२२ माघ, विदुर । नुवाकोटमा पनि शैक्षिक सत्र २०८२ को एसइई तथा पालिकास्तरीय परीक्षाको तयारीस्वरूप आजदेखि परीक्षा सुरु भएको छ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) केन्द्रीय समितिको कार्ययोजना अन्तर्गत देशभर परीक्षा सुरु भएको हो ।
विद्यार्थीहरूको शैक्षिक मूल्याङ्कन र एसइई तथा पालिकास्तरीय परीक्षाको पूर्व तयारी अनुरुप परीक्षा लिईएको प्याब्सन अध्यक्ष पुरुषोत्तम अधिकारीले बताए। परीक्षा मर्यादित, व्यवस्थित र अनुशासनपूर्ण रूपमा सञ्चालन गर्न सबै केन्द्रहरूमा आवश्यक व्यवस्थापन मिलाइएको उनले जानकारी दिए ।
प्याब्सन नुवाकोटको संयोजनमा विदुर नगरपालिकामा तीन र सुर्यगढी गाउँपालिकामा एक विद्यालयलाई परीक्षा केन्द्र तोकिएको छ । जसमा सुभेनियर बोर्डिङ स्कुल, स्पार्कल इन्टरनेशनल स्कुल, अर्किड एकेडेमी नुवाकोट र नुवाकोट ग्लोरी बोर्डिङ स्कुल रहेका छन् ।
परीक्षा केन्द्रहरूमा परीक्षाको व्यवस्थापन, अनुगमन तथा सुरक्षा व्यवस्था मिलाइएको विदुर नगर प्याब्सनका अध्यक्ष रामराजा कुमालले बताए । परीक्षा केन्द्रहरूको अवस्था, विद्यार्थीहरूको सहभागिता तथा समग्र व्यवस्थापनबारे जानकारी दिँदै परीक्षालाई शान्तिपूर्ण र मर्यादित रूपमा सञ्चालन गर्न सबै पक्षको सहयोग आवश्यक रहेको बताए ।
माघ २९ गतेसम्म सञ्चालन हुने परीक्षामा ३६ विद्यालयका एसइईतर्फ तीन सय ८५ जना र पालिकास्तरीयतर्फ पाँच सय २३ जना विद्यार्थीहरुले सहभागी भएका छन् ।
प्याब्सनले आफ्ना मातहतका निजी तथा आवासीय माध्यमिक विद्यालयहरूमा प्रत्येक वर्ष एसइई पूर्व तयारी परीक्षा सञ्चालन गर्दै आएको छ।
| मिति (वि.सं.) | बार | विषय |
| २०८२ माघ २२ | बिहीबार | अंग्रेजी |
| २०८२ माघ २३ | शुक्रबार | नेपाली |
| २०८२ माघ २५ | आइतबार | गणित |
| २०८२ माघ २६ | सोमबार | विज्ञान |
| २०८२ माघ २७ | मंगलबार | सामाजिक शिक्षा |
| २०८२ माघ २८ | बुधबार | ऐच्छिक प्रथम पत्र |
| २०८२ माघ २९ | बिहीबार | ऐच्छिक द्वितीय पत्र |

प्रतिक्रिया