१६ कात्तिक, नुवाकोट । विदुर नगरपालिका, त्रिशुली अस्पताल, लायन्स क्लब अफ नुवाकोट त्रिशूली र सुष्मा कोइराला मेमोरियल अस्पतालको संयुक्त आयोजनामा नि:शुल्क प्लाष्टिक शल्यक्रिया शिविर सञ्चालन हुने भएको छ।
शिविरबारे जानकारी दिन नगरपालिकामा आयोजित बैठकमा नगरपालिकाकी उपप्रमुख प्रभा बोगटीले शिविरमा प्लाष्टिक सर्जरी गर्न सम्भव भएका व्यक्तिले लाभ लिन अनुरोध गरेकी छिन् ।
शिविर यही कार्तिक २९ गतेदेखि मङ्सिर १ गतेसम्म बिहान ८ बजेदेखि ३ बजेसम्म सञ्चालन हुने लायन्स क्लब अफ नुवाकोट त्रिशूलीका पूर्वअध्यक्ष रमेश श्रेष्ठले जानकारी दिए । शिविरमा जलन, दुर्घटना, जन्मजात विकृति तथा क्यान्सरसम्बन्धी जटिल अवस्थाबाट ग्रस्त व्यक्तिहरूले स्वास्थ्य सेवा लिन सकिने उनले बताए ।
त्रिशूली अस्पतालमा हुने शिविरमा डा. सन्तोषविक्रम भण्डारी, डा. राजु भण्डारीसहितको विशेषज्ञ चिकित्सक टोलीले शल्यक्रियामा उपचार सेवा दिनेछ ।
शिविरमा विशेषत: आगोले पोलेर शरीरको कुनै भाग खुम्चिएको, आगलागीबाट कपाल गुमाएकाहरू, आगोले पोलेर वा जन्मजात हातका औँला टाँसिएको, हात–खुट्टामा जन्मजात पाँचभन्दा बढी औँला भएको, ओठ वा तालु फटेको, मांसपेशी खुम्चिएर नचल्ने अंग, विस्फोटनबाट क्षतिग्रस्त भई शल्यक्रिया आवश्यक अवस्थामा पुगेका, खुट्टाको पैतलाभित्र फर्किएको, काटिएको अंग पुनः अपरेशन आवश्यक परेका, कान–नाक चिरिएको समस्या, शरीरका मुसा, कोठी, दाग, गाठाहरु, क्यान्सरसँग सम्बन्धित शल्यक्रिया आवश्यक परेका बिरामी तथा मेरुदण्ड भाँचिएर प्यारालाइसिस भई खाँटे घाउ बनेका बिरामीहरूको उपचार हुने डा. सन्तोषविक्रम भण्डारीले जानकारी दिए ।
त्यसैगरी स्तनको आकार मिलाउनु पर्ने तथा क्यान्सर उपचारपछि गुमेको स्तन पुनः बनाउनु पर्ने अवस्थाका बिरामीलाई समेत शिविरमा सेवा उपलब्ध गराइने डा. भण्डारीले जानकारी दिए । जटिल रहेका बिरामीहरूका थप उपचारको लागि सुष्मा कोइराला मेमोरियल अस्पताल पठाईइने डा. भण्डारीले बताए ।

प्रतिक्रिया