sujim bazar advert

स्मृतिबिम्बमा न्युयोर्क

श्रीराम श्रेष्ठ     साउन ११, २०८२

Sizen Education Consultancy Pvt. Ltd.

shreeram_shrestha newyork visit article
Big Education Consultancy Nuwakot
global ime bank flash loan

संयुक्त राज्य अमेरिकाको पूर्वतिर पर्ने सबैभन्दा ठुलो सहर हो– न्युयोर्क । अमेरिकाको सबैभन्दा बढी जनसङ्ख्या रहेको यस सहर वाशिङ्टन डिसी र बोस्टनको बिच भागमा पर्दछ । सांस्कृतिक, वित्तीय, आर्थिक रूपमा शक्तिशाली मानिने न्युयोर्कको अर्थतन्त्रले विश्वको अर्थतन्त्रलाई नै प्रभाव पार्दछ । न्युयोर्क स्टक एक्सजेन्ज र नैस्डेक जस्ता विश्वको प्रसिद्ध सेयर बजारको मुख्यालय यहीँ रहेका छन् । टेक्नोलोजी, स्टार्टअप्समा अब्बल रहेको न्युयोर्क सहर मनोरञ्जनको केन्द्र, मिडिया हाउस प्रोडक्सन स्टुडियोजस्ता स्थायी थलोको रूपमा विकसित भएको छ । न्युयोर्कको राजधानी अलवानी हो । यस सहरको भूगोल न्युजर्सी, कनेक्टिक, मैसाचुसेट्ससँग जोडिएको छ । वित्तीय, स्वास्थ्य, शिक्षा, कला, पर्यटन आदिले गर्दा रोजगारीको अवसर मिलेको छ । न्युयोर्कलाई बिग एप्पलको नामले पनि चिनिन्छ । विश्व प्रसिद्ध न्युयोर्क सहरको बारेमा जानकारी लिनका लागि जो कोही उत्सुक हुन्छन् । संयुक्त राज्य अमेरिकाको भूमिमा टेकेपछि न्युयोर्क जान सबै लालयित नै हुन्छन् । अमेरिका यात्राको तेस्रो पटकमा म बल्ल यो मायावी सहर घुम्दैछु । यस अवसरमा म आफैँले आफैँलाई धन्यवाद दिइरहेको छु ।

जीवनमा पहिलो पटक आएको मोहनी सहर हो यो जसले संसारलाई आकर्षित गरिरहेको छ । यहाँ अर्को पटक आउन सम्भव रहला या नरहला ! तैपनि न्युयोर्कका बारेमा धेरथोर जानकारी मैले पहिले नै लिइसकेको थिएँ । मेरो मानसपटलमा न्युयोर्कको सरोफेरो बारे टिपोर्ट भइसकेको थियो ।

टेक्सासबाट मेरो न्युयोर्क जॉन डोमेस्टिक एयरलाइन्समा साढे चार घण्टा लाग्ने रहेछ । टेक्सासबाट राती आठ बजे उडेको जहाज मध्यरात साढे बाह्र बजे न्युयोर्क एयरपोर्टमा ल्यान्ड भएको थियो । मलाई त्यहाँ लिनका लागि नुवाकोट मदानपुर निवासी मित्र राजु अधिकारी आएका थिए । उनले मलाई आफ्नै निवासमा लगे । त्यहाँ हामी दुबै जना मिलेर खाना खायौँ । आपसमा कुराकानी गर्दा गर्दै रातको तीन बजिसकेको थियो । निद्रा पनि लागिरहेको थियोे त्यसैले सुत्ने तरखरमा लाग्यौँ । दिनभरिको थकानले गर्दा सुतेको केही समयपछि नै भुसुक्कै निदायौँ । निद्रा त न्युयोर्क र नेपालको उस्तै हुने रहेछ ।

बिहान उठ्दा न्युयोर्कलाई घामले उज्यालो बनाइसकेको थियो । रातलाई उज्यालो बनाउने बत्तीहरू सबै दिउँसो आराम गर्दै थिए । न्युयोर्कको डाउनटाउन एरियाभन्दा यतिखेर हामी बाहिरै थियौँ । मित्र राजुले खाना खाएर मात्र घुमफिरका लागि निस्कने कुरा उठ्दा नै बताइसकेका थिए । हामीले त्यसै गर्‍यौँ । जीवनमा पहिलो पटक आएको मोहनी सहर हो यो जसले संसारलाई आकर्षित गरिरहेको छ । यहाँ अर्को पटक आउन सम्भव रहला या नरहला ! तैपनि न्युयोर्कका बारेमा धेरथोर जानकारी मैले पहिले नै लिइसकेको थिएँ । मेरो मानसपटलमा न्युयोर्कको सरोफेरो बारे टिपोर्ट भइसकेको थियो ।

न्युयोर्कको महत्त्वपूर्ण ठाउँ जस्तै टाइम्स स्क्वायर, इम्पाइर स्टेट बिल्डिङ, स्टेट अफ लिभर्टी, वल्ड ट्रेड सेन्टर, इज न्युयोर्क, ब्रुक्लिन ब्रिज, सेन्टर पार्क, टप अफ द राक, अन्डरग्राउन्ड रेलमार्ग, ज्याक्सन हाइट आदिको नाम नोट बुकमा टिपोट गरेँ । सेडुलअनुसार न्युयोर्कमा दुई दिनको बसाइ छ । सबै ठाउँमा घुम्न भ्याइने हो वा होइन भन्ने कतुहलता मनमा सोइसाला खेलिरहेको छ । मित्र राजु अधिकारीलाई उक्त कुरा भनेँ । भ्याएसम्म सबै ठाउँमा पुगौँला भन्ने उनको भनाइले म निकै विश्वस्त भएँ । यो एक प्रकारको हौसला पनि थियो । म हौसिएँ । उनी अमेरिका आएको दश वर्ष भएछ । सुरुवाती दिनदेखिको अमेरिका बसाइमा भोगेका सुखदुःखको उनको पोको निकै ठुलो आकारको थियो । दश वर्षे अमेरिका बसाइका क्रममा उनले राम्रो व्यवस्था गर्न सकेका छन् । त्यो व्यवस्थामा उनको जाँगर र मिहिनेत टल्किरहेको थियो । अल्छी मानिसले आफैँलाई ढाँट्छ र आफैँदेखि डराउने मानिसले सफलता पनि हात पार्छ भन्ने उनको आफ्नै प्रकारको जीवनदर्शनबाट म प्रभावित पनि भएँ ।

निकै फरासिला मित्रसँगको भलाकुसारीले बिहान खाएको पत्तै भएन । खाना खाँदा मध्यान्हको साढे बाह्र बजिसकेको थियो । केही समय आराम ग¥यौँ । दिउँसो एक बजे हामी बासस्थानबाट बाहिर निक्ल्यौँ । अमेरिकाको हरियाली भूूमि, चौडा पक्की सडक, सडक पेटीमा रोपिएका रङ्गीचङ्गी फूलहरू, दुईतले मोटर बाटो, सफा सुग्घर वरिपरिको वातावरण, ठाउँठाउँमा ट्राफिक लाइट र सिग्नलहरू, व्यवस्थित घरहरू, सबै ठाउँमा एकै प्रकारको देखिने यहाँको विकास व्यवस्थापनले नै हो हामीजस्ता तेस्रो संसारको मानिसलाई आकर्षित गर्ने । यस्तो त हामी पनि गर्न सक्छौँ तर केले रोकिरहेको छ कुुन्नि ! मनमा एक प्रकारको चिन्ता फैलिएको छ । बाटोको बायाँतिर गगनचुम्बी भवनहरू लहरै देखिरहेका छौँ । न्युयोर्क सहरको बस्ती रहेछ त्यो । गाडीमा लामै यात्रा गर्दा पनि भवनको निरन्तरता कायमै छ । अब भने सहरको डाउनटाउन नजिकै दायाँबायाँतिर दुुई किसिमका घरका संरचना देखिँदै छ । एउटा आधुुनिक प्रकृतिको छ भने अर्को चाहिँ अलि पुुरानो हो कि झैँ लाग्दै छ । सिमेन्ट जडित भवनहरू अनगिन्ती र कलात्मक भवनहरू थोरै देखिरहेका छौँ । सहरको सुुन्दरताका लागि यो आवश्यक हुन्छ भन्ने लाग्यो । हिँड्दा हिँड्दै केही समय ट्राफिक जाममा प¥यौँ । बुझ्दा मोटर दुर्घटना भएको रहेछ । दुर्घटना हुनेबित्तिकै अमेरिकन प्रहरी र दमकल आइपुुगिहाल्दा रहेछन् । फराकिलो बाटो भएकाले यहाँ प्रायः जाम हुँदैन ।

हामी ब्रक्लिन ब्रिज आइपुग्यौँ । दुई सय वर्षअगाडीको यो ब्रिजले आफ्नै खाले इतिहास बोकेको छ । उन्नाइसौँ शताब्दीको अन्त्यतिर बनेको यो पुल कुनै बेला विश्वकै लामो निलम्बर पुल मानिन्थ्यो । जोन रोब्लिङले यस पुुलको डिजायन गरेका थिए तर उनले पूरा बनाउन पाएनन् । उनको निधन भएपछि उनका छोरा वासिङ्टन रोब्लिङले जिम्मा लिए र सन् १८८३ मा निर्माण सम्पन्न भयो । पुललाई अड्याउन दुई वटा टावरहरू खडा गरी लठ्ठाहरू तानिएका छन् । ब्रुकलिन र म्यानह्याटन क्षेत्रलाई यो पुलले जोड्दछ । यसमा सवारी यातायात, साइकल लेन पैदलयात्रुलाई छुट्टाछुट्टै लेन रहेको छ । यो पुल औद्योगिक युगको प्रविधि, वस्तुकला र मानव साहसको प्रतीक हो । झन्डै अढाइ सय वर्षअघि निर्माण भएको पुल समयसमयमा मर्मत र सुधार हुँदै आएको जानकारी प्राप्त भयो । पृथक प्रकारले निर्माण भएको पुललाई नजिकबाट स्पर्श गरेँ । पुल नजिक सशुल्क पार्किङमा गाडी राखेर हामी पाँच मिनेटको पैदल हिँडाइपछि पुलमा पुग्यौँ । हामीले हिँडेरै पुलको वारिपारि गर्‍यौँ । यसको लम्बाइ लगभग १८३३ मिटर रहेछ । यसको सस्पेन्सन स्पान (मुख्य भाग) नै ४८६ मिटर रहेछ । पुलमाथि मोवाइलका क्यामराले सेल्फी खिच्यौँ । आन्तरिक तथा बाह्य पर्यटकहरू प्रसस्तै देखिइरहेका छन् ।

पुलमाथिको सडकमा भेटिएका गाडी र मान्छेहरूको भिड छिचोल्दै गाडी पार्किङमा पुग्यौँ । पार्किङ प्याक भएका कारण ठाउँ खोज्दै बसेका गाडीहरूसमेत लामबद्ध थिए । गाडी लिएर हामी ब्रुुक्लिनब्रिज पार गर्दै स्थानीय ज्याक्सन हाइटमा पुग्यौँ । दिउँसोको तीन बजेको थियो । भोक लाग्या जस्तो भयो । खाजा खान होटेल रेस्टुरेन्ट खोज्दै हिँड्यौँ । नेपाली रेस्टुरेन्ट लेखेको बोर्ड देख्यौँ । हामी त्यहीँ रोकियौँ । रेस्टुरेन्टमा नेपाली परिकारहरू सेलरोटी, बारा, चटामरी, सेकुवा, भुटन चाउमेन, मःम इत्यादि देखिइरहेका थियौँ । खाजा खाने समय भएकाले होला रेस्टुरेन्टमा पनि मान्छेहरूको भिड उत्तिकै थियो । हामीले आआफ्ना रुचिका खाजा खायौँ । वरिपरि पार्क, पोखरी, बजार, म्युुजियम, रेलवे स्टेसन आदि भएका कारण यहाँ खानपिनका लागि मानिसहरूको जमघट हुने गर्दछ । विभिन्न देशका खानाका परिकारका लागि भिन्न भिन्नै रेस्टुरेन्टहरू सञ्चालन गरिएका छन् । खानपिनका लागि दिन र रात ज्याक्सन हाइट क्षेत्र सदैव खुल्ला रहन्छ । उच्च ठाउँमा रहेको हुँदा यहाँको व्यापारी गतिविधि केही महङ्गो रहेछ ।

न्युयोर्क सहर मोटरबाटो र रेलमार्गबाट यात्रा गर्न सकिन्छ । सहरको व्यस्त बजार अर्थात् डाउनटाउन क्षेत्रमा भिडभाड हुनाले मोटरद्वारा यात्रा गर्ने प्रयास गर्न सम्भव हुदैन । दिनहुँ हजारौँ सङ्ख्यामा यात्रुहरूको आवातजावात हुने गर्दछ । यहाँको हिँड्डुलका साधन भनेको नै जमिनमुनिको रेलमार्ग हो । असङ्ख्य मात्रामा मानिसहरू जमिनमुनिको रेल चढ्न आतुर छन् । हामी पनि मिसियौँ त्यो भिडमा । प्रवेशद्वारमा स्वचालित यन्त्र छ । हामीसँग भएको पत्र भिडाएर भित्र पस्न पाइन्छ । भूमिगत रेलमार्ग हेर्दा अचम्म लाग्ने किसिमको छ । चार तहको रेलमार्ग । दुवैतर्फबाट रेल आउने र जाने क्रम चलिरहेको छ । सञ्चालित रेलगाडी पुरानो जस्तो देखिन्छ । रेल आउँदा र जादाँको आवाज चर्को सुनिन्छ । हामी रेलमा चढ्यौँ । कुनै पनि रेल धेरै समय रोकिँदोरहेनछ । बिनाचालकको रेल बेतोडले दौडिरहेको छ । स्टेसनमा आफैँ रोकिने र जाने अचम्मको व्यवस्थापन छ । घण्टौ घण्टासम्म रेल दौडन्छ निरन्तर । जमिनमुनिको कडा चट्टान फोडेर लामो रेलमार्ग निर्माण गरेको देख्दा अचम्म लाग्यो । गरे के हुन् र ! हामीले त नगरेको मात्रै हो । यो रेलमार्गलाई विश्वमा सबैभन्दा पुरानो र भरपर्दो मानिन्छ । उक्त रेलमार्गले म्यानहट्टन, रानी, ब्रुकलिन र ब्रोन्क्सजस्ता ठाउँहरूलाई जोड्ने काम गरेको छ । यो रेलमार्ग न्युयोर्कको महानगरी यातायात प्राधिकरणद्वारा नियन्त्रित रहेछ ।

रेल यात्राको क्रममा हामी स्टेट अफ लिभर्टी गयौँ । संयुक्त राज्य अमेरिका स्वतन्त्रताको घोषणाका बेला दासत्वको उन्मूलनको प्रतिनिधित्व स्वतन्त्रताको मूर्तिले गरेको छ । यो विशाल मूर्ति मानव आत्माको उत्कृष्ट नमुुना हो । यो मूर्ति न्युयोर्कको बन्दरगाह द्वारमा अर्थात् हङसन नदीको बिच भागमा रहेको छ । नदीको चारैतिर फलामे डन्डीले घेरिएर बिच भागमा पर्खाल निर्माण गरी मूर्ति राखिएको छ । फलामको धातुबाट बनेको पूर्ण कदको मूूर्तिलाई रोमन देवीको प्रतीक मानिन्छ । महिला स्वतन्त्रताको अनुहार कलाकारको आमामा परिकल्पना गरिएको छ । शरीरमा कपडा ढाकेको मूर्तिले दाइने हातमा मसाल र देव्रे हातले किताब बाकेको देखिँदै छ । सारांशमा मूर्तिले मसालको ज्वाला बोकेर उज्यालो छर्न खोजेको आभास हुन्छ । मूर्तिको उद्देश्य र डिजाइन यसको निर्माण समयदेखि सुरक्षित गरिएको छ । यो मूर्ति जीस्टार हफेलसँग मिलेर मूर्तिपूजक भुड्रिक बरफेइटीद्वारा डिजाइन गरिएको बुझियो । मूर्तिले अमेरिकाको अर्थ र भूमिका बोलिरहेको अनुमान गर्न सकिन्छ ।

हामी स्टेट अफ लिभर्टी भूमिमा टहलिँदा साँझ पर्न लाग्यो । त्यस ऐतिहासिक ठाउँबाट ओझेल पर्दै न्युयोर्कको डाउनटाउनतर्फ लाग्यौँ । आजको रङ्गीन साँझ त्यहाँ गएर बिताउनु छ । त्यस ठाउँलाई टाइम स्क्वायर पनि भनिने रहेछ । टाइम स्क्यावर विश्वको सबैभन्दा बढी भ्रमण गर्ने ठाउँ हो । यो क्षेत्रलाई संसार कै क्राउडरोड भनेर चिनिन्छ । जब साँझ ढल्कदै छ मान्छेको भिड बाक्लिँदै छ । हजारौँको सङ्ख्यामा पर्यटक आउने जाने क्रम निरन्तर चलिरहेको छ । फराकिलो बाटोको दायाँबायाँ ठुुला ठुुला डिजिटल बोर्डमा विज्ञापन प्रसारण भइरहेको छ । बाटाका बिचमा समूह समूह बनेर मान्छेहरू नाँच्ने, गाउने, नाटकीय रूप प्रदर्शन पनि गरिरहेका छन् । वरिपरि बार रेस्टुरेन्टको व्यवस्था छ । बिजुली बत्ती र डिजिटल बोर्डको रङ्गीन दृश्यले मनलाई नै उत्तेजित तुल्याइदिँदो रहेछ । टाइम स्क्वायरको दक्षिणतिर एउटा स्तम्भ राखिएको छ । जहाँ जानका लागि छिँडी उक्लनु पर्दछ । त्यस छिँडीमा उभिनुुका साथै फोटो खिचाउनेको भिड पनि देखिरहेका छौँ । टाइम्स स्क्वायरको आर्थिक गतिविधिले अमेरिकाको अर्थतन्त्रमा थप मद्दत पु¥याएको सहजै अनुमान गर्न सकिन्छ । रातको साढे दश बजिसकेको छ । समय– गएको पत्तै भएन । हामी पुनः हिजै बसेको ठाउँमा गएर विश्राम लियौँ ।

न्युयोर्क बसाइको हिसाबले तेस्रो र घुमफिरको हिसाबले दोस्रो दिन । आज न्युयोर्कको महत्त्वपूर्ण ठाउँहरू घुमेर फर्किनु छ । बिहानको नास्ता खाँदै खाना खानका लागि ज्याक्सन हाइटमा जाने निश्चित भइसकेको छ । घुमफिरका लागि वर्ड ट्रेड सेल्टर प्रवेश गर्ने र बाँकी रहेको ठाउँमा समय मिलाएर घुम्ने योजना बनेको छ । कार्य तालिका अनुसार नै हामी अघि बढ्यौँ ।

हामी अहिले पूर्व निर्धारित ठाउँमा आएका छौँ । दोस्रो विश्व युद्धले विश्वका धेरै मुख्य सहरहरू नष्ट भएको थियो । तर अमेरिकालाई असर परेन । विश्वका धेरै विदेशी व्यवसायीलाई अमेरिकामा सारियो । जसका कारण न्युयोर्कमा रहेको वर्ड ट्रेड सेन्टर नै व्यवसायिक बजारको केन्द्र बन्यो । सो भवनलाई जुम्ल्याहा टावर्सको रूपमा लिइन्छ । सर्वोच्च कल्पनाको डिजाइनमा बनेको उक्त टावर्सलाई अमेरिकाको प्रतीक मानिन्छ । विश्व व्यापार केन्द्रको भवन निर्माण गर्न अमेरिकन डलर पाँच हजार पाँच सय ७५ करोड खर्च भएको थियो । सो भवनको निर्माण गर्न आठ हजार मानिसहरूले काम गरेका थिए । सन् २००१ सेप्टेम्बर ११ मा चरमपन्थीहरूको विभिन्न समूहले ४ वटा हवाइजहाजमार्फत् आक्रमण गरेको थियो– पहिलो र दोस्रो वर्ड ट्रेड सेन्टरमा । तेस्रो वासिङटन डिसीको बाहिर पेन्टागन भवनमा र चौथो केन्द्रीय पेन्सल्भेनियामा । यो अमेरिकाका लागि घातक आतङ्कवाद थियो । पूर्ण रूपमा क्षति भएको वल्र्ड ट्रेड सेन्टरको जग उतारेर अहिले म्यूजियम बनाएको छ । तत्काल उस्तै संरचनामा जुम्ल्याह टावर्स नजिकै म्युजियम निर्माण गरेको छ । स्थापित म्यूजियम अवलोकन गर्नका लागि पर्यटकको घुँइचो नै लाग्छ । टावर आक्रमणमा मर्नेहरूको नाम शिलामा लेखिएको छ । ती मर्नेहरूको नाम हेर्दा नेपालीको पनि नाम देखियो । मर्नेहरूप्रति आत्मादेखि भावुुक हुँदै श्रद्धा सुमन व्यक्त गरेँ ।

न्युयोर्कमा रहेको टावरहरूमध्ये इम्पायर स्टेट विल्डिङ पनि त्यक्तिकै महत्त्वपूर्ण छ । विशिष्ट र प्रसिद्ध १०३ तलाको यो बिल्डिङ म्यानहट्टमा नै रहेको छ । यस भवन निर्माणको बेला विश्वमा अग्लो भवन बनाउने होडबाजी चलेको थियो । थुमा र हानेन भन्ने आर्किटेक्टरद्वारा भवनको डिजाइन गरिएको रहेछ । विनिमय सङ्ग्रालयको रूपमा स्थापित टावरमा अवलोकन र अन्य कामले आउने सङ्ख्यामा कमी आएको छैन । तल्लो तलाबाट माथिल्लो तलासम्म लिफ्टको व्यवस्था गरिएको छ । टावरको ८० औँ र १०२ औँ कोठाहरूबाट दृश्यावलोकन गर्न सकिन्छ । यहाँबाट न्युयोर्क, पेन्सिलभेनिया, कर्नेक्टिकट, म्यालेचुसेट्स, डेलास्केयर, न्युुजर्सीजस्ता सहरहरूलाई नजिकबाट नियाल्न पाइन्छ । केही कोठाहरू सार्वजनिक अवलोकनका लागि व्यवस्था मिलाएको छ । रातको समयमा पनि टावरमा उज्यालो दृश्य देख्न सकिन्छ ।

न्युयोर्कको डाउनटाउन नजिकै टप अफ द रक रहेको छ । यो स्काइलाइनको अद्भुुत दृश्य हो । प्लाजाको माथिल्लो भागको स्काइलिफ्ट गोलाकार, खुल्ला सयर फाइबर ग्लास प्लेटफर्मबाट बनेको छ । यस ठाउँमा मान्छेहरू एक घण्टासम्मको समय खर्च गर्दछन् । यहाँको आकाश सफा र खुल्ला छ । अवलोकन गर्ने क्रममा रोकलफेलर केन्द्रको इतिहास, कला र आर्किटेक्चरको अनुभव बटुल्न सकिन्छ । यहाँ जानका लागि युएस ३५ डलरको टिकट काट्नु पर्दो रहेछ । त्यहाँ जानका लागि लिफ्टको पनि व्यवस्था रहेको छ । प्लाजामा अनेक सुुविधाहरू रहेका छन् । साँझपख प्लाजाबाट सूर्यास्त भएको दृश्य नजिकबाट देख्न सकिन्छ । त्यहाँ पुग्नेहरूका लागि यो नौलो अनुभव हुने रहेछ ।

न्युयोर्क विश्व व्यापार, वाणिज्य संस्कृति, फेसन र मनोरञ्जनको स्थापित केन्द्र हो । संयुक्त राष्ट्रका मुख्यालय पनि यहीँ रहेको हुँदा यस क्षेत्रले प्रसिद्धि पाएको छ ।

न्युयोर्कको उच्च किनारामा प्लाजा जस्तै इड्ज न्युयोर्क पनि त्यत्तिकै प्रसिद्ध छ । यो बनाउन सिसाको प्रयोग गरिएको छ । कडा सिसाबाट बनेका भुइँहरूमा टेक्दा हावामा उडिरहेको आभास हुन्छ । यहाँबाट म्यानहट्टन सडकका साथै सूर्यास्त पनि अवलोकन गर्न सकिन्छ । साँझपख सँगै रहेको नदीको धुमिल दृश्य हेर्दा समुद्र जस्तो देखिन्छ । यहाँको अवलोकन गर्ने मान्छेको उमेर अनुसारले टिकट दर निर्धारण गरिएको छ । यहाँको सबैभन्दा रमाइलो दृश्य प्लेटफर्म हो । सशुल्क पार्किङ व्यवस्था, सुविधायुक्त बार रेस्टुरेन्ट, लक्जरी सपिङमलको व्यवस्थाले गर्दा यस क्षेत्रमा पर्यटकहरूको आगमनमा वृद्वि भएको छ ।

अमेरिकाको बस्ती रहेको प्रायः जसो ठाउँमा पार्कहरू रहेका हुन्छन् । यो त्यहाँको विशेषता नै हो । पार्कहरूमा हिँडडुल गर्न, शीतलता अनुभव गर्न, पिकनिक खान, पारिवारिक भेटघाट गर्नका लागि निःशुल्क मिल्दछ । तर केही पार्कहरूमा सशुल्क प्रवेशको व्यवस्था गरिएको हुन्छ । न्युयोर्कको म्यानहट्टनमा रहेको सेन्टर पार्क निकै फराकिलो छ । अमेरिकामा मात्र होइन संसारभरिकै ठुला पार्कमध्ये यो पनि एक हो भनिन्छ । खेल मैदान, झरना, स्मारक, ताल, चिडियाघर, थिएटर, आकासे पुल आदि रहेको मानव निर्मित पार्क हेर्दा निकै मनमोहक छ । हक्की खेल, फिल्म शुट, फोटो शुट, वोटिङ, साइकिलिङ, वाइकिङ, फिल्म टिभी हेर्न पाउने सुविधा पनि यहाँ रहेको छ । पोखरीको आकासे पुलमा मान्छेहरू हिँडडुल गर्न औधी मन पराउँछन् । वर्षायाममा घाम अस्ताएपछि पार्कको हरियो चौरमा बस्नेहरूको संङ्ख्या अधिक रहने गर्दछ । पार्कमा हिउँदयाममा हिउँ परेको बेलामा स्केटिङ खेल्नेहरूको जमात पनि उस्तै हुन्छन् रे । यो पार्कमा आधा दिन सजिलै बिताउन सकिन्छ । प्रत्येक वर्ष हजारौं हजारको सङ्ख्यामा यहाँको पार्क अवलोकन गर्न मान्छेहरू आउँछन् । अर्किटेक्चर, कलाकृति, प्राकृतिक सौन्दर्यका पारखीहरूका लागि यो विशेष गन्तव्य रहन सक्छ । न्युयोर्कमा गएपछि यस पार्कमा नपुग्दा खल्लो अनुभव हुन्छ भन्ने लाग्यो ।

अन्तमा, न्युयोर्क विश्व व्यापार, वाणिज्य संस्कृति, फेसन र मनोरञ्जनको स्थापित केन्द्र हो । संयुक्त राष्ट्रका मुख्यालय पनि यहीँ रहेको हुँदा यस क्षेत्रले प्रसिद्धि पाएको छ । छोटो बसाइमा पनि न्युयोर्कलाई नजिकबाट नियाल्ने अवसर प्राप्त भयो । दुई दिनसम्मको न्युयोर्क घुमाइका स्मृतिहरूलाई मानसपटलमा सँगाल्दै त्यहाँबाट हामी न्युजर्सीतर्फ लाग्यौँ ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top