गणेशमान सिंह प्रजातन्त्रका योद्धा, बरिष्ठ राजनीतिज्ञ तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर थिए । नेपाली राजनीतिक इतिहासमा गणेशमान सिंहलाई सर्वोच्च नेता एवं लौहपुरुषको उपनामले पनि सम्बोधन गर्ने गरिन्छ । नेपाली कांग्रेस र समग्र नेपाली राजनीतिक क्षेत्रमा महामानव बीपी कोइराला जत्तिकै सर्वोच्च नेता गणेशमान सिंह सम्मानित नेता थिए ।
गणेशमान सिंह नेपाली कांग्रेसका संस्थापक नेता पनि हुन् । प्रजातन्त्रका लागि निरन्तर रुपमा संघर्ष, बलिदानी, जेलनेल भोगेका र प्रधानमन्त्रीको अवसर समेत छाडेर राजनीतिमा निस्वार्थ र त्यागी भावनाको प्रदर्शन गर्ने नेता थिए गणेशमान सिंह । गणेशमान सिंहको जन्म वि.सं १९७२ साल कात्तिक २४ गते काठमाडौंको यट्खामा भएको थियो । गणेशमान सिंह सुब्बा ज्ञानमान सिंह र सुभद्रा कुमारीका जेष्ठ सुपुत्र थिए । गणेशमान सिंह नाम राखिएको भए पनि परिवारमा भने पुलपुल्याएर उनलाई हीराकाजीु भन्ने गरिन्थ्यो । टोल, छिमेकी र दौंतरीहरूबीच उनी दरबार स्कूलमा पाँच कक्षामा भर्ना हुनु अघिसम्म हीराकाजी कै नामले परिचित रहेका थिए । आफ्नो बाजे हरिमान र पिता ज्ञानमानको अल्पायुमै निधन भएकाले गणेशमानको लालन–पालन जेठा बाजे सरदार रत्नमानबाट भएको हो । सरदार रत्नमानको पदोन्नति हुँदै काजी र बडाकाजीसम्म भएका थिए । रत्नमान राणाकालको नामी भारदार हुनाले गणेशमान सिंहको बाल्यकाल र यौवन अवस्था सम्पन्नता र ठाँटबाँठमा बितेको थियो । काठमाडौंको दरबार हाइस्कूलमा कक्षा ६ मा पढ्दा राणाका छोराछोरीलाई आदर नगरेका कारण वि.सं १९८४ मा विद्यालयबाट निस्कासित भएर बहिदारको पदमा सरकारी सेवामा प्रवेश गरेका थिए । राणाको दरबार अगाडि साइकल कुदाएका कारण पनि सिंहले सजाय भोग्नु प¥यो । उनको आफ्नो स्वाभिमान गिराउन नचाहने प्रवृत्तिले बहिदारको सेवा पनि त्याग गरी उनी कोलकाता गए र तेहींबाट सन् १९३९ मा प्रथम श्रेणीमा मेट्रिक (एसएलसी) पास गरे । त्यसपछि कोलकाता कै विद्यासागर कलेजमा विज्ञान विषयमा प्रवीणता प्रमाणपत्र तह (आईएस्सी)को अध्ययन गर्दै उनले राजनीतिमा प्रवेश गरेका थिए ।
बीपी कोइरालाका समकालीन नेता थिए गणेशमान सिंह । बीपी बि.सं १९७१ भदौ २४ गते जन्मिएका थिए भने गणेशमान त्यसको ठीक १४ महिनापछि वि.सं १९७२ कात्तिक २४ गते । त्यसैले बीपी र गणेशमान समकालीन थिए । राजनीतिमा कुनै पनि विषयको निर्णय लिने कुरामा बीपीको निर्णयात्मक खुबी देखिन्छ भने गणेशमानको अडान लिने खुबी देखिन्छ । यी दुवैका यस्ता खुबीले गर्दा भारतको वनारसमा जन्मेको नेपाली कांग्रेस पार्टीले २००७ सालमा नेपालबाट एकतन्त्रीय राणा शासन अन्त्य गरी प्रजातन्त्र स्थापना गर्न सफलता पाएको थियो । यतिमात्र नभएर २०१५ सालको प्रथम आम निर्वाचनमा दुई तिहाई मतसमेत कांग्रेसले ल्याउन सकेको थियो । वि.सं २०४८ सालको दोस्रो आम निवार्चनमा पनि नेपाली कांग्रेसले नै बहुमत प्राप्त गरेको थियो ।
गणेशमान सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने राजनीतिमा आफूलाई होमेका थिए । भद्रगोल जेल तोडेर भागेका जोशिला तन्नेरी गणेशमान प्रवास जानुअघि नै तत्कालीन राणा हटाऊ आन्दोलनका नायक भैसकेका थिए । भारतमा अर्का नेता बीपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित हुनासाथ अन्य केही सहयोगीका साथ २००३ सालमा स्थापित नेपाली कांग्रेसलाई आजीवन जुझारू नेतृत्व दिन गणेशमानको उल्लेखनीय भूमिका रहेको पाइन्छ । २००७ सालको क्रान्तिका एक अगुवाका रूपमा उनले बीरगञ्ज मोर्चामा सशस्त्र संघर्ष गरेका थिए । संर्घषका हिसाबले बीपी कोइरालाभन्दा बढी समयसम्म देशमा प्रजातन्त्र बहाली र पुर्नबहालीका लागि समर्पित गणेशमान सिंह सैद्धान्तिक हिसाबले बीपीका अनुयायी र सबैभन्दा ठूला समर्थकका रूपमा नेपाली कांग्रेसलाई लोकप्रिय बनाउन सदा क्रियाशील रहिरहे । पहिलो जननिर्वाचित सरकारमा वरिष्ठ मन्त्री रहेका गणेशमानले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि ८ वर्ष निरन्तर काराबास भोग्नुप¥यो । त्यसपछि पुनः प्रवासमा राजनीतिक संगठन विस्तार गरी २०३३ सालमा बीपीसँगै राष्ट्रिय मेलमिलापको नारा लिई स्वदेश फर्केर तत्कालीन पञ्चायती ब्यबस्थाका विरुद्धमा सक्रिय रुपमा लागिपरे । तत्कालीन पञ्चहरूबाट बीपीसँगै मृत्युदण्डको माग गरिएका गणेशमानले २०३६ सालको बिद्यार्थी आन्दोलन र जनमत संग्रहमा उत्तिकै नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । बीपीको निधनपछि कांग्रेसका सर्वोच्च नेताका रूपमा गणेशमानले २०४२ सालको सत्याग्रह आन्दोलन आरम्भ गरेका थिए । १९९७ सालदेखि अनवरत राजनीतिमा समर्पित कडा स्वभाव र जुझारू व्यक्तित्वका र्सवप्रिय नेता गणेशमानको अर्को महत्वपूर्ण योगदान २०४६ सालमा रहेको देखिन्छ । राष्ट्रिय जनआन्दोलनका लागि कम्युनिष्टहरूसँग मिलेर पञ्चायत विरूद्ध आन्दोलनको घोषणा गर्ने गणेशमान सिंह उक्त आन्दोलनका सर्वोच्च कमाण्डर थिए ।
जेलबाट भागेपछि उनी कृष्णबहादुर प्रधानका नाममा राणा विरोधी अभियान चलाउँदै राणा शासकहरूद्वारा देश निकाला गरिएको नेपालीहरूको बसोबास क्षेत्र भारतको दार्जिलिङ, सिक्किम, कालिङपोङ, कोलकाता, बनारस र लाहौर पुग्नुभयो ।
अध्ययनकै बेला भारतबाट नेपाल आएको समयमा वि.सं १९९७ सालमा नेपालको जेठो राजनीतिक दल राष्ट्रिय प्रजापरिषदको सदस्यताबाट उनको नेपालमा राजनीतिक जीवनको सुरूवात भएको थियो । तर प्रजापरिषद सदस्यता लिएको दुई हप्तापछि अर्थात् वि.सं १९९७ असारमा नै उनको मङ्गलादेवीसँग विवाह भयो । यो विवाह गर्न जेठा बाजे र आमाले सिंहलाई आग्रह गरेका थिए । तर उनको गिरफ्तारी विवाह पश्चात् वि.सं १९९७ कात्तिक महिनामा भएको थियो । तत्कालीन राणा सरकारले सर्वश्वहरण सहित आजीवन कारावासको दण्ड दियो । उनीसँगै जेल पर्नुभएका गङ्गालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द र शुक्रराज शास्त्रीलाई भने मृत्युदण्ड दिइयो । जन्मजात विद्रोही गणेशमान सिंहलाई राणाको पर्खालले धेरै दिन कैद गर्न सकेन । २००१ साल वैशाख (सन् १९४४)को एक रात भद्रगोल जेलको पर्खाल नाधेर उनी कैदमुक्त भए । जेलबाट भागेपछि उनी कृष्णबहादुर प्रधानका नाममा राणा विरोधी अभियान चलाउँदै राणा शासकहरूद्वारा देश निकाला गरिएको नेपालीहरूको बसोबास क्षेत्र भारतको दार्जिलिङ, सिक्किम, कालिङपोङ, कोलकाता, बनारस र लाहौर पुग्नुभयो । यसक्रममा उनको कोलकातामा बीपी कोइरालासँग २००१ सालमा सम्पर्क हुन्छ । त्यहीं विश्वेश्वरसँग मिलेर उनले २००३ साल माघ १२ गते नेपाली राष्ट्रिय कांग्रेसको स्थापना भएको थियो । त्यो पार्टी सुवर्ण शमशेरको प्रजातान्त्रिक कांग्रेससँग मिलेर २००६ सालमा नेपाली कांग्रेस बन्यो, गणेशमान सिंह नेपाली कांग्रेसका संस्थापक नेता बने । वि.सं २००७ असोज ९, १० र ११ मा तत्कालीन जहानीया राणा शासन विरूद्ध भारतको विहारस्थित बैरगनियामा तीन दिनसम्म आयोजित बैरगनिया सम्मेलनमा गणेशमान सिंह, खड्गजीत बराल, बहादुरसिंह बराल, डाक्टर के.आई सिंह, मातृकाप्रसाद कोइराला, बीपी कोइराला, कृष्णप्रसाद भट्टराई र महेन्द्र नारायण निधि लगायतका नेताहरुको समेत उपस्थिति रहेको थियो । बैरगनिया सम्मेलनमा भाग लिने जति सबैले तत्कालीन जहानीया राणा शासन फाल्न ‘कि राणा शासन खत्तम गर्ने कि हामी खत्तम हुने नीति’ अपनाउन स्विकारेका थिए । वि.सं २००७ सालाको क्रान्तिको तयारीका लागि भूमिगत रूपमा नेपाल आउँदा २००७ साल असोज २७ गते ठोरीको जंगलमा पक्राउमा परे । तेसबेला उनलाई शारीरिक यातना समेत दिइयो । नेपालमा २००७ सालमा प्रजातन्त्रको स्थापना भएपछि रिहा भए र मोहन शमशेरको नेतृत्वमा बनेको मन्त्रिमण्डलमा सिंहले उद्योग तथा वाणिज्य मन्त्रीको कार्यभार सम्हालेका थिए । त्यसपछि वि.सं २००८ सालमा नेपाली कांग्रेसका नेता मातृकाप्रसाद कोइरालाको मन्त्रिमण्डलमा कृषि, भूमि तथा खाद्यमन्त्री भएका सिंहले बीपीको निर्देशनमा मातृकाप्रसादको मन्त्रिमण्डल छोडे । वि.सं २०१२ सालमा कांग्रेसको वीरगञ्ज अधिवेशनमा सभापतिका लागि उम्मेदवारी दिएका सिंह सुवर्ण शमशेरद्वारा पराजित भए । उनले २०१४ सालको भद्र अवज्ञा आन्दोलनलाई नेतृत्व दिए । वि.सं २०१५ सालमा भएको प्रथम संसदीय निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट काठमाडौंको सांसद् पदमा विजयी भए । बीपी कोइरालाको नेतृत्वमा गठित सरकारमा निर्माण तथा यातायात मन्त्रीको कार्यभार सम्हाले ।
वि.सं २०१७ साल पुस १ गते (सन् १९६०)को घटनापछि गणेशमान सिंह लगातार आठ वर्ष २०२५ सालसम्म सुन्दरीजल जेलमा थुनिए । जेलमुक्त भएपछि उनी निरंकुशता विरुद्धको आन्दोलनलाई नेतृत्व दिन भारत प्रवासमा गए । मेलमिलापको नीति लिएर बीपी कोइरालासँग २०३३ सालमा स्वदेश फर्किएका सिंहलाई विमानस्थल मै गिरफ्तार गरियो । उनीमाथि राजकाज मुद्दा चलाईयो र फाँसीको माग समेत गरियो । २०३७ सालको जनमत संग्रहमा निःशर्त सहभागी हुने कुरामा बीपी कोइरालासँग सिंहको मतभेद पनि भएको थियो । २०३९ सालमा बीपी कोइरालाको देहावसान पश्चात उनी नेपाली कांग्रेसका सर्वोच्च नेता भए । २०४२ सालमा मेलमिलाप नीतिको पुनर्परिभाषा गरियो र सिंहले सत्याग्रहको नेतृत्व गरे । त्यसबखत पनि उनले जेल सजाय भोग्नुपरेको थियो । २०४६ साल माघको ५, ६ र ७ गते काठमाडौंको क्षेत्रपाटीस्थित आफ्नै निवासमा आयोजित नेपाली कांग्रेसको सम्मेलनद्वारा जनआन्दोलनको घोषणा गरे । २०४६ फागुन ७ गते प्रारम्भ भएको ऐतिहासिक जनआन्दोलनको नेतृत्व सम्हालेका सर्वोच्च कमाण्डर सिंहलाई ६ वामपन्थी पार्टीहरूको संयुक्त मोर्चाले समेत साथ दिएको थियो । तर आन्दोलनको क्रममा उनलाई घरमै नजरबन्द गरियो । फेरी गम्भीररूपमा अस्वस्थ्य भएपछि अस्पताल भर्ना भएका सिंहलाई अस्पतालमा नै नजरबन्द गरियो । जनआन्दोलनको सफलतास्वरूप दलहरूमाथिको प्रतिबन्ध फुकुवा भएपछि चैत्र २७, २०४६ सालमा काठमाडौंको टुँडिखेलमा आयोजित विशाल जनसभामा ऐतिहासिक सम्बोधन गर्ने सिंहलाई ‘फादर अफ डेमोक्रेसीको रूपमा सम्मानित गरिएको थियो । जनआन्दोलनपछि बनेको अन्तरिम सरकारमा प्रधानमन्त्री पद लिन राजा वीरेन्द्रबाट आग्रह हुँदा सिंहले अस्वीकार गरेका थिए ।
प्रजातन्त्रको संरक्षणका निम्ति जनजागरण अभियानको २०५१ साल नेपाली कांग्रेसकोे पोखरा महासमितिको बैठकमा उनलाई पार्टीको सर्वोच्च नेता कायमै रहेको घोषणा गरियो ।
वि.सं २०४७ साल पुष ३ गते उनले तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज बुशलाई अमेरिकामा भेटे । नेपाल तथा विश्वमै मानवाधिकार र शान्ति स्थापनाका निम्ति नेतृत्वदायी भूमिका निर्वाह गरेवापत सम्मानस्वरूप अमेरिकाबाट पिसरन पुरस्कार (१९९०) तथा मानवाधिकार पुरस्कार (१९९३ एवं संयुक्त राष्ट्र संघका भूतपूर्व महासचिव ऊ थान्तको नाममा स्थापित ऊ थान्त शान्ति पुरस्कारुबाट पनि सिंह सम्मानित भए । २०४९ सालमा नेपाली कांग्रेस झापा जिल्लाको कलबलगुडीमा सम्पन्न नेपाली कांग्रेसको आठौं महाधिवेशनमा तत्कालीन प्रधामन्त्री गिरिजाप्रसाद कोइरालासँग उनको मतभेद भयो । २०५१ साल भदौमा उनले नेपाली कांग्रेस पार्टी छाडे । तर कांग्रेसले उनलाई कहिल्यै छाडेन । प्रजातन्त्रको संरक्षणका निम्ति जनजागरण अभियानको २०५१ साल नेपाली कांग्रेसकोे पोखरा महासमितिको बैठकमा उनलाई पार्टीको सर्वोच्च नेता कायमै रहेको घोषणा गरियो । २०५३ साल वैशाखको नेपाली कांग्रेसकोे नवौं अधिवेशनमा अनुपस्थित रहेपनि उनलाई महाधिवेशनले पार्टी सर्वोच्च नेताको उच्च सम्मान प्रदान गरिनै रह्यो । २०५३ साल भदौ १० गते उहाँकी धर्मपत्नी मङ्गलादेवी सिंहको निधन भयो । उनको निधन ८२ वर्षको उमेरमा २०५४ साल असोज २ गते भयो । सरकारले तीन दिनसम्म राष्ट्रिय शोक मनाउने घोषणा गरेको थियो । तत्कालीन श्री ५ को सरकारले कुनै पनि सरकारी पदमा नभएको र राजनीतिज्ञको सम्मानमा गरेको यो घोषणा पहिलो थियो । सिंहका दुई छोरा प्रदीपमान सिंह र प्रकाशमान सिंह तथा तीन छोरी डा. मीना सिंह, कान्ता मानन्धर र रीता वैद्य हुन् । काठमाडौं महानगरपालिकाका पूर्व नगरप्रमुख पीएल सिंह भने नेता सिंहका धर्मपुत्र हुन् । उनलाई लौह पुरुष, फादर अफ डेमोक्रेसी, सर्वमान्य नेता, वीर गणेशमान, वरिष्ठ प्रजातन्त्रवादी नेता, नेपाली जनक्रान्तिका महान योद्धा, २०४६ सालको ऐतिहासिक जनआन्दोलनका कमाण्डर सर्वोच्च नेता आदि उपनामले अहिले पनि चिनिन्छ ।



















प्रतिक्रिया