स्वरोजगर शब्द दुई शब्दबाट बनेको छ, जसमा स्व अर्थात् आफैं र रोजगार अर्थात् जीविकोपार्जनको लागि गरिने काम वा पेश हो । शाब्दिक रूपमा आफैले गर्ने रोजगार नै स्वरोजगार हो । अर्थात् जब कुनै व्यक्ति वा समूहले आफ्नो सीप, स्रोत र साधनको प्रयोग गरी स्वतन्त्र रूपमा काम वा व्यवसाय गर्छ भने त्यसलाई नै स्वरोजगार भनिन्छ ।
सामान्य अर्थमा, अरूको अधीनमा काम गर्नुको सट्टा आफ्नो लगानीमा स्वतन्त्र रूपमा आर्थिक गतिविधि सञ्चालन गर्नु स्वरोजगार हो । जस्तैः कृषि व्यवसाय, साना उद्योग तथा उद्यम, सिलाई कटाई, हस्तकला, व्यापार आदि । स्वरोजगार व्यक्तिले समाज तथा देशको आर्थिक समृद्धिका लागि महत्तवपूर्ण भुमिका खेल्छ । स्वरोजगारले आफूलाई मात्र नभई अरूलाई पनि रोजगारी दिएर आर्थिक आफ्नो आत्मनिर्भरता वृद्धिमा मदत गर्छ । आफैंले व्यवसाय सञ्चालन गर्दा नयाँ सीप सिक्ने र पहिले सिकेका सिपहरुको प्रयोग गर्ने अवसर पनि प्राप्त हुन्छ। स्थानीय स्तरमा नै रोजगारीको सृजना भएर समाजमा आर्थिक विकासको गति तिब्र हुन्छ। स्वरोजगारले एक व्यक्तिलाई धेरै क्षेत्रमा काम गर्न प्रेरित गर्ने हुनाले एकल आम्दानीको श्रोतमा निर्भर रहनु पर्दैन । स्वरोजगार गर्दा समय व्यबस्थापन आफ्नो तरिकाले गर्न पाइने हुँदा व्यक्तिगत तथा व्यवसायिक जीवनमा सन्तुलन ल्याउन पनि सहज हुन्छ । स्वरोजगारको वृद्धि हुँदा मुलुकको नै कुल ग्राहस्थ उत्पादनमा वृद्धि हुन गई समग्र राष्ट्रको नै विकास हुन्छ ।
भूबनोट, प्राकृतिक सम्पदा र हावापानीले स्वर्ग जस्तै हाम्रो देश नेपालमा स्वरोजगारका अनेकौं सम्भावनाहरू रहेका छन् ।
भूबनोट, प्राकृतिक सम्पदा र हावापानीले स्वर्ग जस्तै हाम्रो देश नेपालमा स्वरोजगारका अनेकौं सम्भावनाहरू रहेका छन् । जसले व्यक्तिलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन सक्छ र देशको समग्र विकासमा योगदान दिन सक्छ। सर्वप्रथम त मानव सभ्यताकै सबैभन्दा पुरानो मानिने पेशा कृषिको ठूलो सम्भावना देखिन्छ । हिमालदेखि तराईसम्मको माटो, हावापानी आदिमा पाइने विविधतामा लाखौं सम्भावना रहेका छन् । जैविक खेती, आधुनिक कृषि प्रविधिको प्रयोग जस्ता नवीनतम माध्यमको विकास गरी फलफूल, तरकारी, पुष्प, मसला (अदुवा, अलैँची, बेसार) आदिको उत्पादन गर्न सके विश्व बजारमा बिक्री गरी विदेशी मुद्रा आर्जन गर्न सकिन्छ। हजारौं ताल, तलैयाको देश नेपाललाई माछा पालनको केन्द्र बनाई आयआर्जन गर्न सकिन्छ ।
प्रकृतिका अनुपम सौन्दर्यताको, सांस्कृतिक सम्पदाको, धार्मिक स्थलको प्रवर्धन गरी पर्यटन व्यवसायलाई स्वरोजगारको माध्यम बनाउन सकिन्छ। नेपालको पर्यटन सम्भावना तथा आतिथ्य सेवालाई नै प्रयोग गरेर होटल, रेस्टुरेन्ट, होमस्टे व्यवसाय सञ्चालन गर्न सकिन्छ । साथसाथै पर्यटकका लागि ट्रेकिङ गाइड, ट्राभल एजेन्सी आदि सञ्चालन गरेर पनि आत्मनिर्भर बन्न सकिन्छ । नेपालका अद्भुत हस्तकला तथा लोककलाका सामग्री बिक्री समेत गर्न सकिन्छ । नेपालका मौलिक सीपहरु जस्तै ढाका कपडा, हस्तकला, अगरबत्ती, माटाका भाँडा, घरेलु सजावटका सामग्री आदिलाई उपयोग गरी साना तथा घरेलु उद्योग सञ्चालन गर्न सकिन्छ । विभिन्न परम्परागत कलात्मक उत्पादनले अन्तराष्ट्रिय बजारमा राम्रो स्थान पाइरहेका छन् । यस्ता पश्मिना उत्पादन तथा बिक्रि, चित्रकला, मूर्तिकला तथा थाङ्कााचित्र, गरगहना तथा ढुङ्गाजन्य गहना निर्माण तथा निर्यात गर्न पनि सकिन्छ ।
सूचना प्रविधिको विकाससँगै डिजिटल क्षेत्रमा पनि स्वरोजगारका नयाँ सम्भावनाहरू बढिरहेका छन् । फ्रिल्यान्सिङ, एप तथा सफ्टवेयर विकास, ब्लगिङ, युट्युब, अनलाइन शिक्षण, इ–कमर्स आदिका माध्यमबाट घरमै बसेर पनि राम्रो आयआर्जन गर्न र अरूलाई समेत रोजगारी प्रदान गर्न सकिन्छ । हामीले अहिले यस किसिमको स्वरोजगारको थुप्रै उदाहरणहरू देखिरहेका छौँ । त्यसैगरी सेवा क्षेत्र पनि स्वरोजगारको एउटा उपयुक्त क्षेत्र हो जसमा धेरै सम्भावनाहरू रहेका छन् । ट्युसन सेन्टर, कोचिङ क्लासहरु सञ्चालन गरेर पनि आफू र अरूलाई समेत रोजगारी प्रदान गर्न सकिन्छ । सौन्दर्य सेवाको पनि बढ्दो माग परिपूर्ति गर्न ब्युटी पार्लर सञ्चालन गरेर राम्रो आयआर्जन गर्न सकिन्छ। स्वास्थ्य सेवा अन्तर्गत आयुर्वेदिक उपचार, योग तथा फिटनेस सेन्टर आदि सञ्चालन गर्न सकिन्छ ।
नयाँ विचार तथा प्रविधिमा आधारित व्यवसायले पनि राम्रो सम्भावना बोकेको छ । हरित ऊर्जा अन्तर्गत सोलार, बायोग्यास आदिबाट पनि आयआर्जन गर्न सकिन्छ । फोहोर व्यवस्थापनले एक जटिल समस्याको रूपमा लिगिरहेको बेलामा अहिले पुनः प्रयोग तथा रिसाइकल उद्योगको पनि राम्रो सम्भावना रहेको छ । जैविक, अर्गानिक तथा स्थानीय उत्पादनको ब्राण्डिङ पनि स्वरोजगारको राम्रो क्षेत्र बन्न सक्छ ।
नेपालमा स्वरोजगारको ठूलो सम्भावना भएतापनि यसलाई विस्तार गर्न विभिन्न चुनौतीहरू पनि छन् ।
नेपालमा स्वरोजगारको ठूलो सम्भावना भएतापनि यसलाई विस्तार गर्न विभिन्न चुनौतीहरू पनि छन् । स्वरोजगार सुरु गर्न आवश्यक लगानी धेरै व्यक्तिहरुसँग हुँदैन । बैंक तथा वित्तीय संस्थाबाट सहुलियत ऋण लिन कठिनाई हुन्छ । सरकारी अनुदानको पनि प्रभावकारी कार्यान्वयन छैन । उत्पादित वस्तु तथा सेवाको पर्याप्त बजार पनि छैन । विश्वव्यापीकरणको परिणाम स्वरूप अन्तर्राष्ट्रिय तथा ठूला उद्योगहरुसँग प्रतिस्पर्धा गर्न कठिन हुन्छ । गुणस्तरीय उत्पादन गर्न सकेपनि निर्यात गर्न त्यति सहज वातावरण छैन । आधुनिक प्रविधि तथा नवीनतम उपकरणको सीमित पहुँच तथा दक्ष जनशक्तिको अभाव छ । डिजिटल मार्केटिङ तथा अनलाइन व्यापार सम्बन्धी ज्ञानको कमी छ। व्यावसायिक शिक्षा तथा तालिम र सीपको अभाव छ । व्यवसाय दर्ता, कर प्रणाली र अन्य कानुनी प्रक्रिया झन्झटिलो छ । परिवार तथा समाजले स्वरोजगारलाई स्थायी रोजगारीको तुलनामा कम प्राथमिकता दिन्छ। व्यवसायको लगानी सुरक्षाकालागि आवश्यक बीमा तथा संरक्षण नीति पनि कमजोर छ ।
नेपालमा स्वरोजगारको विकासका लागि पुँजी, तालिम, प्रविधि, बजार व्यवस्थापन र सरकारी नीतिहरु प्रभावकारी बनाउनु जरुरी छ । नेपालमा स्वरोजगारका असंख्य सम्भावनाहरू छन् । जसलाई सही योजना, प्रविधि र लगानीको सदुपयोग गरी सफल व्यवसायमा रूपान्तरण गर्न सकिन्छ । सरकारका विभिन्न अनुदान, सहुलियत ऋण र उद्यमशीलता प्रवर्धन कार्यक्रमहरूले समेत स्वरोजगारको विकासमा मदत गर्छन् ।
नेपालमा स्वरोजगारका माध्यमबाट धेरै व्यक्तिहरू सफल उद्यमी बनेका छन् । विभिन्न क्षेत्रमा रहेका समस्याका समाधान गर्न सके स्वरोजगारको प्रचुर सम्भावना देखिन्छ । स्वरोजगार कुनै व्यक्तिलाई आर्थिक रूपमा सक्षम बनाउने मात्र नभई समाज तथा देशको नै संमृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने माध्यम हो। यसले दीर्घकालीन रूपमा आत्मनिर्भरता, नवाचार समग्र विकासमा टेवा पु¥याउँछ ।
–यो लेख नुवाकोट आदर्श बहुमुखी क्याम्पसको वार्षिकोत्सवको अवसरमा स्नातक तह अन्तर्गत सञ्चालित निबन्ध प्रतियोगितामा प्रथम भएको निबन्ध हो । र, स्ववियुले प्रकाशन गरेको ‘आदर्श मनोभाव‘ स्मारिकामा प्रकाशित छन् ।
प्रतिक्रिया