विदुर – देशभरका चर्चित स्रष्टा तथा साहित्यकारहरू सहभागी हुने “नुवाकोट साहित्य, पर्यटन तथा संस्कृति महोत्सव” हुने भएको छ । साहित्य संगम नुवाकोटको आयोजनामा आगामी विदुरमा पुष १४ र १५ गते दुईदिने महोत्सव हुन लागेको हो ।
महोत्सवबारेमा जानकारी दिन बिहिबार विदुरमा आयोजित पत्रकार सम्मेलनमा संस्थाकी अध्यक्ष सुमित्रा सुमीले महोत्सवमा दुई दर्जनभन्दा बढी साहित्यकारले महोत्सवमा विभिन्न प्रस्तुति दिने जानकारी दिईन् ।
महोत्सवको पहिलो दिन स्थानीय लाखे नाच, भजनबालन, कविता वाचन र गजल साँझ रहेको उनले जानकारी दिईन् । दोस्रो दिन नुवाकोट जिल्लाका पर्यटकीय स्थलहरुमा स्रष्टा तथा साहित्यकारहरूलाई भ्रमण र कार्यपत्र प्रस्तुत गरिने छ ।
साथै, महोत्सवमा नेपालका विभिन्न भाषा, साहित्य, कला र संस्कृतिका क्षेत्रमा विशेष योगदान गर्ने स्रष्टाहरुलाई सम्मान कार्यक्रम तय भएको छ ।
महोत्सवले स्थानीय भाषा, साहित्य, कला, संस्कृति, पर्यटन विकासलगायतका विषयलाई प्राथमिकता राखेको छ ।
महोत्सवले लोक कला, संस्कृति, साहित्यको संरक्षण, सम्बर्द्धन र प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ । मोफसलका साहित्यकार र साहित्यकोस्तरलाई सवलिकरण, साहित्यको माध्यमबाट सामाजिक चेतना अभिबृद्धि र राज्यका निकायहरु र जनप्रतिनिधिहरुलाई साहित्यप्रति ध्यानाकर्षण गरी जिम्मेवार बनाउने महोत्सवको उद्देश्य रहेको छ।
महोत्सव संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय बागमती प्रदेश साझेदारी रहेको महोत्सवमा विदुर नगरपालिकाको कार्यालय र विदुर नपा वडा नम्बर ४ को कार्यालयको आर्थिक सहयोग रहेको जनाएको छ ।
प्रतिक्रिया