१६ मङ्सिर, नुवाकोट । महालेखा नियन्त्रक कार्यालयले स्थानीय तहहरूमा राजस्व भुक्तानी प्रक्रियालाई थप सरलीकरण गर्दै ‘लोकल रेभिन्यु-एलएलआरपी‘ नामक मोबाइल एप्लिकेसन सञ्चालनमा ल्याएको छ।
महालेखा नियन्त्रक कार्यालयले एक सूचना जारी गर्दै स्थानीय तहहरूको सञ्चित कोष व्यवस्थापन प्रणालीमा गत २०७९ साल माघ महिनादेखि राजस्व मोड्युल लागू भएतापनि करदाता र सेवाग्राहीको सुविधाका लागि २०८० साल चैत महिनादेखि अनलाइन राजस्व बुझाउन मिल्ने ‘लोकल रेभिन्यु पोर्टल‘ सञ्चालनमा आइसकेको थियो। अहिले त्यसैको निरन्तरता स्वरूप मोबाइल एप्लिकेसन तयार पारिएको जनाएको छ।
हाल यो मोबाइल एप्लिकेसन एन्ड्रोइड सिस्टम प्रयोगकर्ताहरूका लागि गुगल प्ले स्टोरमा डाउनलोड गर्न सकिने व्यवस्था गरिएको छ।
करदाता वा सेवाग्राहीले सो एप्लिकेसन डाउनलोड गरी सर्वप्रथम आफ्नो एकाउन्ट (खाता) सिर्जना गर्नुपर्नेछ। एकाउन्ट सिर्जना गरिसकेपछि सम्बन्धित स्थानीय तहमा तिर्नुपर्ने राजस्व तथा शुल्कहरू उक्त मोबाइल एप्लिकेसनमार्फत नै भुक्तानी गर्न सकिनेछ।
यसरी राजस्व बुझाउन सकिने व्यवस्था गरिएको जानकारी सबै करदाता र सेवाग्राहीलाई गराउन तथा उक्त मोबाइल एप्लिकेसनको अधिकतम प्रयोग गरी राजस्व बुझाउने व्यवस्था मिलाउन महालेखा नियन्त्रक कार्यालयले समस्त स्थानीय तहहरूलाई अनुरोध गरेको छ।
यसले राजस्व सङ्कलनलाई थप डिजिटलाइज गरी आम नागरिकलाई भुक्तानी गर्न सहज हुने विश्वास लिइएको छ।
उक्त एप्लिकेसन प्रयोग गर्ने विधिबारेको युजर म्यानुअल (प्रयोगकर्ता पुस्तिका) समेत सूचनासँगै संलग्न रहेको बताइएको छ।



















प्रतिक्रिया