+
Search

ताजा अपडेट +

पपुलर +

भौतिक पूर्वाधार र जनशक्तिको अभाव मुख्य बाधक: प्रधानाध्यापक पाण्डे

Kapil Pandey, Principal of Post Bahadur Bogati Polytechnic School
सुनील श्रेष्ठ
२ घण्टा अगाडी

जेठ ९, नुवाकोट । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् अन्तर्गत नुवाकोटको विदुर नगरपालिका-१ बान्द्रेमा सञ्चालित पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालय पछिल्लो समय दक्ष जनशक्ति उत्पादनको केन्द्र बन्दै गएको छ। तर ग्रामीण क्षेत्रमा अवस्थित यस शिक्षालयले भौतिक पूर्वाधारदेखि दक्ष प्रशिक्षकको अभावसम्मका विविध चुनौतीहरू झेलिरहेको छ।

यसै सन्दर्भमा शिक्षालयले आयोजना गरेको पत्रकारहरुसँगको अन्तरक्रियामा प्रधानाध्यापक कपिल पाण्डेले संस्थाका वर्तमान चुनौती र आगामी कार्यदिशाबारे आफ्ना स्पष्ट विचारहरू राखेका छन् ।

उनका अनुसार शिक्षालयले गुणस्तरीय प्राविधिक शिक्षा प्रदान गर्ने प्रयास गरिरहेको भए तापनि प्रयाप्त भौतिक पूर्वाधारको कमी सबैभन्दा ठूलो बाधक बनेको छ। भौगोलिक विकटताका कारण दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई शिक्षालयसम्म आकर्षित गर्न र उनीहरूका लागि उचित आवासको व्यवस्थापन गर्न कठिन भइरहेको उनको भनाइ छ।

यसका साथै प्राविधिक धारका विभिन्न विषयहरूका लागि आवश्यक पर्ने आधुनिक प्रयोगशाला र स्थायी दक्ष प्रशिक्षकहरूको अभावले गर्दा सोचेजस्तो गतिमा शैक्षिक कार्यक्रमहरू अगाडि बढाउन चुनौती थपिएको उनले बताए ।

शिक्षालयलाई सुदृढ बनाउन केवल संस्थाको प्रयास मात्र पर्याप्त नहुने भन्दै उनले स्थानीय सरकार, राजनीतिक दल र समुदायको सामूहिक प्रतिबद्धता हुनुपर्नेमा जोड दिए । दिगो व्यवस्थापन र आवश्यक बजेटको कमीलाई सम्बोधन गर्नका लागि राज्यका तर्फबाट थप लगानी र नीतिगत स्पष्टता आवश्यक रहेको उनले औंलाए।

चुनौतीहरूका बाबजुद पनि स्थानीयस्तरमै प्राविधिक शिक्षा दिएर युवाहरूलाई स्वरोजगार बनाउने र देशको विकासमा जोड्ने अभियानमा शिक्षालय निरन्तर लागिरहने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।

लेखकको बारेमा

सुनील श्रेष्ठ

ट्रेन्डिङ