जेठ १९, विदुर । नुवाकोट जिल्लाको विदुर नगरपालिका–५ र बेलकोटगढी नगरपालिका–१२ जोड्ने तादी खोलामा निर्माण गरिएको नारायणथान पुल जोखिममा परेको छ ।
१२ करोड लगानीमा निर्माण भएको २६९ मि.लम्बाइको पक्कीपुल जोखिममा परेसँगै यस क्षेत्रका हजारौँ नागरिकको आवतजावत प्रभावित हुने खतरा बढेको छ। दैनिक रूपमा चल्ने सार्वजनिक तथा निजी सवारीसाधनहरू र स्थानीयस्तरमा उत्पादित कृषि सामग्री बजारसम्म पुर्याउने मुख्य मार्ग जोखिममा परेको हो । पुलको दायाँ र बायाँ करिब ७५/७५ मिटर ग्याबिनले बनाएको कच्ची पर्खाल भत्किएसँगै पुल जोखिममा परेको छ ।
गत वर्षको बाढीले क्षति पुर्याएको पुलको अवस्था अहिले झनै नाजुक बन्दै गएको बेलकोटगढी नगरपालिका-१३ हरिबहादुर गुरुवाचार्यले बताए । ग्याबिनले बनाएको कच्ची पर्खाल खोलाले जुनसकै बेला पानीको धार परिवर्तन गरेर पुल नै धरापमा पर्ने खतरा बढेको उनले बताए।
“यस क्षेत्रमा लिखु खोला र तादी खोलाको संगम हुनुका साथै नजिकै ढाँडेफेदी खोला समेत मिसिने भएकाले वर्षायाममा यहाँ ठूलो बाढी आउने सम्भावना रहन्छ”, उनले भने “यदि समयमै यसको मर्मत र क्षति न्यूनीकरणका प्रयासहरू नभएमा पुल पूर्ण रूपमा भत्कने खतरा छ।”
पुलको जोखिमले स्थानीय कृषि योग्य जमिन मात्र नभई विदुर नगरपालिकाका धेरै क्षेत्रहरू समेट्ने विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले निर्माण गरेको सम्पवेल आयोजनालाई समेत ठूलो असर पार्ने देखिएको उनले बताए ।
निर्माण कार्यमा गुणस्तरको कमी र जाली ‘वाल’को प्रयोगमा भएको कमजोरीका कारण पुलले बाढीको चाप थेग्न नसकेको उनले बताए । यस वर्ष पनि पुलको मर्मत सम्भारमा बेवास्ता गरिएमा ठूलो आर्थिक क्षति व्यहोर्नुपर्ने देखिएकाले सम्बन्धित निकायलाई यथाशीघ्र उनले ध्यानाकर्षण गराए ।
पुलको जोखिमलाई लिएर चिन्ता व्यक्त गर्दै स्थानीय बासिन्दा मिरा सिलवालले आफ्नो दैनिक सङ्घर्ष सुनाउँछिन् । उनका अनुसार बिहानै उठेर बजारसम्म तरकारी बेच्न जाने मुख्य बाटो नै यही पुल हो। यो पुल नहुने हो भने किसानहरूलाई भारी बोकेर आवतजावत गर्न निकै कठिन हुने उनी बताउँछिन्। पुलले कृषि उपजलाई समयमै बजारसम्म पुर्याउन ठूलो मद्दत गरिरहेको अवस्थामा यसको सुरक्षा हुनुपर्नेमा उनले जोड दिईन् ।
विगतका दिनहरू सम्झँदै सिलवालले पुल निर्माण हुनुअघि स्थानीयले भोगेको सास्तीको समेत स्मरण गरिन् । पुस र माघको जाडो होस् या वर्षायामको उर्लँदो भेल, जस्तोसुकै कठिन परिस्थितिमा पनि खोलामा डुब्दै र ज्यान हत्केलामा राखेर हिँड्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ। वर्षौँको कष्टपछि निर्माण भएको यो संरचना फेरि जोखिममा पर्दा विगतकै जस्तो दुःखद दिनहरू फर्कने चिन्ताले उनलाई सताउन थालेको छ।
नदी कटान र उचित संरक्षणको अभावमा पुलको जग नै कमजोर बन्दै गएपछि स्थानीय ईश्वरबहादुर राईले आफ्नो दैनिकी फेरि कष्टकर बन्ने खतरा बढेको बताए । पुल बिग्रेमा विगतमा भोग्नुपरेको सास्ती पुनः दोहोरिने त्रास छन् ।
नुवाकोटमा २६९ मिटर लम्बाइको पक्की पुल जोखिममा
पुलको संरचना बिग्रँदै गएपछि स्थानीय बासिन्दाहरूले यसको तत्काल मर्मतसम्भारका लागि माग गरिरहेका छन्। नागरिकहरूले यो पुल पूर्ण रूपमा क्षतिग्रस्त हुनु अगावै सम्बन्धित सरोकारवाला निकायले ध्यान दिनुपर्ने र समयमै आवश्यक मर्मत गरेर सम्भावित दुर्घटनाबाट जोगाउनुपर्ने धारणा राखेका छन्।

प्रतिक्रिया