-पुरुषोत्तम लम्साल
एक हजार वर्ष भयो भारतमा पर्ने सारनाथ अर्थात् ऋषिपतनलाई मुहम्मद गजनवीको सेनाले ध्वस्त बनाएको । यदि नौ सय वर्षपछि पनि उत्खनन गरेर सारनाथ फेरि ब्युँझन्छ भन्ने थाहा पाएको भए गजनवी सेनाले एक दश हजारपटक बुद्धको तीर्थ जलाउँथ्यो होला । यो त्यही थलो हो जहाँ सिद्धार्थ गौतम तथागत बनेका थिए, जहाँबाट धर्मचक्र प्रवर्तन अभियान र दर्शनको घोष भएको थियो ।
शान्ति र करुणाका लागि बुद्ध एसियाको होइन विश्वका प्रकाश हुन् । जन्मभूमि नेपालको लुम्बिनी, कपिलवस्तु र बुद्धत्व प्राप्ति भारत । अशोक स्तम्भ र धर्मचक्रलाई भारतले राष्ट्रिय प्रतीक बनायो र बुद्धमाथि पकड कायम ग-यो । हामीचाहिँ ‘बुद्ध वाज बर्न इन नेपाल’ लेखेर धु्रवसत्य तथ्यमाथि मजाक खेल्छौँ । म त्यही समाजको सदस्य हुँ जहाँ आफूलाई बौद्धमार्गी दाबी गर्ने दुःखी आत्मा गौहत्या गर्न पाउनुपर्छ भन्दै ज्यान फालेर नारा लाउँछन् ।
धार्मिक साम्राज्यवादका पृष्ठपोषकहरूले शान्तिका लागि ‘विश्वको प्रकाश’को रूपलाई ‘द लाइट अफ एसिया’ भनेर सङ्कुचनमा पारेका हुन् भन्नेमा म विश्वस्त छु । बुद्धको व्यापकताबाट जिसस क्राइस्टलाई बचाउने काइते सामान्यज्ञान हो त्यो । अमेरिकामा फरक–फरक सम्प्रदायका चर्चमा कुरा गर्दा चर्चहरूका यावत् संरचना हाम्रै बहा, बही, गुम्बा र विहारको नक्कल र त्यसमा थपिएको पश्चिमा रंग मात्र हो भन्ने बुझेपछि मभित्रको भ्रमको अनेक पर्दा हटेको थियो । र, जीवन र जगत् बुझ्ने शुद्धीकरणको शान्तिपूर्ण मार्गलाई प्रभु वा प्रभुको दूतको नाममा फैलाइएका दोषहरू फगत मिथ्या हो भनेर बुझ्न सहज बनायो । यही झुटको प्रचारका लागि म्लेक्षहरूले देशभित्र अवैध धनको खोलो बगाएको देख्दा मजस्तो ‘सेक्युलर’ मनुवालाई पनि झोँक चल्छ । अभावलाई प्रभावमा पारेर हुने धार्मिक रूपान्तरणले बौद्ध चिन्तनलाई होइन अन्ततोगत्वा ‘शैतानकै विचार’लाई र उसको हिंस्रक परम्परालाई मलजल गर्ने हो भनेर बुझाउनचाहिँ अबेर भएको छ ।
प्राचीनताको कसीमा म बौद्धमार्गबारे धेरै जान्दिनँ । तर, मलाई के थाहा छ भने इसामसिहाको गणना हुनुभन्दा २३२ वर्षअघि त भारतीय सम्राट् अशोकले बुद्धमार्गलाई एसियान्तर गराइसकेका रहेछन् । त्यतिबेलाको जनसङ्ख्याको पनि एकतिहाइ बुद्धमार्गबाट दीक्षित थिए भनेर अध्ययन गर्दा मेरो पनि छाती ढुक्क फुल्छ । धर्मग्रन्थको रूपमा बाइबल छापिनुअगाडि नै मौर्य सम्राट् अशोकले बौद्ध दर्शनलाई धर्मको सम्मान दिएर दरबारमा धार्मिक टुकडी नै गठन गरेको भेटिन्छ । कुरानको सन्देश लिएर आएका भनिएका हजरत मोहम्मद (पैगम्बर) त यो युग (अशोक)को पनि सात सय वर्षपछि मात्र जन्मिएको तथ्य छ । व्यक्तिहरू असाधारण होलान् । भाव पनि समान होला । तर, पुग्ने कहाँ र कसरी भन्ने कुरालाई अरूले भन्दा बुद्धले मार्गचित्रसहित, खाकासहित, विधिसहित, जीवनोपयोगी र व्यावहारिक तर्कसहित प्रस्तुत गरेकाले मलाई अरूभन्दा बुद्ध खास लाग्छ । खास लाग्नुको अर्को कारण के भने अरूले आफूलाई भगवान् वा भगवान्को दूतको रूपमा उभ्याए, तर बुद्धले आफूलाई आफूमा उभ्याउने ‘इनर्जी’ सबैलाई दिएर गए ।
आहार र चरित्र दुवैमा म बौद्धमार्गी होइन । तर, चित्त सुधार्ने यत्नमा प्रयत्न जारी राख्ने मनुवा हुँ । म ‘हिजोलाई हिजोमै छाडेर आजमा बाँच्ने’ प्रयत्न गर्छु । बुद्धको हजार दर्शनमा एउटै दर्शन मेरा लागि गज्जब छ, ‘खराब विषय, खराब पात्र, खराब चरित्र, खराब सङ्गत सम्झेर वा त्यसमा अल्झेर म मेरो वर्तमान र भविष्य खराब बनाउँदिनँ ।’
बुद्धले विश्वामित्रलाई गुरु माने । म विश्वमित्रको उत्तिकै भक्त पनि होइन । तर, मन पर्छ । बुद्धका पनि गुरु अलारा कलमले भनेजस्तै ‘जिन्दगीको तारलाई साह्रै जोडले कस्न वा साह्रै खुला पनि छाड्न नहुने’ मान्यतामा विश्वास गर्छु । यसले मलाई तत्काल टुट्ने पनि बनाएको छैन र तत्काल गलेर कसैको शरणम् पनि बनाएको छैन । आत्मसन्तुलनको यो दीक्षाका लागि बुद्धप्रति नमन ।
जसरी विषाक्त तीर शरीरमा गडेपछि पहिला तीर निकालेपछि मात्र मृत्युको भयबारे सोचिन्छ त्यसरी नै जिन्दगीको विषाक्त पक्षलाई तत्काल निकालेर मात्र मात्र भोलिको भय र चिन्ताबारे बहस गरौँ । म आफ्नै सन्दर्भमा कुरा गर्छु । आवश्यक समय अनावश्यक कुरामा खर्च हुन्छ । जब ध्यान मोडिन्छ म मूल्यवान विषयबाटै मोडिन्छु । जब यो ज्ञान हुन्छ म विचलित हुन्छु । केहीबेर पश्चात्ताप पनि हुन्छ । म त्यसबेला बुद्धको शरणमा परेकी नर्तकीजस्तै हुन्छ जो मालिकको कोठीमा नृत्य गर्न जाने समयबाट बेखबर छे । म त्यस्तो डाँकाको चरित्रमा घुम्छु जो डकैतीको योजनाबद्ध कार्यक्रम नै भुल्छ । र, म दुनियाँ र अत्यासलाग्लो जिन्दगीको भूमरीमा घुमिरहेको हुन्छु । मलाई लाग्छ– समय गइरहेको छ । त्यसबेला बुद्ध सम्झन्छु ।
मलाई थाहा छ– मेरो मन शुद्ध छैन । एकाग्र छैन । चित्त शान्त र स्थिर छैन । यो थाहा पाउन मलाई बुद्धको छायामा केहीबेर शीतल ताप्नुपर्छ । त्यसैले म बौद्धमार्गमा लाग्न वा निर्वाणको महाअभियानमा सहभागी हुन बलियो उम्मेदवार हुँदै होइन । म आफू वरपरका बौद्धमार्गी हेर्दथेँ, आज पनि हेर्छु र गम खान्छु । र, बुद्धको विषयमा आफैँप्रति गर्व गर्छु । कम्तीमा म बुद्धलाई बद्नाम गर्ने बाटोमा हिँडिरहेको छैन भन्ने यकिन भएपछि आफूप्रति सन्तोष जाग्दोरहेछ । म आफूले बाटो बिराउँदा बुद्ध सम्झन्छु । अरूचाहिँ बुद्धको नाममा गलत बाटो अख्तियार गरिरहेको देख्दा त्यो भाव पैदा हुन्छ । त्यसैले अरू बुद्धलाई कसरी ग्रहण गर्छन् मचाहिँ तत्कालका लागि चित्त शुद्धीकरणमा बुद्धलाई मनन गर्ने यत्न गर्छु ।
मलाई के थाहा छ भने जन्म र मृत्युबीचको अवधि जीवन हो । यो अवधिभित्र फरकफरक प्रतिकूल परिस्थितिको सामना गरिन्छ । केही सामान्य होलान् र केही जटिल । सामान्य जटिलताबाट पार पाउन सहज होला । तर, जटिल जटिलताबाट बाहिर आउन पर्दा म बुद्ध सम्झन्छु ।
बाहिरबाट हेर्दा यो शरीर छालामा मोरिएको हाड र मासुको डल्लो मात्र हो । भित्रचाहिँ यो असाध्यै बलियो काया लाग्छ । यो लाग्नुमा बुद्धको बल छ कि जस्तो लाग्ने । मलाई थाहा छ जीवनको अनुभूति बाँड्न म हतार गरिरहेको छु । तर लाग्छ, कस्तै विषम परिस्थितिलाई पार लगाएर चालीस वर्षको सन्निकट छु । केही निश्चित विषयमा मभित्र अष्टधातुभन्दा पनि बलियो संरचना छ । मनलाई अष्टधातुभन्दा बलियो बनाउन ऐनमौकामा बुद्धको छायामा जान्छु । हारबाट पैदा हुने निराशाको ग्रन्थि सफा गर्न मलाई बुद्धपथले मद्दत गर्दछ । मलाई विचलनबाट जोगाउन र विचलित मनोवृत्तिबाट बाहिर निकाल्न बुद्धको सम्झना ठूलो सेतु हो ।
छाला कोतरेर, केही हाड भाँचिएर, रगतमा केही खराबी देखिएर, कब्जियत भएर, आँखाले दृश्य धमिलो देखेर म आफूलाई कमजोर मान्दिनँ । यस्ता कुराले मभित्र भय पैदा गर्दैन । यी बाहिरी संसारको उपचार बाहिरै सम्भव छ भन्ने लाग्छ । जब म खराब विचारको नियन्त्रणमा जाँदै छु वा पर्दै छु भन्ने शङ्का लाग्छ तब मभित्र भय पैदा हुन्छ । जब मेरा वरपरका सत्जनहरू ‘म खराब बाटोमा जाँदै छु’ भनेर चिन्ता व्यक्त गर्छन् तब मभित्र भयले घर गर्छ । यो किञ्चित मृत्युको भय होइन चरित्रको भय हो । मनको भय हो । चित्तको भय हो । यही भयमा म बुद्ध सम्झन्छु । र, सम्हालिने प्रयत्न थाल्छु ।
मनभित्रको भयलाई जित्न मनको एकाग्रता र शान्त चित्त आवश्यक हुन्छ भन्ने ज्ञान मलाई बुद्धका प्रवचनहरूबाट मिलेको हो । प्राप्तिको मोहमा गलत बाटो रोज्दा क्षयको भयबारे भाव जागृत गराएर मलाई शान्त रहन केही क्षण नै सही बुद्धमार्ग सहायक हुन्छ । जसै म सम्हालिन्छु म त्यो गल्ती विगत भयो भनेर बिर्सिदिन्छु ।
जिजीविषाको मोह र जीवनको आकाङ्क्षाभित्रका तमाम सङ्कटभन्दा चित्त र चरित्रको सङ्कटबाट छुटकारा पाउन म बुद्ध सम्झन्छु । मलाई भन्ते बनेर हिँड्नु पनि छैन । चीबर ओडेर ‘ओम मणि पद्ये हुँ’ दोहो¥याइरहनु पनि छैन । गुम्बा वा चैत्यमा लम्पसार परेर परिक्रमा गरिरहनु पनि छैन । मनभित्र बुद्धको एउटा तस्बिर छ, जब नियाल्छु शान्ति महसुस गर्छु । जब नियाल्छु सकारात्मक ऊर्जा ग्रहण गर्छु । ठूला सङ्कटलाई सरलीकृत गर्न मनको चैत्यमा सजाइएको बुद्धको एउटै तस्बिर मेरा लागि पर्याप्त छ । मनभित्र सन्देह वा द्विविधा उछालकुद गर्दा सबैभन्दा सरल बाटो रोज्न म मनभित्रैको बुद्धको शरण पर्दछु भन्दा हुन्छ । यसैले म आफूलाई गैरभिक्षु बौद्धमार्गी भन्ठान्छु ।
संस्कृति र संस्कारले म हिन्दू वर्गबाट आएँ । धेरै कर्म धार्मिक विधि र विधानअनुरूप निष्ठापूर्वक सम्पन्न भए । जब जीवनको भवसागर तर्नुपर्ने हुन्छ पुकारा गर्दै मन्दिर धाउन र अक्षतापाती खर्च गर्न मेरो ब्रह्मले मलाई अनुमति दिँदैन । यो सङ्कटमा म बुद्ध सम्झन्छु । यसो भनौँ, मलाई भगवान्को शक्ति र विराट रूपभन्दा शान्त बुद्धको कर्मप्रेरित मार्ग सहज लाग्छ । मनभित्रै छन् दैत्य र असुरहरू भन्ने लाग्छ । र, यिनसँग लड्न महाकाली र दुर्गा, नारायण र गणेश भाक्नुभन्दा मनभित्रकै बुद्ध सम्झेर शान्त चित्त बनाउन मन लाग्छ । तर, म निर्वाणको भ्रमबाट मुक्त छु । त्यहाँसम्मको यात्रा मेरो लक्ष्य र अभीष्ट दुवै होइन । म तथागतको बाटो चयन गर्न असमर्थ छु । वश एकाध चित्र र चरित्र मनमा ग्रहण गर्न सकियो भने सन्तुष्टिको गंगा प्राप्त हुन्छ । मेरा लागि बुद्ध भगवान् किञ्चित होइनन् । तर, बुद्धको बुद्धत्वको छायामा केहीबेर सुस्ताउँदा सांसारिक मायाजालबाट तत्कालका लागि बाहिर निस्कन सधैँ सहज हुन्छ ।
(लेखक लम्साल नुवाकोटवासी हाल अमेरीका हुनुहुन्छ)
प्रतिक्रिया