्भावित सूचीमा परेको नुवाकोट दरबार अझै किन पूर्ण रूपमा विश्व सम्पदा सूचीमा समावेश हुन सकेको छैन? यसको उत्तर बहुआयामिक छ । पहिलो, संरचनात्मक संरक्षणको अभाव । २०७२ सालको विनाशकारी भूकम्पले नुवाकोट दरबार क्षेत्रका धेरै संरचनाहरूमा पूर्णरुपमा क्षति पु¥याएको थियो । त्यसपछि पुनर्निर्माण कार्य ढिलो गरी सुरु भए पनि अझै पनि पूर्ण रूपमा संरक्षण र पुनर्स्थापना सम्पन्न भइसकेको छैन । हाल भैरवी मन्दिरभन्दा बाहेकका सम्पदाहरु पुननिर्माणको चरणमा नै छ ।
दोस्रो, दीर्घकालीन योजना र व्यवस्थापनको कमी । विश्व सम्पदा सूचीमा सूचीकृत हुनका लागि केवल ऐतिहासिक महत्व मात्र पर्याप्त हुँदैन, त्यसको व्यवस्थापन योजना, संरक्षण रणनीति, स्थानीय समुदायको सक्रिय सहभागिता र दीगो पर्यटनको दृष्टिकोण पनि उत्तिकै महत्वपूर्ण हुन्छ । नुवाकोटमा यी पक्षहरू अझ सुदृढ बनाउन आवश्यक देखिन्छ ।
तेस्रो, सूचिकृतको लागि अन्तर्राष्ट्रिय निकायहरु प्रभावकारी रूपमा तयार नहुनु पनि हो । कुनै पनि सम्पदालाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन त्यसको महत्वलाई अन्तर्राष्ट्रिय समुदाय समक्ष स्पष्ट रूपमा प्रस्तुत गर्नुपर्छ । यसका लागि अनुसन्धान, दस्तावेजीकरण र प्राविधिक तयारी अत्यन्त महत्वपूर्ण हुन्छ । पुरातत्व बिभागले भुकम्पभन्दा अघि नुवाकोट दरवार क्षेत्रको बस्तीलाई अधिकरण गरी त्यहाँ मानवरहित सम्पदा क्षेत्रको परिकल्पना गरिएको थियो त्यसलाई स्थानीय समुदाय र नुवाकोट सम्पदा गाँउको महत्वपूर्ण भुमिका रह्यो ।
यद्यपि, चुनौतीहरू हुँदाहुँदै पनि नुवाकोट दरबार क्षेत्रको सम्भावना अत्यन्त विशाल छ । यदि यसलाई एकीकृत ”हेरिटेज सर्किट“ का रूपमा विकास गरियो भने, यसले पर्यटन, रोजगारी र स्थानीय आर्थिक विकासमा ठूलो योगदान पु¥याउन सक्छ । नुवाकोटको ऐतिहासिक दरबार क्षेत्र, धार्मिक स्थलहरू, प्राकृतिक शौन्दर्य र सांस्कृतिक गतिविधिहरूलाई एउटै पर्यटन प्याकेजमा समेट्न सकिन्छ । यसले पर्यटकहरूलाई लामो समयसम्म बस्न प्रेरित गर्नेछ र स्थानीय व्यवसायीहरूलाई पनि दिर्घकालिन रुपमा फाइदा पुग्नेछ ।
स्थानीय समुदायको सहभागिता यस क्षेत्रको बहत्तर विकासमा केन्द्रीत हुनुपर्छ । उनीहरूलाई संरक्षण, पर्यटन व्यवस्थापन र सांस्कृतिक प्रवद्र्धनमा सक्रिय रूपमा सहभागी गराउन सकेमा मात्र दीगो विकास सम्भव हुन्छ । साथै, सरकार, निजी क्षेत्र र अन्तर्राष्ट्रिय संस्थाहरूबीच सहकार्य आवश्यक छ । नुवाकोट दरबार क्षेत्रको संरक्षण केवल भौतिक संरचनाको संरक्षण मात्र होइन, यो हाम्रो इतिहास, पहिचान र भविष्यको संरक्षण पनि हो । जब हामी यस्ता सम्पदाहरूलाई जोगाउँछौं, तब हामी आफ्ना पुस्ताहरूलाई आफ्नो इतिहाससँग जोड्ने काम गर्छौं ।
जब हामी पछाडि फर्केर हेर्छौं, २० वर्षअघि सम्भावित सूचीमा परेको नुवाकोट दरबार अझै पूर्ण मान्यता पाउन बाँकी हुनु एक चुनौती पनि हो र अवसर पनि हो ।
जब हामी पछाडि फर्केर हेर्छौं, २० वर्षअघि सम्भावित सूचीमा परेको नुवाकोट दरबार अझै पूर्ण मान्यता पाउन बाँकी हुनु एक चुनौती पनि हो र अवसर पनि हो । तर यसलाई अवसर रुपमा हेर्ने हो भने हामीले अझ राम्रो योजना, संरक्षण र प्रवद्र्धनमार्फत यसलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन सक्नेछौ, त्यसको लागि हामी सबै तयार हुनुपर्छ र स्थानीय समुदाय र स्थानीय सरकार नै यसको प्रमुख केन्द्र हो ।
अन्ततः, नुवाकोट दरबार क्षेत्र केवल एउटा ऐतिहासिक स्थल मात्र होइन, यो नेपाल र नुवाकोटको आत्मा हो । यसको संरक्षण र विकासमा गरिएको प्रत्येक प्रयासले नेपालको सांस्कृतिक पहिचानलाई अझ बलियो बनाउनेछ । अब मात्र आवश्यक छ—सहि दृष्टि, बृहत्तर योजना र सामुहिक प्रतिबद्धताको । यदि यी तीन तत्वलाई सशक्त रूपमा अघि बढाउन सकियो भने, नुवाकोट दरबार क्षेत्रले निकट भविष्यमा विश्व सम्पदा सूचीमा आफ्नो स्थान सुरक्षित गर्नेछ भन्नेमा कुनै शंका छैन ।
लेखक युवा अभियान्ता तथा नेपाल युवा परिषदका केन्द्रीय अध्यक्ष हुन् ।
प्रतिक्रिया