२२ मङ्सिर, नुवाकोट । विदुर नगरपालिकाले नगर क्षेत्रका महिलाहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै निःशुल्क स्त्री रोग परीक्षण तथा उपचार शिविर सञ्चालन गर्ने भएको छ। नगरपालिका र मेरी स्टोप्स लेडिजको संयुक्त आयोजनामा नगरका विभिन्न १२ वटा स्वास्थ्य संस्थाहरूमा घुम्ती शिविर सञ्चालन हुन लागेको हो।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेलद्वारा जारी सूचना अनुसार शिविरमा दक्ष तथा अनुभवी स्वास्थ्यकर्मीहरूबाट महिलाहरूको पाठेघर सम्बन्धी समस्याहरूको चेकजाँच तथा उपचार गरिने छ।
शिविरमा विशेषगरी ३० देखि ४९ वर्ष उमेर समूहका महिलाहरूको पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ गरिनेछ। स्क्रिनिङका क्रममा कुनै समस्या देखिएमा सोको निःशुल्क उपचार सेवा उपलब्ध गराइने नगरपालिकाले जनाएको छ।
यसैगरी, पाठेघर खस्ने (आङ खस्ने) समस्या भएका महिलाहरूका लागि निःशुल्क रिङ पेसरी राख्ने वा फेर्ने सुविधा उपलब्ध हुनेछ भने शल्यक्रिया नै गर्नुपर्ने अवस्था आएमा निःशुल्क शल्यक्रियाको व्यवस्थाका लागि सहजीकरण गरिनेछ। शिविरमा फिस्टुला सम्बन्धी चेकजाँच, परिवार नियोजन सेवा तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण परामर्श सेवाहरू पनि निःशुल्क प्रदान गरिनेछ।
शिविर यहि मङ्सिर २८ गतेदेखि सुरु भई पुस १३ गतेसम्म चल्नेछ।
शिविरको तालिका निम्नअनुसार रहेको छ:
- मंसिर २८ गते: कल्याणपुर स्वास्थ्य चौकी, देउडी
- मंसिर २९ गते: सामुदायिक स्वास्थ्य ईकाइ-१२, गौरीवेशी
- पुस १ गते: सामुदायिक स्वास्थ्य ईकाइ-११, उपल्लो गेर्खु
- पुस २ गते: शहरी स्वास्थ्य केन्द्र-१०, गेर्खुटार
- पुस ३ गते: शहरी स्वास्थ्य केन्द्र-९, जफती
- पुस ४ गते: शहरी स्वास्थ्य केन्द्र-८, भैरमकोट
- पुस ६ गते: तुप्चे स्वास्थ्य चौकी, साहुगाँऊ
- पुस ७ गते: शहरी स्वास्थ्य केन्द्र-६, महारानीडिही
- पुस ८ गते: शहरी स्वास्थ्य केन्द्र-५, पिपलटार
- पुस ९ गते: सामुदायिक स्वास्थ्य केन्द्र-३, कुमलटार
- पुस ११ गते: नुवाकोट स्वास्थ्य चौकी, नुवाकोट
- पुस १३ गते: शहरी स्वास्थ्य केन्द्र-१, बान्द्रे
नगरपालिकाले आफ्ना वडामा सञ्चालन हुने शिविरमा सहभागी भई स्वास्थ्य लाभ लिन सम्पूर्ण नगरवासी महिलाहरूलाई अनुरोध गरेको छ।

प्रतिक्रिया