sujim bazar advert

जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंह

श्रीराम श्रेष्ठ     फाल्गुन ४, २०८२

Sizen Education Consultancy Pvt. Ltd.

shreeram shrestha writes Supreme Commander of the People's Movement, Ganeshman Singh
Big Education Consultancy Nuwakot

गणेशमान सिंह प्रजातन्त्रका योद्धा, बरिष्ठ राजनीतिज्ञ तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर थिए । नेपाली राजनीतिक इतिहासमा गणेशमान सिंहलाई सर्वोच्च नेता एवं लौहपुरुषको उपनामले पनि सम्बोधन गर्ने गरिन्छ । नेपाली कांग्रेस र समग्र नेपाली राजनीतिक क्षेत्रमा महामानव बीपी कोइराला जत्तिकै सर्वोच्च नेता गणेशमान सिंह सम्मानित नेता थिए ।

गणेशमान सिंह नेपाली कांग्रेसका संस्थापक नेता पनि हुन् । प्रजातन्त्रका लागि निरन्तर रुपमा संघर्ष, बलिदानी, जेलनेल भोगेका र प्रधानमन्त्रीको अवसर समेत छाडेर राजनीतिमा निस्वार्थ र त्यागी भावनाको प्रदर्शन गर्ने नेता थिए गणेशमान सिंह । गणेशमान सिंहको जन्म वि.सं १९७२ साल कात्तिक २४ गते काठमाडौंको यट्खामा भएको थियो । गणेशमान सिंह सुब्बा ज्ञानमान सिंह र सुभद्रा कुमारीका जेष्ठ सुपुत्र थिए । गणेशमान सिंह नाम राखिएको भए पनि परिवारमा भने पुलपुल्याएर उनलाई हीराकाजीु भन्ने गरिन्थ्यो । टोल, छिमेकी र दौंतरीहरूबीच उनी दरबार स्कूलमा पाँच कक्षामा भर्ना हुनु अघिसम्म हीराकाजी कै नामले परिचित रहेका थिए । आफ्नो बाजे हरिमान र पिता ज्ञानमानको अल्पायुमै निधन भएकाले गणेशमानको लालन–पालन जेठा बाजे सरदार रत्नमानबाट भएको हो । सरदार रत्नमानको पदोन्नति हुँदै काजी र बडाकाजीसम्म भएका थिए । रत्नमान राणाकालको नामी भारदार हुनाले गणेशमान सिंहको बाल्यकाल र यौवन अवस्था सम्पन्नता र ठाँटबाँठमा बितेको थियो । काठमाडौंको दरबार हाइस्कूलमा कक्षा ६ मा पढ्दा राणाका छोराछोरीलाई आदर नगरेका कारण वि.सं १९८४ मा विद्यालयबाट निस्कासित भएर बहिदारको पदमा सरकारी सेवामा प्रवेश गरेका थिए । राणाको दरबार अगाडि साइकल कुदाएका कारण पनि सिंहले सजाय भोग्नु प¥यो । उनको आफ्नो स्वाभिमान गिराउन नचाहने प्रवृत्तिले बहिदारको सेवा पनि त्याग गरी उनी कोलकाता गए र तेहींबाट सन् १९३९ मा प्रथम श्रेणीमा मेट्रिक (एसएलसी) पास गरे । त्यसपछि कोलकाता कै विद्यासागर कलेजमा विज्ञान विषयमा प्रवीणता प्रमाणपत्र तह (आईएस्सी)को अध्ययन गर्दै उनले राजनीतिमा प्रवेश गरेका थिए ।

बीपी कोइरालाका समकालीन नेता थिए गणेशमान सिंह । बीपी बि.सं १९७१ भदौ २४ गते जन्मिएका थिए भने गणेशमान त्यसको ठीक १४ महिनापछि वि.सं १९७२ कात्तिक २४ गते । त्यसैले बीपी र गणेशमान समकालीन थिए । राजनीतिमा कुनै पनि विषयको निर्णय लिने कुरामा बीपीको निर्णयात्मक खुबी देखिन्छ भने गणेशमानको अडान लिने खुबी देखिन्छ । यी दुवैका यस्ता खुबीले गर्दा भारतको वनारसमा जन्मेको नेपाली कांग्रेस पार्टीले २००७ सालमा नेपालबाट एकतन्त्रीय राणा शासन अन्त्य गरी प्रजातन्त्र स्थापना गर्न सफलता पाएको थियो । यतिमात्र नभएर २०१५ सालको प्रथम आम निर्वाचनमा दुई तिहाई मतसमेत कांग्रेसले ल्याउन सकेको थियो । वि.सं २०४८ सालको दोस्रो आम निवार्चनमा पनि नेपाली कांग्रेसले नै बहुमत प्राप्त गरेको थियो ।

गणेशमान सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने राजनीतिमा आफूलाई होमेका थिए । भद्रगोल जेल तोडेर भागेका जोशिला तन्नेरी गणेशमान प्रवास जानुअघि नै तत्कालीन राणा हटाऊ आन्दोलनका नायक भैसकेका थिए । भारतमा अर्का नेता बीपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित हुनासाथ अन्य केही सहयोगीका साथ २००३ सालमा स्थापित नेपाली कांग्रेसलाई आजीवन जुझारू नेतृत्व दिन गणेशमानको उल्लेखनीय भूमिका रहेको पाइन्छ । २००७ सालको क्रान्तिका एक अगुवाका रूपमा उनले बीरगञ्ज मोर्चामा सशस्त्र संघर्ष गरेका थिए । संर्घषका हिसाबले बीपी कोइरालाभन्दा बढी समयसम्म देशमा प्रजातन्त्र बहाली र पुर्नबहालीका लागि समर्पित गणेशमान सिंह सैद्धान्तिक हिसाबले बीपीका अनुयायी र सबैभन्दा ठूला समर्थकका रूपमा नेपाली कांग्रेसलाई लोकप्रिय बनाउन सदा क्रियाशील रहिरहे । पहिलो जननिर्वाचित सरकारमा वरिष्ठ मन्त्री रहेका गणेशमानले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि ८ वर्ष निरन्तर काराबास भोग्नुप¥यो । त्यसपछि पुनः प्रवासमा राजनीतिक संगठन विस्तार गरी २०३३ सालमा बीपीसँगै राष्ट्रिय मेलमिलापको नारा लिई स्वदेश फर्केर तत्कालीन पञ्चायती ब्यबस्थाका विरुद्धमा सक्रिय रुपमा लागिपरे । तत्कालीन पञ्चहरूबाट बीपीसँगै मृत्युदण्डको माग गरिएका गणेशमानले २०३६ सालको बिद्यार्थी आन्दोलन र जनमत संग्रहमा उत्तिकै नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । बीपीको निधनपछि कांग्रेसका सर्वोच्च नेताका रूपमा गणेशमानले २०४२ सालको सत्याग्रह आन्दोलन आरम्भ गरेका थिए । १९९७ सालदेखि अनवरत राजनीतिमा समर्पित कडा स्वभाव र जुझारू व्यक्तित्वका र्सवप्रिय नेता गणेशमानको अर्को महत्वपूर्ण योगदान २०४६ सालमा रहेको देखिन्छ । राष्ट्रिय जनआन्दोलनका लागि कम्युनिष्टहरूसँग मिलेर पञ्चायत विरूद्ध आन्दोलनको घोषणा गर्ने गणेशमान सिंह उक्त आन्दोलनका सर्वोच्च कमाण्डर थिए ।

जेलबाट भागेपछि उनी कृष्णबहादुर प्रधानका नाममा राणा विरोधी अभियान चलाउँदै राणा शासकहरूद्वारा देश निकाला गरिएको नेपालीहरूको बसोबास क्षेत्र भारतको दार्जिलिङ, सिक्किम, कालिङपोङ, कोलकाता, बनारस र लाहौर पुग्नुभयो ।

अध्ययनकै बेला भारतबाट नेपाल आएको समयमा वि.सं १९९७ सालमा नेपालको जेठो राजनीतिक दल राष्ट्रिय प्रजापरिषदको सदस्यताबाट उनको नेपालमा राजनीतिक जीवनको सुरूवात भएको थियो । तर प्रजापरिषद सदस्यता लिएको दुई हप्तापछि अर्थात् वि.सं १९९७ असारमा नै उनको मङ्गलादेवीसँग विवाह भयो । यो विवाह गर्न जेठा बाजे र आमाले सिंहलाई आग्रह गरेका थिए । तर उनको गिरफ्तारी विवाह पश्चात् वि.सं १९९७ कात्तिक महिनामा भएको थियो । तत्कालीन राणा सरकारले सर्वश्वहरण सहित आजीवन कारावासको दण्ड दियो । उनीसँगै जेल पर्नुभएका गङ्गालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द र शुक्रराज शास्त्रीलाई भने मृत्युदण्ड दिइयो । जन्मजात विद्रोही गणेशमान सिंहलाई राणाको पर्खालले धेरै दिन कैद गर्न सकेन । २००१ साल वैशाख (सन् १९४४)को एक रात भद्रगोल जेलको पर्खाल नाधेर उनी कैदमुक्त भए । जेलबाट भागेपछि उनी कृष्णबहादुर प्रधानका नाममा राणा विरोधी अभियान चलाउँदै राणा शासकहरूद्वारा देश निकाला गरिएको नेपालीहरूको बसोबास क्षेत्र भारतको दार्जिलिङ, सिक्किम, कालिङपोङ, कोलकाता, बनारस र लाहौर पुग्नुभयो । यसक्रममा उनको कोलकातामा बीपी कोइरालासँग २००१ सालमा सम्पर्क हुन्छ । त्यहीं विश्वेश्वरसँग मिलेर उनले २००३ साल माघ १२ गते नेपाली राष्ट्रिय कांग्रेसको स्थापना भएको थियो । त्यो पार्टी सुवर्ण शमशेरको प्रजातान्त्रिक कांग्रेससँग मिलेर २००६ सालमा नेपाली कांग्रेस बन्यो, गणेशमान सिंह नेपाली कांग्रेसका संस्थापक नेता बने । वि.सं २००७ असोज ९, १० र ११ मा तत्कालीन जहानीया राणा शासन विरूद्ध भारतको विहारस्थित बैरगनियामा तीन दिनसम्म आयोजित बैरगनिया सम्मेलनमा गणेशमान सिंह, खड्गजीत बराल, बहादुरसिंह बराल, डाक्टर के.आई सिंह, मातृकाप्रसाद कोइराला, बीपी कोइराला, कृष्णप्रसाद भट्टराई र महेन्द्र नारायण निधि लगायतका नेताहरुको समेत उपस्थिति रहेको थियो । बैरगनिया सम्मेलनमा भाग लिने जति सबैले तत्कालीन जहानीया राणा शासन फाल्न ‘कि राणा शासन खत्तम गर्ने कि हामी खत्तम हुने नीति’ अपनाउन स्विकारेका थिए । वि.सं २००७ सालाको क्रान्तिको तयारीका लागि भूमिगत रूपमा नेपाल आउँदा २००७ साल असोज २७ गते ठोरीको जंगलमा पक्राउमा परे । तेसबेला उनलाई शारीरिक यातना समेत दिइयो । नेपालमा २००७ सालमा प्रजातन्त्रको स्थापना भएपछि रिहा भए र मोहन शमशेरको नेतृत्वमा बनेको मन्त्रिमण्डलमा सिंहले उद्योग तथा वाणिज्य मन्त्रीको कार्यभार सम्हालेका थिए । त्यसपछि वि.सं २००८ सालमा नेपाली कांग्रेसका नेता मातृकाप्रसाद कोइरालाको मन्त्रिमण्डलमा कृषि, भूमि तथा खाद्यमन्त्री भएका सिंहले बीपीको निर्देशनमा मातृकाप्रसादको मन्त्रिमण्डल छोडे । वि.सं २०१२ सालमा कांग्रेसको वीरगञ्ज अधिवेशनमा सभापतिका लागि उम्मेदवारी दिएका सिंह सुवर्ण शमशेरद्वारा पराजित भए । उनले २०१४ सालको भद्र अवज्ञा आन्दोलनलाई नेतृत्व दिए । वि.सं २०१५ सालमा भएको प्रथम संसदीय निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट काठमाडौंको सांसद् पदमा विजयी भए । बीपी कोइरालाको नेतृत्वमा गठित सरकारमा निर्माण तथा यातायात मन्त्रीको कार्यभार सम्हाले ।

वि.सं २०१७ साल पुस १ गते (सन् १९६०)को घटनापछि गणेशमान सिंह लगातार आठ वर्ष २०२५ सालसम्म सुन्दरीजल जेलमा थुनिए । जेलमुक्त भएपछि उनी निरंकुशता विरुद्धको आन्दोलनलाई नेतृत्व दिन भारत प्रवासमा गए । मेलमिलापको नीति लिएर बीपी कोइरालासँग २०३३ सालमा स्वदेश फर्किएका सिंहलाई विमानस्थल मै गिरफ्तार गरियो । उनीमाथि राजकाज मुद्दा चलाईयो र फाँसीको माग समेत गरियो । २०३७ सालको जनमत संग्रहमा निःशर्त सहभागी हुने कुरामा बीपी कोइरालासँग सिंहको मतभेद पनि भएको थियो । २०३९ सालमा बीपी कोइरालाको देहावसान पश्चात उनी नेपाली कांग्रेसका सर्वोच्च नेता भए । २०४२ सालमा मेलमिलाप नीतिको पुनर्परिभाषा गरियो र सिंहले सत्याग्रहको नेतृत्व गरे । त्यसबखत पनि उनले जेल सजाय भोग्नुपरेको थियो । २०४६ साल माघको ५, ६ र ७ गते काठमाडौंको क्षेत्रपाटीस्थित आफ्नै निवासमा आयोजित नेपाली कांग्रेसको सम्मेलनद्वारा जनआन्दोलनको घोषणा गरे । २०४६ फागुन ७ गते प्रारम्भ भएको ऐतिहासिक जनआन्दोलनको नेतृत्व सम्हालेका सर्वोच्च कमाण्डर सिंहलाई ६ वामपन्थी पार्टीहरूको संयुक्त मोर्चाले समेत साथ दिएको थियो । तर आन्दोलनको क्रममा उनलाई घरमै नजरबन्द गरियो । फेरी गम्भीररूपमा अस्वस्थ्य भएपछि अस्पताल भर्ना भएका सिंहलाई अस्पतालमा नै नजरबन्द गरियो । जनआन्दोलनको सफलतास्वरूप दलहरूमाथिको प्रतिबन्ध फुकुवा भएपछि चैत्र २७, २०४६ सालमा काठमाडौंको टुँडिखेलमा आयोजित विशाल जनसभामा ऐतिहासिक सम्बोधन गर्ने सिंहलाई ‘फादर अफ डेमोक्रेसीको रूपमा सम्मानित गरिएको थियो । जनआन्दोलनपछि बनेको अन्तरिम सरकारमा प्रधानमन्त्री पद लिन राजा वीरेन्द्रबाट आग्रह हुँदा सिंहले अस्वीकार गरेका थिए ।

प्रजातन्त्रको संरक्षणका निम्ति जनजागरण अभियानको २०५१ साल नेपाली कांग्रेसकोे पोखरा महासमितिको बैठकमा उनलाई पार्टीको सर्वोच्च नेता कायमै रहेको घोषणा गरियो ।

वि.सं २०४७ साल पुष ३ गते उनले तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज बुशलाई अमेरिकामा भेटे । नेपाल तथा विश्वमै मानवाधिकार र शान्ति स्थापनाका निम्ति नेतृत्वदायी भूमिका निर्वाह गरेवापत सम्मानस्वरूप अमेरिकाबाट पिसरन पुरस्कार (१९९०) तथा मानवाधिकार पुरस्कार (१९९३ एवं संयुक्त राष्ट्र संघका भूतपूर्व महासचिव ऊ थान्तको नाममा स्थापित ऊ थान्त शान्ति पुरस्कारुबाट पनि सिंह सम्मानित भए । २०४९ सालमा नेपाली कांग्रेस झापा जिल्लाको कलबलगुडीमा सम्पन्न नेपाली कांग्रेसको आठौं महाधिवेशनमा तत्कालीन प्रधामन्त्री गिरिजाप्रसाद कोइरालासँग उनको मतभेद भयो । २०५१ साल भदौमा उनले नेपाली कांग्रेस पार्टी छाडे । तर कांग्रेसले उनलाई कहिल्यै छाडेन । प्रजातन्त्रको संरक्षणका निम्ति जनजागरण अभियानको २०५१ साल नेपाली कांग्रेसकोे पोखरा महासमितिको बैठकमा उनलाई पार्टीको सर्वोच्च नेता कायमै रहेको घोषणा गरियो । २०५३ साल वैशाखको नेपाली कांग्रेसकोे नवौं अधिवेशनमा अनुपस्थित रहेपनि उनलाई महाधिवेशनले पार्टी सर्वोच्च नेताको उच्च सम्मान प्रदान गरिनै रह्यो । २०५३ साल भदौ १० गते उहाँकी धर्मपत्नी मङ्गलादेवी सिंहको निधन भयो । उनको निधन ८२ वर्षको उमेरमा २०५४ साल असोज २ गते भयो । सरकारले तीन दिनसम्म राष्ट्रिय शोक मनाउने घोषणा गरेको थियो । तत्कालीन श्री ५ को सरकारले कुनै पनि सरकारी पदमा नभएको र राजनीतिज्ञको सम्मानमा गरेको यो घोषणा पहिलो थियो । सिंहका दुई छोरा प्रदीपमान सिंह र प्रकाशमान सिंह तथा तीन छोरी डा. मीना सिंह, कान्ता मानन्धर र रीता वैद्य हुन् । काठमाडौं महानगरपालिकाका पूर्व नगरप्रमुख पीएल सिंह भने नेता सिंहका धर्मपुत्र हुन् । उनलाई लौह पुरुष, फादर अफ डेमोक्रेसी, सर्वमान्य नेता, वीर गणेशमान, वरिष्ठ प्रजातन्त्रवादी नेता, नेपाली जनक्रान्तिका महान योद्धा, २०४६ सालको ऐतिहासिक जनआन्दोलनका कमाण्डर सर्वोच्च नेता आदि उपनामले अहिले पनि चिनिन्छ ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top