+
Search

ताजा अपडेट +

पपुलर +

विना प्रमाण व्यक्तिगत लाञ्छना नलगाउन वडाध्यक्ष रञ्जितको चुनौती

आफ्नै कमाइले गाडी र कोठाभाडा तिरेको स्पष्टोक्ति

Ward Chairman Ranjit challenges not to make personal accusations without evidence, clarifies that he paid for the car and room rent with his own earnings
डबली खबर
४८ मिनेट अगाडी

असार २६, नुवाकोट । विदुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष लेनिन रञ्जितले सार्वजनिक सुनुवाइमा नागरिकहरूले उठाएका केही प्रश्नप्रति तीव्र असन्तुष्टि जनाउँदै बिना प्रमाण व्यक्तिगत लाञ्छना नलगाउन चुनौती दिएका छन्।

वडा कार्यालयद्वारा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा एक स्थानीयबासीले वडाध्यक्षको कोठाभाडा र गाडीको तेल खर्च वडा कार्यालयको बजेटबाट भुक्तानी भइरहेको भनी प्रश्न उठाएपछि वडाध्यक्ष रञ्जितले त्यसको कडा शब्दमा प्रतिवाद गरेका हुन्।

उनले सार्वजनिक मञ्चहरूमा जनप्रतिनिधिलाई जबाफदेही बनाउन प्रश्न सोध्ने नागरिकको अधिकार भए पनि व्यक्तिगत चरित्रहत्या गर्ने उद्देश्यले बिना आधार र प्रमाणका बेतुका कुराहरू उठाउन नपाइने स्पष्ट पारे। यदि आफूले वडा वा सरकारी कोषको रकम दुरुपयोग गरेर व्यक्तिगत सेवा सुविधा लिएको भए प्रमाणसहित आउन उनले सम्बन्धित प्रश्नकर्तालाई आग्रह गरे।

आफ्नो आर्थिक पृष्ठभूमि र सवारीसाधनका बारेमा सार्वजनिक रूपमै प्रष्टीकरण दिँदै वडाध्यक्ष रञ्जितले आफू राजनीतिमा आउनुअघि नै सफल व्यवसायमा संलग्न रहेको जानकारी दिए। उनले आफूसँग २०७३ सालमै पाँचवटा ट्रक, दुईवटा एक्साभेटर र एउटा जेसिबी रहेको तर वडाध्यक्षमा निर्वाचित भएपछि व्यवसायिक काममा समय दिन नसकेकाले अहिले ती साधनहरू आफूसँग नरहेको उल्लेख गरे। व्यवसायिक पृष्ठभूमि भएका कारण आफूसँग अझै पनि एउटा गाडी रहेको र त्यसको खर्च व्यहोर्न आफू सक्षम रहेको उनले बताए। काठमाडौं, गल्छी र ढुङ्गेमा रहेका आफ्ना घरजग्गाहरूबाट नियमित रूपमा भाडा आउने भएकाले वडाको बजेटमा आँखा लगाउनुपर्ने अवस्था आफ्नो नरहेको उनको भनाइ थियो।

सार्वजनिक सुनुवाइको गरिमालाई जोगाउन र आगामी दिनमा यस्ता कार्यक्रमहरूलाई मर्यादित बनाउन आग्रह गर्दै वडाध्यक्ष रञ्जितले पारदर्शी रूपमा विवरण माग्ने जोकोहीलाई लिखित रूपमै आफ्नो सम्पत्ति र खर्चको हिसाब दिन तयार रहेको प्रतिबद्धता जनाए।

जनप्रतिनिधि हुनुको अर्थ राज्यको सम्पत्ति दोहन गर्नु नभएको भन्दै उनले नागरिकहरूलाई पनि अफवाहका भरमा नभई तथ्य र प्रमाणका आधारमा मात्र जिम्मेवारपूर्ण प्रश्नहरू सोध्न सचेत गराए।

वडाको विकास र जनताको सेवामा आफू निरन्तर लागिरहेको दाबी गर्दै उनले व्यक्तिगत आक्षेप र राजनीतिक पूर्वाग्रह राखेर गरिने टिकाटिप्पणीले जनप्रतिनिधिको मनोबल गिराउने काम मात्र गर्ने धारणा राखे।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ