जेठ १३, विदुर । नुवाकोटका दुई युवा प्रविधि उद्यमी सक्रिय पाण्डे र श्रीषा पाण्डेले संयुक्त रूपमा विकास गरेको ‘वायुदृष्टि’ संयुक्त राष्ट्रसंघको उत्कृष्ट विश्वव्यापी नवप्रवर्तन सूचीमा छनोट भएको छ।
जलवायु–प्रविधि क्षेत्रमा काम गर्दै आएको यो नेपाली नवप्रवर्तनलाई संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक मामिला विभाग (यूएन डेसा) ले प्रकाशित गरेको “एसटीआई सोलुसन्स बुक २०२६” मा समावेश गरिएको हो।
विश्वभरबाट प्राप्त ९०० भन्दा बढी डिजिटल तथा प्रविधिमूलक नवप्रवर्तनबीच प्रतिस्पर्धा गर्दै ‘वायुदृष्टि’ उत्कृष्ट ६० नवप्रवर्तनको सूचीमा पर्न सफल भएको हो। दिगो विकास लक्ष्य (एसडीजी) हासिल गर्न योगदान पुर्याउने, व्यवहारिक तथा विश्वव्यापी रूपमा विस्तार गर्न सकिने समाधानका रूपमा यसलाई छनोट गरिएको बताइएको छ।
‘वायुदृष्टि’ नेपालमै विकास गरिएको एआई–आधारित वातावरणीय सूचना प्लेटफर्म हो। यसले वायु प्रदूषणलाई सर्वसाधारणले सहज रूपमा बुझ्न सक्ने गरी वास्तविक समयको वायु गुणस्तर जानकारी उपलब्ध गराउँछ। कम लागतका वायु गुणस्तर मापन उपकरण, भू–उपग्रहबाट प्राप्त डाटा, जमिनमा जडित सेन्सर तथा कृत्रिम बुद्धिमत्ताको प्रयोगमार्फत यसले प्रदूषणसम्बन्धी विश्लेषण र सूचनाहरू प्रदान गर्दै आएको छ।
यो प्लेटफर्म बोट्स इन्डस्ट्रिज प्राइभेट लिमिटेड अन्तर्गत विकास गरिएको हो। यसका संस्थापक नुवाकोट शिवपुरी गाउँपालिका–७ का सक्रिय पाण्डे तथा सहसंस्थापक श्रीषा पाण्डे रहेका छन्।
यसैबीच, सहसंस्थापक श्रीषा पाण्डे आगामी जुन ११ र १२ मा अमेरिकाको वाशिङ्टन डी.सी.स्थित विश्व बैंकको मुख्यालयमा आयोजना हुने “वर्ल्ड बैंक ग्रुप युथ समिट २०२६” मा नेपालका तर्फबाट सहभागी हुने भएकी छन्। सम्मेलनमा उनले नेपाली युवाको नवप्रवर्तन, डिजिटल अवसर तथा दिगो विकासका क्षेत्रमा नेपालको अनुभव अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने जनाइएको छ।
विश्व बैंक समूहद्वारा आयोजना हुने उक्त सम्मेलन विश्वभरका १७० भन्दा बढी देशका युवालाई जोड्ने प्रमुख अन्तर्राष्ट्रिय युवा मञ्चमध्ये एक मानिन्छ। श्रीषाको सहभागितालाई नेपाली युवाको बढ्दो अन्तर्राष्ट्रिय उपस्थिति र प्रविधि क्षेत्रमा देखिएको क्षमताको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
विश्वभर वायु प्रदूषण, जलवायु परिवर्तन तथा सार्वजनिक स्वास्थ्यसम्बन्धी चुनौती बढिरहेका बेला ‘वायुदृष्टि’ ले समुदाय, विद्यालय, अनुसन्धानकर्ता, उद्योग तथा सरकारी निकायलाई भरपर्दो वातावरणीय डाटा उपलब्ध गराउने लक्ष्य राखेको छ।
संयुक्त राष्ट्रसंघको यस वर्षको प्रतिवेदनले सन् २०३० सम्मको दिगो विकास एजेन्डालाई सहयोग गर्ने विज्ञान, प्रविधि तथा नवप्रवर्तनमा आधारित समाधानलाई प्राथमिकतामा राखेको छ। विशेषगरी सफा पानी, स्वच्छ ऊर्जा, दिगो शहर, पूर्वाधार तथा साझेदारीसँग सम्बन्धित क्षेत्रमा प्रभावकारी योगदान दिने नवप्रवर्तनलाई सूचीमा समावेश गरिएको हो।
‘वायुदृष्टि’ टोलीले यो उपलब्धिलाई नेपालका लागि गौरवको विषय भएको जनाएको छ। टोलीद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘अदृश्य रहेको वायु प्रदूषणलाई देखिने र मापनयोग्य बनाउने उद्देश्यसहित हामीले यो यात्रा सुरु गरेका थियौं। संयुक्त राष्ट्रसंघबाट प्राप्त यो मान्यताले नेपालबाटै विश्वस्तरीय प्रविधि निर्माण गर्न सकिन्छ भन्ने विश्वास अझ बलियो बनाएको छ।’
यो उपलब्धिले नेपालजस्ता विकासोन्मुख मुलुकबाट पनि युवाको नेतृत्वमा विश्वस्तरीय प्रविधि विकास हुन सक्ने सम्भावना उजागर गरेको छ। नवीन सोच, निरन्तर अनुसन्धान र प्रतिबद्धतामार्फत नेपाली युवाले विश्व मञ्चमा प्रभावकारी उपस्थिति जनाउन सक्छन् भन्ने उदाहरणका रूपमा ‘वायुदृष्टि’ लाई हेरिएको छ।
टोलीले आगामी दिनमा नेपालभित्र तथा बाहिर वातावरणीय सूचना सञ्जाल विस्तार गर्दै सफा हावा, स्वस्थ समुदाय र दिगो भविष्य निर्माणमा थप योगदान दिने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया