२०७९, ७ जेष्ठ शनिबार

दशैं र मोहनीको मान्यता

    आश्विन ३१ २०७५ ०५:५४

nuwakot trishuli graphic web media service 2020

‘दसैंकरण’ हुन पुगेको नेवार जातिको एउटा महत्वपूर्ण चाड हो, ‘मोहनी’। अहिले धेरै नेवारहरूले नै मोहनीलाई दसैं भन्न थालेका छन्।

हिन्दूहरूको महान् चाड भएको र राज्य पनि हिन्दू धर्मबाट प्रभावित भएको कारणले दसैं राज्यकै सबैभन्दा ठूलो पर्व बन्न गएको छ। धर्म–संस्कृतिमाथि जब राज्यको हस्तक्षेप हुन्छ, तब त्यो पनि वर्गीय बन्न पुग्दो रहेछ।

दसैं पनि राज्यको हस्तक्षेपका कारण धार्मिकभन्दा पनि राजनीतिक बढी बन्दै गइरहेको देखिन्छ। त्यसैले दसैंकै बेला मनाइने अरू जातीय समुदायका छुट्टै पर्वहरू या छेउ लागेका छन्, या त ‘दसैंकरण’ हुँदै गएका छन्। त्यसरी नै ‘दसैंकरण’ हुन पुगेको नेवार जातिको एउटा महत्वपूर्ण चाड हो, ‘मोहनी’। अहिले धेरै नेवारले नै मोहनीलाई दसैं भन्न थालेका छन्।

दसैंको पहिलो दिन घटस्थापना भएझैं मोहनीको पहिलो दिन पनि घटस्थापना नै हो। घरघरमा जमरा रोपेपछि दसैं आरम्भ हुन्छ। मोहनी पनि त्यसरी नै आरम्भ हुन्छ। घरमा जमरा रोपिसकेपछि घरका कुनै पनि सदस्यले बाहिर रात काट्न हुँदैन भन्ने मान्यता मोहनी मान्नेबीच छ।

दसैंको जमरा रोपिसकेपछि बाँकी दिनमा कुनै पनि धार्मिक कार्य हुँदैन। यसबीच गरिने एउटै मात्र कार्य भनेको बोका काट्नु हो। अष्टमी अथवा नवमीका दिन बोका काटेर खाइन्छ। बोकाको मासुसँग खाने अरू परिकार जे पनि हुन सक्छ। धेरैजसोले दसैंमा मासुभात खाने पनि भन्ने गरेको सुनिन्छ। दशमीका दिन आफूभन्दा ठूलाका घरमा गई उनीहरूकै हातबाट टीका थापिन्छ।

तर मोहनीमा जमरा रोपिसकेपछिको अन्तिम तीन दिन सबैभन्दा महत्वपूर्ण हुन्छ। अष्टमीका दिन बेलुकी आफ्नो कुलकै सम्पूर्ण सदस्य एकै ठाउँमा बसेर भोज खाइन्छ। दसैंमा भोजै खानुपर्छ भन्ने छैन तर मोहनीमा भोज नै खानुपर्छ। कुलै एक ठाउँ बसेर खाइने भएकाले यसलाई ‘कुलभोज’ अथवा ‘कूछिभ्वय्’ भनिन्छ।

कूछिभ्वय्कै दिन आफ्नो पेसासँग सम्बन्धित सम्पूर्ण ज्यावल आगम कोठामा राखिन्छ। र, एक रात त्यसै राखी अनुष्ठान गरिन्छ, जसलाई ‘स्वनेगु’ भनिन्छ। यसरी एकरात अनुष्ठान गर्नुको अर्थ ती सामग्रीमा पुनः शक्ति सञ्चार गर्नु हो। अहिलेको भाषामा यसलाई ‘रिचार्ज’ भन्न सकिन्छ।

रातभरि अनुष्ठान गरिएका ती सामग्रीलाई भोलिपल्ट पशु, पन्छी वा अन्डा बलि चढाई पूजा गरिन्छ। नेवारहरूले त्यही दिन आफ्नो सवारीसाधन र मेसिनरी सामानहरूलाई पूजा गर्छन्। उक्त दिन आगममा पूजा पनि हुन्छ। पूजा सकेपछि दिउँसो फेरि अर्को भोज गरिन्छ, जसलाई ‘स्वाक्वत्याक्व’ भनिन्छ। नेवारहरूले स्याक्वत्याक्वकै दिन सवारीसाधन, ज्यावल, मेसिनरी सामानहरूको पूजा गर्ने भएकाले विश्वकर्मा पूजा गर्नु पर्दैन। जबकि अरू जातिले यस्ता ज्यावल सामग्रीहरू विश्वकर्मा पूजाका दिन पुज्ने चलन छ।

स्याक्वत्याक्व नवमीका दिन मनाइन्छ। त्यसको भोलिपल्ट दशमीका दिन आगममा अनुष्ठान गरी (स्वनेगु) राखिएका सामग्री झिकिन्छ, जसलाई ‘चालं’ भनिन्छ। दसैं मनाउनेहरूले उक्त दिन निधारमा रातो टीका लगाउँछन्। तर मोहनीमा रातो होइन, कालो टीका लगाइन्छ। त्यो कालो टीकालाई ‘मोहनी सिन्हः’ अर्थात् ‘मोहनी टीका’ भनिन्छ।

नेवार जातिले मोहनीमा लगाउने मुख्य टीका नै यही हो, जो दसैंमा लगाइँदैन। यो कालो टीका पनि पूरै एक रात अनुष्ठान गरी बनाइएको हुन्छ। नवमीको रातदेखि दशमीको बिहानसम्म आगम कोठामा तलतिर एउटा दियोमा बत्ती बाली त्यसको माथि माटोकै अर्को पाला राखेर बत्तीको धुवाँबाट यो टीका तयार गरिन्छ। यो टीका आगम कोठामै तयार गरिएको हुनुपर्छ। यो टीका नै वास्तवमा शक्तिको प्रतीक हो।

धेरैको अनुमान त के छ भने त्यही मोहनी सिन्हः (टीका) लगाइने पर्व भएकाले नै यो पर्वको नाम पनि ‘मोहनी’ हुन गएको हो। यसरी तयार गरिएको टीका लगाउनुको अर्थ आफूमा पनि शक्ति सञ्चार होस् भन्ने हो। मोहनीमा रातो टीका पनि लगाइन्छ तर त्यो पछि मात्रै आएको चलन हो। यो चालं अर्थात् दशमीको दिन पनि भोज खाइन्छ। यसरी मोहनीको अन्तिम तीन दिन नेवार जातिको घरमा भोज चलिरहेको हुन्छ। यो तीन दिन घरमा भात पकाउनै हुन्न भन्ने अवधारणा छ।

मोहनीका यी अन्तिम तीन दिन लहरै मनाइन्छ। अष्टमी, नवमी र दशमीमध्ये कुनै तिथि तुत रहेको छ भने पनि मोहनीले त्यसलाई पालना गर्दैन। त्यसको गणना नगरी तीन दिनै लहरै पर्व मनाइन्छ। किनभने मोहनीमा कूछिभ्वय्को दिन स्याक्वत्याक्व गर्न मिल्दैन, स्याक्वत्याक्वको दिन चालं गर्न मिल्दैन। कहिलेकाहीँ पञ्चांग निर्णायक समितिले निकाल्ने क्यालेन्डरमा यही तीन दिनमध्ये एक दिन तिथि तुत गरिएको पनि हुन्छ। तर त्यस्तो बेला पनि मोहनी पर्व तीन दिनै मनाइन्छ।

दशमीको दिन मनाइने चालंका सम्बन्धमा काठमाडौंको असन टोलको चलन भने छुट्टै छ। त्यहाँ दशमीका दिन ‘चालं’ (टीका लगाउने कार्य) गरिँदैन। त्यसको भोलिपल्ट अर्थात् एकादशीका दिन मात्रै चालं गरिन्छ। टीका पनि त्यही दिन लगाइन्छ। दशमीका दिन असनवासीको पर्व हुँदैन। एकादशीका दिन गरिने चालंलाई ‘असं चालं’ भन्ने छुट्टै नाम दिइएको छ। यो असनका रैथानेलाई मात्रै लागू हुन्छ।

मोहनी र दसैं दुवै शक्तिको पूजा गर्न पर्व हो। तर, दसैंमा दुर्गाको पूजा गर्नुको अर्थ शक्तिको उपासना गर्नु मात्रै हो। तर मोहनीमा शक्तिको उपासना मात्रै गरिँदैन, तान्त्रिक विधिबाट आफू वा आफूले प्रयोग गर्नुपर्ने विभिन्न साधनहरूमा त्यो शक्तिको प्रत्यारोपणसमेत गरिन्छ। अर्थात् शक्तिको पूजा मात्र होइन, शक्तिको धारणसमेत गरिन्छ।

शक्तिको उपासना गरी प्राप्त भएको शक्तिलाई धारण गरी बाहिर प्रकट गर्ने एउटा अर्को परम्परा मोहनीमा छ, जसलाई ‘पायो’ निकाल्ने भनिन्छ। तान्त्रिक उपासनाबाट प्राप्त भएको शक्तिको प्रयोग गरी खराब तत्वको नाश गर्ने प्रतीकस्वरूप काठमाडौंका विभिन्न टोलमा खड्ग समाई ‘पायो’ निकालिन्छ। उक्त ‘पायो’ले सडकको चौबाटोमा फर्सीलाई मार हान्ने चलन छ। यो मोहनी पर्वको अत्यन्त मौलिक परम्परा हो। दसैंमा दुर्गा भवानीले महिषासुरको बध गरेको र त्यसैको सम्झनामा विजया दशमी मनाउने गरिएको कथा सुनाउने गरिन्छ। तर, मोहनीमा दुर्गा भवानी र महिषासुरको प्रसंग कहीँ पनि आउँदैन।

विजया दशमीको टीकापछि कोजाग्रत पूर्णिमासम्मै आफूभन्दा ठूलाका घरघरमा गई टीका थाप्ने चलन दसैंमा छ। तर, मोहनीमा त्यसरी घरघरै गएर टीका लगाउँदैनन्। जहाँ बोलाइन्छ, त्यहीँ मात्र गइन्छ। टीका थाप्न त्यसरी बोलाउने कामलाई ‘नखत्या सःतेगु’ भनिन्छ। नखत्यामा भोज खुवाइन्छ। मोहनीमा टीका थाप्दा दक्षिणा लिनेदिने गर्नु पर्दैन।

मोहनीको सम्बन्ध तिहारमा मनाइने लक्ष्मीपूजासम्म जोडिएको हुन्छ। मोहनीको स्याक्वत्याक्वका दिन जुन जीव (पशु वा पन्छी) को बलि दिइएको हो, त्यसको एक टुक्रा मासु ‘लक्ष्मी भाग’ भनी अलग्गै छुट्याइएको हुन्छ। त्यो मासुको टुक्रालाई ‘खंला’ भनिन्छ। दसैंको १५ दिनपछि मनाइने लक्ष्मीपूजाका दिन त्यही ‘खंला’ चढाएर लक्ष्मीको पूजा गर्नुपर्छ। यसरी नेवार जातिले मनाउने मोहनीको सम्बन्ध तिहारको लक्ष्मीपूजासम्मै जोडिएको हुन्छ।

नेवार जाति कोही हिन्दू छन्, कोही बौद्ध। तर, सम्पूर्ण नेवारले मोहनी मनाउने तरिका भने यही हो। वास्तवमा नेवार जाति विशुद्ध रूपमा हिन्दू पनि होइन, बौद्ध पनि होइन। उनीहरू विशुद्ध प्रकृतिपूजक हुन् भन्ने मोहनी मनाउने यो तरिकाबाट पनि थाहा हुन्छ। -अन्नपुर्ण दैनिक

Diyo Pathshala Montessori
Bachchhaladevi Suppliers
Nuwakot FM 106.8 MHz
Radio Sanjiwani
Radio Langtang

प्रतिक्रिया


Top