+
Search

ताजा अपडेट +

पपुलर +

कराते च्याम्पियनसिपमा दुई स्वर्ण जित्दै ओस्प्रिना तामाङ बंगलादेश जाँदै

डबली खबर
१ महिना अगाडी

असार २६, नुवाकोट । नेपाल कराते फेडेरेसनद्वारा आयोजित दोस्रो युथ कराते च्याम्पियनसिपमा उदाएकी प्रतिभाशाली खेलाडी ओस्प्रिना तामाङ अहिले देशभरका करातेप्रेमीहरूको आशाको केन्द्र बनेकी छन्।

नुवाकोट जिल्लाको म्यागङ गाउँपालिका–५, समरीकी १२ वर्षीया ओस्प्रिनाले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै यू–१२ व्यक्तिगत काता र यू–१२ व्यक्तिगत कुमिते दुवै विधामा स्वर्ण पदक जित्दै डबल च्याम्पियन बन्न सफल भइन्।

उनको यो उपलब्धिलाई केबल व्यक्तिगत सफलताभन्दा बढी नुवाकोट जिल्लाको गौरव र नेपाली करातेको उज्ज्वल भविष्यको संकेतका रूपमा हेरिएको प्रशिक्षक गणेश लामाले बताए ।

विद्यालयस्तरबाटै यति दमदार प्रदर्शन गर्नुले उनमा अन्तर्राष्ट्रियस्तरको सम्भावना स्पष्ट देखिएको छ । ग्रामीण भेगबाट उठेर राष्ट्रिय मञ्चमा दुई स्वर्ण जित्दै अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको यात्रा तय गर्न लागेकी ओस्प्रिनाको सफलता युवा खेलाडीहरूका लागि प्रेरणाको स्रोत बनेको प्रशिक्षक लामाले बताए ।

प्रतियोगिताबाट छनोट भएसँगै ओस्प्रिना अब बंगलादेशको ढाकामा आयोजना हुने १०औं दक्षिण एसियाली कराते फेडेरेसन च्याम्पियनसिपमा सहभागी हुन लागेकी छन्। उनी दुवै विधा– काता र कुमितेमा प्रतिस्पर्धा गर्नेछिन्। आफ्नै खर्चमा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन तयार भएकी उनको यो समर्पण र लगावले सबैलाई प्रभावित गरेको छ।

नेपाल कराते फेडेरेसनले पनि ओस्प्रिनाको प्रदर्शनको प्रशंसा गर्दै उनलाई थप प्रशिक्षण र सहयोग उपलब्ध गराउने बताएको छ।

ग्रामीण क्षेत्रकी बालिकाले देखाएको दृढताले नेपालमा कराते खेलको विकासमा नयाँ उत्साह थपेको छ। ओस्प्रिनाको सफल यात्राले आगामी दिनमा थप नेपाली खेलाडीहरू अन्तर्राष्ट्रियस्तरमा चम्किने आशा जागेको स्थानीयहरु बताउँछन् ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ