+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोट पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

Nuwakot declares full vaccination assurance and sustainability
डबली खबर
४० सेकेण्ड अगाडी

असार ३१, विदुर । नुवाकोट जिल्ला पूर्ण खोप सुनिश्चित तथा दिगोपना प्रमाणीकरण जिल्ला घोषणा भएको छ।

जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका संयोजक रजिन्द्रविक्रमसिंह ठकुरीले नुवाकोटलाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्दै प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।

नुवाकोट जिल्लाभित्रका लक्षित उमेर समूहका सबै बालबालिकाले राष्ट्रिय तालिकाअनुसारका सबै खोप पाएको सुनिश्चित भएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा गरिएको जनस्वास्थ्य कार्यालयका प्रमुख डा. अञ्जु कार्कीले जानकारी दिए ।

उनका अनुसार जिल्लाका १२ वटै पालिकामा गरिएको सर्वेक्षणमा खोप लगाउन कोही पनि नछुटेको पाइएपछि यो घोषणा गरिएको हो । जिल्लाका जन्मेदेखि १५ महिनासम्मका तीन हजार २ हजार ५११ बालबालिका र १६ महिनादेखि २३ महिनासम्मका दुई हजार १७९ बालबालिकाले सबै आवश्यक खोप पूर्ण रूपमा पाएको उनले जानकारी दिईन् ।

पूर्ण खोप सुनिश्चितता अभियानलाई सफल बनाउन योगदान पुर्‍याउने जिल्लाका स्थानीय तह, स्वास्थ्य संस्था, सरोकारवाला निकाय तथा अग्रपंक्तिमा खटिएका महिला स्वास्थ्य स्वयंसेविकालाई कार्यक्रममा सम्मान गरिएको थियो  ।

हाल जिल्लाभर ११० संस्थागत र १०८ बाह्य खोप केन्द्र गरी कुल २१८ खोप केन्द्र तथा २१९ खोप चरणमार्फत खोप सेवा सञ्चालन भइरहेको जनस्वास्थ्य कार्यालयका खोप अधिकृत अमृत महर्जनले जानकारी दिए । अभियानका क्रममा खोप छुट भएका दुप्चेश्वर गाउँपालिकाका १ र तादी गाउँपालिकाका ३ जना गरी ४ जना बालबालिकालाई खोपको दायरामा ल्याएर पूर्ण खोप सेवा प्रदान गरिएको उनले बताए ।

नियमित खोप कार्यक्रमको प्रभावकारी कार्यान्वयनले गर्दा जिल्लामा पाँच वर्ष मुनिका बालबालिका, शिशु तथा नवशिशु मृत्युदरमा उल्लेख्य कमी आएको जनाएको छ। साथै, रुबेला रोग निवारणका लागि २०८२ भदौ २ गते सफलता प्राप्त भएको घोषणा भई विश्व स्वास्थ्य संगठन र युनिसेफका तर्फबाट जिल्लाले सम्मानपत्र प्राप्त गरिसकेको छ।

आगामी दिनमा पनि खोप अभियानलाई थप सुदृढ बनाउन वैशाख महिनालाई खोप महिनाका रूपमा सञ्चालन गर्ने, फागुनमा कक्षा ६ मा अध्ययनरत किशोरीहरूलाई एच.पि.भाइरस खोप दिने, खोप सामग्रीहरूको स्थानीय तहमा उचित व्यवस्थापन गर्ने, खोप कार्यक्रमको डिजिटलाइजेशन गर्ने र नियमित रूपमा सूक्ष्म योजना अध्यावधिक गर्ने रणनीति तय गरिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ