जेठ १८, नुवाकोट। विद्यालयको समग्र शैक्षिक गुणस्तर र शिक्षकहरूको योगदानको सही मूल्याङ्कनका लागि ‘औसत जीपीए’ मापन प्रणाली अपनाउनुपर्नेमा प्याब्सन बागमती प्रदेश समितिका सदस्य सुनिल श्रेष्ठले जोड दिएका छन्।
एक कार्यक्रममा बोल्दै श्रेष्ठले केवल सीमित संख्यामा आउने ‘४ जीपीए’ वा शत-प्रतिशत उत्तीर्ण प्रतिशतलाई मात्र आधार मानेर विद्यालयको वास्तविक स्तरमापन गर्न नसकिने तर्क गरेका हुन् । विदुर नगरपालिका र राष्ट्रिय तथ्याङ्कहरूमा विद्यालयको मूल्याङ्कनको ढाँचा परिवर्तन गर्न आवश्यक रहेको उनको भनाइ छ।
उनका अनुसार एउटा विद्यालयमा थोरै संख्यामा उत्कृष्ट जीपीए ल्याउने विद्यार्थीहरू मात्र हुँदैनन्, त्यहाँ विभिन्न क्षमता भएका सयौँ वा हजारौँ विद्यार्थीहरू अध्ययनरत हुन्छन्। केही विद्यार्थीले ४ जीपीए ल्याएकै भरमा वा विद्यालयले ‘शत-प्रतिशत’ नतिजा निकालेको पोस्टर टाँस्दैमा शैक्षिक गुणस्तरको वास्तविक चित्र बाहिर आउँदैन।
विद्यालयको वास्तविक क्षमता र शिक्षकहरूको मिहिनेत जाँच्नका लागि परीक्षामा सामेल भएका सम्पूर्ण विद्यार्थीहरूको जीपीए जोडेर त्यसको कूल औसत निकाल्नुपर्ने र सोही औसत अंकका आधारमा विद्यालयहरूलाई प्रथम, द्वितीय वा तृतीय घोषणा गरी सम्मान गर्ने परिपाटी बसाल्नुपर्ने बताए ।
विगतमा जिल्ला शिक्षा कार्यालयले समेत यसरी नै औसत मापनका आधारमा विद्यालयको रेकर्ड राख्ने गरेको स्मरण गराउँदै उनले यो पद्धतिलाई पुनः ब्युँताउन विदुर नगरपालिका र स्थानीय तहका शिक्षा शाखाहरूलाई आग्रह गरेका छन् ।
केवल ४ जीपीए ल्याउने सीमित विद्यार्थीलाई मात्र ठूलो पुरस्कार र सम्मान दिँदा औसत वा सोभन्दा मुनिका विद्यार्थीहरूमा मानसिक दबाब सिर्जना भइरहेकोप्रति पनि श्रेष्ठले चिन्ता व्यक्त गरे । “४ जीपीए ल्याउन नसक्दा आफ्नो नतिजै नराम्रो भएको हो कि भन्ने भ्रम र हीनताबोध आजभोलि भाइबहिनीहरूमा देखिन थालेको छ, जुन गलत हो,” उनले भने।
जीपीए केवल एउटा प्राविधिक अंक मात्र भएकाले एसईईमा सोचेजस्तो नतिजा नआए पनि निराश नभई कक्षा ११ र १२ मा अझ उत्कृष्ट प्रदर्शन गर्न सकिने भन्दै उनले विद्यार्थी र अभिभावकहरूलाई ढाडस समेत दिए ।
शैक्षिक क्षेत्रमा सुधार ल्याउन र विद्यार्थीहरूलाई अनावश्यक दबाबबाट मुक्त राख्न अबका दिनमा अंकको पछि कुद्नेभन्दा पनि संस्थागत औसत सुधारमा केन्द्रित हुनुपर्नेमा उनको विशेष जोड रहेको छ।

प्रतिक्रिया