+
Search

ताजा अपडेट +

पपुलर +

सातै प्रदेशमा ‘शिक्षकका लागि एआई’ देशव्यापी अभियान सुरु

A major digital leap in Nepal's education sector Nationwide 'AI for Educators' campaign launched in all seven provinces
डबली खबर
२ घण्टा अगाडी

असार ५, नुवाकोट । नेपालको शैक्षिक क्षेत्रलाई डिजिटल युग अनुकूल रूपान्तरण गर्ने उद्देश्यका साथ कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) र उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) बीच एक ऐतिहासिक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतामा क्यान महासंघका कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारी र हिसानका केन्द्रीय अध्यक्ष युवराज शर्माले नेपाली शिक्षा क्षेत्रमा डिजिटल रूपान्तरणको बलियो प्रस्थानविन्दु बनाउन हताक्षर गरेका हुन् ।

साझेदारी अन्तर्गत हिसान क्यान महासंघको दिगोपन साझेदारको रूपमा जोडिएको छ।  जसको मुख्य लक्ष्य देशका सातै प्रदेशमा ‘शिक्षकका लागि एआई’ राष्ट्रव्यापी कार्यशाला शृंखला सञ्चालन गर्नु हो । विद्यार्थीहरूलाई प्रविधिको सामान्य प्रयोगकर्ता मात्र बनाउनुको सट्टा आविष्कारक र सिर्जनाकर्ता बनाउनका लागि सबैभन्दा पहिले शिक्षकहरूलाई नै प्रविधिमैत्री र दक्ष बनाउनु आवश्यक रहेको ठहर गर्दै यो अभियानको थालनी गरिएको हो ।

क्यान महासंघका कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीद्वारा अवधारणागत खाका र प्राविधिक स्वरूप तयार पारिएको यस अभियानका मुख्य तीन उद्देश्यहरू रहेका छन् । पहिलो उद्देश्य अन्तर्गत सातै प्रदेशका शिक्षक तथा प्राध्यापकहरूका लागि व्यावहारिक एवं ‘ह्यान्ड्स-अन’ एआई र डिजिटल रूपान्तरण सम्बन्धी कार्यशालाहरू सञ्चालन गरिनेछ ।

दोस्रो, हिसान अन्तर्गतका शिक्षण संस्थाहरूमा सुरक्षित सञ्चार नेटवर्क, डाटा अटोमेसन फ्रेमवर्क, र क्लाउड इकोसिस्टमको अवस्था मूल्यांकन र सुदृढीकरण गरिनेछ ।

तेस्रो, पाठ्यक्रमको मानकीकरण गर्दै प्रम्प्ट इन्जिनियरिङ, एआईमा आधारित शिक्षण सामग्री उत्पादन, डिजिटल सुरक्षा, र प्राज्ञिक इमानदारिता जस्ता आधारभूत विषयहरूलाई समावेश गरिनेछ ।

यस बृहत अभियानको प्राविधिक कार्यान्वयनका लागि क्यान महासंघले आफ्ना प्रादेशिक र जिल्ला शाखाहरू तथा आधिकारिक प्राविधिक साझेदारहरू परिचालन गर्नेछ । हिसानले संस्थागत नेतृत्व गर्दै आवश्यक भौतिक पूर्वाधार, कम्प्युटर ल्याब र इन्टरनेटको जिम्मेवारी सम्हाल्नेछ ।

क्यान महासंघ र हिसानका वरिष्ठ पदाधिकारीहरूको उपस्थितिमा सम्पन्न भएको यो रणनीतिक सहकार्यले नेपाली शैक्षिक जगत्मा नयाँ आयाम थप्ने र विद्यार्थी तथा शिक्षकहरूलाई विश्वव्यापी बजार र डिजिटल अर्थतन्त्रको माग अनुसार प्रतिस्पर्धा गर्न सक्षम बनाउने विश्वास लिइएको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ