साउन १४, नुवाकोट । नेपालको फस्टाउँदो डिजिटल र प्रविधि क्षेत्रलाई समेट्दै खुला स्रोत प्रविधिको सबैभन्दा ठूलो भेलाको रूपमा रहेको ‘वर्डक्याम्प काठमाडौं २०२६’ यही आउँदो असोज २ र ३ गते (सेप्टेम्बर १८ र १९) काठमाडौँमा हुने भएको छ।
डिजिटल प्रविधिलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना हुन लागेको यस दुई दिने बृहत् सम्मेलनले देशभरिका तथा अन्तर्राष्ट्रिय स्तरका वेब डेभलपर, डिजाइनर, डिजिटल मार्केटर, कन्टेन्ट क्रिएटर, उद्यमी र प्रविधिप्रेमीहरूलाई एकै ठाउँमा जोड्नेछ। व्यावसायिक दक्षता अभिवृद्धि र सहकार्यको वातावरण सिर्जना गर्न समर्पित यस कार्यक्रमले नेपाल र समग्र दक्षिण एसियाली क्षेत्रको वेब प्रविधिको भविष्यलाई नयाँ दिशा दिन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
कार्यक्रमको सम्पूर्ण तयारी पुरा गरी टिकटको लागि खुला गरिएको छ । कार्यक्रमको लागि अनलाईन माध्यमबाट मात्र अग्रीम टिकट लिन सकिने भएकाले इच्छुक सहभागीहरूलाई समयमै दर्ता गर्न आयोजकले आग्रह गरेका छन्। टिकटसम्बन्धी थप विवरण र बुकिङका लागि आधिकारिक वेबसाइटमा जान सकिनेछ।
आयोजकका अनुसार ‘स्ट्यान्डर्ड टिकट’को मूल्य दुई हजार पाँच सय रुपैँया निर्धारण गरिएको छ, जसले सम्मेलनका सबै प्राविधिक सत्रहरू, आधिकारिक टिसर्ट र उपहार (स्वाग), खाना तथा खाजा, कन्ट्रीब्युटर डे र अफिसियल ‘आफ्टर पार्टी’मा प्रवेशको सुविधा प्रदान गर्दछ। यसका साथै, स्थानीय प्रविधि क्षेत्रको प्रवर्द्धनमा थप सहयोग पुर्याउन चाहने व्यक्ति तथा संस्थाहरूका लागि सात हजार पाँच सय रुपैँयाको ‘कम्युनिटी सपोर्ट टिकट’ पनि उपलब्ध गराइएको छ, जसमा विशेष प्रि-पार्टी डिनर र औपचारिक सम्मान समावेश छ।
यस पटकको सम्मेलनमा पनि स्वदेशी तथा विदेशी प्रविधि विशेषज्ञहरूको नेतृत्वमा मुख्य मन्तव्य (किनोट), विषयगत प्राविधिक सत्र र अन्तरक्रियात्मक प्यानल छलफलहरू समावेश गरिएका छन्।
कार्यक्रममा वर्डप्रेसको आधुनिक संरचना, आधुनिक वेब डिजाइनका मापदण्ड, आर्टिफिसियल इन्टेलिजेन्स, साइबर सुरक्षा तथा डिजिटल व्यापार रणनीतिका विविध आयामहरूमा गहन प्रस्तुति हुनेछ। सिद्धान्त र मन्तव्यमा मात्र सीमित नरही सहभागीहरूले ‘कन्ट्रीब्युटर डे’मार्फत प्रत्यक्ष रूपमा कोडिङ, अनुवाद, कागजात लेखन र पहुँच सुधारमा सहकार्य गर्दै विश्वव्यापी वर्डप्रेस ओपन-सोर्स प्रोजेक्टमा आफ्ना योगदान पुर्याउन सक्नेछन्।

प्रतिक्रिया