sujim bazar advert

अस्थायी साधन महिलाको जिम्मा

    असार १६, २०७३

Sizen Education Consultancy Pvt. Ltd.

sancharika samuha
Big Education Consultancy Nuwakot
global ime bank flash loan

संखुवासभा जिल्लाको केही गाउँका पुरुषलाई परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्दा स्वास्थ्य बिग्रने, देवता रिसाउने, पितृ खुसी नहुने र वंश नाश हुने भ्रम छ । त्यो काम पनि महिलाको थाप्लोमा ।

संखुवासभा । किमाथाङ्का– २ की २५ वर्षीया फञ्जुम शेर्पाले ०६६ मा निमा छिरिङ शेर्पासँग विवाह गरिन् । उनीहरूसँग अहिले पाँच वर्षकी छोरी पासाङल्हामु, तीन वर्षका छोरा तेन्जिङ, डेढ वर्षका छोरा दावा छन् । निरक्षर नै भए पनि उनले सन्तान पुगेको भन्दै श्रीमान्लाई बन्ध्याकरण गर्न अनुरोध गरिन् । तर, श्रीमान्ले मानेनन् । त्यसपछि उनले आफैँ अस्थायी साधन प्रयोग गर्न थालिन् ।

हिमालय प्राथमिक विद्यालय किमाथाङ्कामा कार्यालय सहयोगी पदमा कार्यरत फञ्जुमले आफ्ना श्रीमान् निमाछिरिङलाई पटकपटक अस्थायी साधन प्रयोग गर्न अनुरोध गरिन् । श्रीमान्ले उनको कुरा सुनेको नसुन्यै गरे । त्यसपछि २५ वर्षकै उमेरमा अस्थायी साधन प्रयोग गर्न थालेकी फञ्जुम अहिले शरीर मोटाउने र पेट दुख्ने समस्याले पीडित छिन् । उनी भन्छिन्, ‘अहिलेको जमानामा धेरै बच्चा जन्माउन सकिँदैन । श्रीमान्ले नमानेपछि आफैँले अस्थायी साधन प्रयोग गर्नुप¥यो ।’

अशिक्षित समाजमा गर्भान्तर र गर्भनिरोधको साधन प्रयोग गर्नेको सङ्ख्या नै न्यून छ । यस्तो जनसङ्ख्या धेरै रहेको भोटखोला क्षेत्रका किमाथाङ्का, हटिया, चेपुवा र पावाखोला गाविसका पुरुषले गर्भनिरोधक साधन प्रयोग नगर्दा महिला नै प्रयोग गर्न बाध्य छन् । साधन प्रयोग गर्दा शारीरिक रूपमा अशक्त र अस्वस्थ भइन्छ भन्ने सोचले पुरुषहरू नमान्ने र त्यसको मारमा महिला पर्ने गरेका छन् ।

गाउँघरमा पुरुषहरू हतपति अस्थायी साधन प्रयोग गर्न मान्दैनन् । त्यसैले सचेत महिला नभएका परिवारमा १२ जनासम्म सन्तान जन्मिएका छन् । किमाथाङ्का स्वास्थ्य चौकीका प्रमुख निमाछेदर शेर्पा अस्थायी साधन प्रयोग गर्ने पुरुषको सङ्ख्या शून्य नै रहेको बताउँछन् । निःशुल्क वितरण गरिने कण्डमसमेत पुरुषले प्रयोग नगर्ने उनको भनाइ छ । चेपुवा स्वास्थ्य चौकीका प्रमुख नोर्चे भोटे निःशुल्क भनेर राखिएको कण्डम चार वर्षदेखि जस्ताको तस्तै रहेको बताउँछन् । महिलामा भने अस्थायी साधन प्रयोग गर्नेको सङ्ख्या उल्लेख्य रूपमा बढ्दै गएको उनले बताए ।

पुरुषका लागि लक्षित अस्थायी साधन त्यत्तिकै खेर जान थालेपछि हटिया स्वास्थ्य चौकीका प्रमुख फुर्पु भोटेले गाउँका पुरुषलाई बोलाएर अस्थायी साधन प्रयोगका लागि जानकारी कार्यक्रमसमेत आयोजना गरे । उनले अस्थायी साधनको फाइदा बताउँदै पुरुषलाई प्रयोग गर्न प्रोत्साहन गरे । तर, कार्यक्रममा उपस्थित पुरुषहरूमध्ये कसैले आफ्नो देवता रिसाउने बताए, कसैले कुलपितृ रिसाउने दाबी गरे । अझ कतिपयले त वंश नाश हुने भनेर यसको प्रयोग गर्न मानेनन् । धार्मिक र परम्परागत कुसंस्कारका कारण अस्थायी साधन पुरुषले प्रयोग नगरेको भोटेले बताए ।

महिलाले भने गर्भान्तर र गर्भनिरोधकका लागि बाध्य भएर प्रयोग गर्ने गरेका छन् । महिलाले मात्र अस्थायी साधन प्रयोग गर्नुपर्ने भएकाले महिला स्वास्थ्यमा असर पर्ने भन्दै जिल्ला स्वास्थ्य कार्यालयले अस्थायी साधन प्रयोगबारे पुरुषमा चेतनामूलक कार्यक्रम ल्याउनुपर्ने हटियाका शिक्षक लादर भोटे बताउँछन् । यता जिल्ला स्वास्थ्य कार्यालय प्रमुख सागर प्रसाईंले भने विगतदेखि नै अस्थायी र स्थायी गर्भ निरोधका उपाय । यसका सकारात्मक पक्षबारे कार्यक्रम गर्दै आएको बताए । उनले भने, ‘तर, के गर्नु पुरुषहरूले नमान्दा समस्या भइरहेको छ ।’

भोटखोला क्षेत्रमा आलु, मकै, उवा र कोदो मात्र उत्पादन हुन्छ । उत्पादित अन्नले तीन महिना मात्र खान पुग्छ । यस क्षेत्रका महिलाले बढी परिश्रम गर्नुपर्ने र अस्थायी साधनसमेत उनीहरूले नै प्रयोग गर्नुपर्ने बाध्यता भएपछि सानो उमेरमै गम्भीर स्वास्थ्य समस्या देखिने अरुणोदय उमाविका प्राचार्य छिरिङ भोटेको तर्क छ । उनी भन्छन्, ‘काम पनि महिलाले नै धेरै गर्नुपर्ने, औषधि पनि उनीहरूले नै प्रयोग गर्नुपर्ने, अनि खानेकुरा पनि राम्रो नपाउने भएपछि समस्या त देखिहाल्छ नि ।’

यस क्षेत्रका धेरैजसो परिवारले अहिले पनि अस्थायी साधन प्रयोग गर्दैनन् । प्रयोग गर्नेले पनि परिवारको सल्लाहबिना नै प्रयोग गरेको पाइएको छ । धेरै सन्तान जन्माएर पालनपोषणमा समस्या भएपछि घर व्यवहारको काम पनि आफैँले गर्नुपर्ने भएकाले महिला सचेत हुन थालेका छन् । यस क्षेत्रमा सानै उमेरमा विवाह गर्ने चलन भएकाले २५ वर्ष नबित्दै तीन–चार सन्तानको आमा हुनु सामान्य मानिन्छ ।

युवती आमाहरू साधन प्रयोग र परिवारको सङ्ख्या ठूलो हुनुहुन्न भन्नेमा सचेत रहेको हटिया गाविसका पूर्वअध्यक्ष वाङदावी भोटे बताउँछन् । भोटखोलाको विकासको बाधक भनेको परिवारको सङ्ख्या ठूलो हुनु पनि एक भएकाले तत्काल यसमा सरकारले विशेष प्रोत्साहनसहितको पहल गर्नुपर्ने उनको भनाइ छ । उनी भन्छन्, ‘यस्तो कुरामा सरकारको पनि ध्यान जानुपर्छ । सरकारले नीति बनाओस् हामी सहयोग गर्छौं ।’

– सञ्चारिका फिचर सेवा

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top