१८ मङ्सिर, नुवाकोट । बेलकोटगढी नगरपालिका वडा नं. १३ ढाडफेदीस्थित सूर्यमती माध्यमिक विद्यालयको प्रशासन कोठामा आगलागी भएको छ।
आज बिहान करीब २ बजेतिर अचानक भएको यस घटनामा विद्यालयको लाखौं मूल्य बराबरको सम्पत्ति नष्ट भएको प्रहरीले जनाएको छ।
प्रहरीलाई आगलागीको खबर प्राप्त हुनासाथ नजिकको प्रहरी चौकी तादीपुलबाट प्रहरी अधिकृतसहितको टोली तत्काल घटनास्थलमा खटिएको जनाएको छ ।
स्थानीय बासिन्दाहरूको सहयोगमा आगो नियन्त्रणमा लिइए तापनि उक्त कोठामा ठूलो क्षति भइसकेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी प्रहरी निरीक्षक वीरबहादुर बुडाऐरले जानकारी दिए ।
प्रहरीकाअनुसार प्रशासन कोठामा राखिएका महत्वपूर्ण सामाग्रीहरू पूर्ण रूपमा जलेर नष्ट भएका छन्।
आगलागीमा परी ७ थान ल्यापटप, १ थान कम्प्युटर, ५ थान प्रिन्टर सहित २ थान स्टिल दराज, ३ थान काठको दराज, ५ थान काठको टेबुल, ८ थान कुर्सी तथा विद्यालयका महत्वपूर्ण कागजपत्रहरू सबै जलेर खरानी भएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जानकारी दिएको छ। आगलागीको कारण खुल्न सकेको छैन ।
घटनाको प्रकृति हेर्दा यसले शैक्षिक तथा प्रशासनिक कार्यमा गम्भीर असर पुर्याउने देखिएको छ।

प्रतिक्रिया