+
Search

ताजा अपडेट +

पपुलर +

सार्वजनिक सुनुवाइ प्रभावकारी बनाउन नागरिकको सक्रिय सहभागिता आवश्यक: उपप्रमुख प्रभा बोगटी

Active participation of citizens is necessary to make public hearings effective Deputy Mayor Prabha Bogati
सुनील श्रेष्ठ
१ घण्टा अगाडी

असार २६, त्रिशूली । सुशासन, पारदर्शिता र उत्तरदायी स्थानीय सरकार सञ्चालनका लागि सार्वजनिक सुनुवाइ कार्यक्रममा एउटा बलियो खम्बा भएको विदुर नगरपालिकाकी उपप्रमुख प्रभा बोगटीले बताएकी छिन्।

नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १ द्वारा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख बोगटीले स्थानीय सरकारले गरेका कामकारबाहीको समीक्षा गर्न र कमीकमजोरी सुधार्न यस्ता कार्यक्रमहरू कोसेढुङ्गा सावित हुने धारणा व्यक्त गरिन्। उनले विदुर नगरपालिकाका सबै वडाहरूमा अपेक्षा गरेअनुरूप सार्वजनिक सुनुवाइ हुन नसकिरहेको अवस्थामा वडा नम्बर १, ५ र नियमित रूपमा गर्दै आएको वडा नम्बर १० ले देखाएको तत्परता प्रशंसनीय रहेको उल्लेख गरिन्। सार्वजनिक निकायलाई जनताप्रति जवाफदेही बनाउन केवल कार्यक्रमको दिन मात्र नभई नागरिकले अन्य समयमा पनि सूचना र सेवा माग गरिराख्नुपर्ने र सरकारले ती विवरण उपलब्ध गराउनुपर्ने उनको भनाइ थियो।

वडाबासीहरूले उठाएका विविध गुनासो र प्रश्नहरूको स्वागत गर्दै उपप्रमुख बोगटीले नागरिक जति सचेत र सक्रिय हुन्छन्, सरकार पनि त्यत्तिको नै जिम्मेवार र कार्यमुखी बन्ने सर्वमान्य सिद्धान्त रहेको स्पष्ट पारिन्।

स्थानीयबासीले लामो समयदेखि उठाउँदै आएको आफ्नै वडा कार्यालय भवन निर्माणको मागप्रति ऐक्यबद्धता जनाउँदै उनले ठूला पूर्वाधारका योजनाहरूमा संघीय र प्रदेश सरकारसँग समन्वय भइरहेको जानकारी दिइन्। वडा कार्यालयको स्थायी व्यवस्थापनका सन्दर्भमा उनले विदुरस्थित नेपाल बैंक लिमिटेडको पुरानो भवनलाई वडा नम्बर १ र २ को संयुक्त कार्यालयका रूपमा प्रयोग गर्न सकिने एउटा वैकल्पिक र व्यावहारिक प्रस्ताव समेत अघि सारिन्। भवन केवल एउटा संरचना मात्र नभई त्यसले नागरिकलाई दिने सेवाको सुगमतासँग जोडिने भएकाले यस विषयमा राजनीतिक दल र स्थानीय सरोकारवालाहरूलाई गम्भीरतापूर्वक छलफल गरी निष्कर्षमा पुग्न उनले आह्वान गरिन्।

कार्यक्रममा उठेको त्रिशूली बजारको खानेपानी समस्याका सम्बन्धमा बोल्दै उपप्रमुख बोगटीले गत वर्षको बाढीपछि बजारबासीले भोग्नुपरेको खानेपानीको संकट निकै कष्टकर रहेको स्वीकार गरिन्। स्थानीय सरकारका तर्फबाट गौरवको योजनालाई समयमै अन्तिम चरणमा पुर्‍याउन नसक्नु र वैकल्पिक व्यवस्थापनमा पर्याप्त ध्यान नपुग्नु आफ्नो कमजोरी रहेको उनले खुला हृदयले स्वीकार गरिन्। हाल यस समस्याको दीर्घकालीन समाधानका लागि गद्याखोला खानेपानी आयोजना अघि बढेको र अल्पकालीन रूपमा पानी शुद्धीकरण र लिफ्टिङका लागि नगरपालिका तथा वडाको समन्वयमा २० लाख रुपैयाँ विनियोजन गरिएको उनले स्पष्ट पारिन्। प्राविधिक सहयोगका लागि प्रदेश सरकारको खानेपानी कार्यालयसँग समेत समन्वय भइरहेकाले आगामी दिनमा त्रिशूली बजारमा शुद्ध खानेपानीको आपूर्ति सुनिश्चित हुनेमा उनले विश्वास व्यक्त गरिन्।

सार्वजनिक तथा विद्यालयका जग्गाहरू भाडामा दिँदा प्राप्त हुने आम्दानी र क्रियापुत्री भवन लगायतका संरचनाहरूको व्यवस्थापनमा पारदर्शिता हुनुपर्नेमा उनले जोड दिइन्। विद्यालयको जग्गा लिजमा दिइएको भए त्यसको रकम सिधै विद्यालयकै खातामा आउनुपर्ने र व्यक्तिगत रूपमा कसैले पनि सरकारी वा सार्वजनिक सम्पत्तिको उपभोग गर्न नपाउने कानुनी व्यवस्था रहेको उनले स्मरण गराइन्। यस्ता विषयमा कतै अनियमितता वा मिलेमतो भएको आशंका लागेमा मौन नबसी जिल्ला प्रशासन कार्यालय वा अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता माथिल्ला निकायमा सिधै उजुरी गर्न उनले नागरिकहरूलाई आग्रह गरिन्।

बजार क्षेत्रका कतिपय खेलमैदान तथा पूर्वाधारका बजेटहरू उपभोक्ता र स्थानीयको न्यून सहभागिताका कारण फ्रिज हुने गरेको अनुभव सुनाउँदै उनले सामाजिक काममा बजारबासीको पनि उत्तिकै साथ र सहयोग आवश्यक रहेको औंल्याइन्।

वडा नम्बर १ राजस्व संकलनमा नगरपालिकाकै उत्कृष्ट वडा रहेको तथा कानुन बमोजिम वडा भेला गरेर बजेट ल्याउने परिपाटीलाई निरन्तरता दिएको भन्दै उनले वडा परिवारलाई धन्यवाद समेत ज्ञापन गरिन्।

महिला लक्षित उद्यमशीलता र सिलाईकटाई जस्ता तालिमहरूमा लक्षित वर्ग छनोट गर्दा कतिपय ठाउँमा विभेदकारी व्यवहार भएको जनगुनासो आएको प्रति ध्यानाकर्षण गराउँदै उनले त्यस्ता कमजोरीहरूलाई तत्काल सच्याइने प्रतिबद्धता जनाइन्।

व्यक्तिहरू परिवर्तन भए पनि संस्थाहरू स्थायी रहने भएकाले स्थानीय नागरिकले रचनात्मक आलोचना र खबरदारी जारी राख्नुपर्ने बताउँदै उपप्रमुख बोगटीले स्थानीय सरकार सधैं जनताको आधारभूत आवश्यकता परिपूर्ति गर्न केन्द्रित रहने कुरा दोहोर्‍याइन्।

लेखकको बारेमा

सुनील श्रेष्ठ

ट्रेन्डिङ