+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटका १२ निर्माण सामग्री उद्योग तथा फर्म ध्वस्त, तीन व्यवसायी बेपत्ता

सुनील श्रेष्ठ
४२ मिनेट अगाडी

असोज ६, विदुर। गत भदौ १० गते भोटेकोशी-त्रिशूली नदीमा आएको भीषण हिमबाढीले नुवाकोटको व्यावसायिक क्षेत्रमा ठूलो विनाश निम्त्याएको छ। बाढीका कारण जिल्लाका कम्तीमा १२ वटा निर्माण सामग्री व्यवसाय पूर्ण रूपमा ध्वस्त भएका छन् भने तीन जना व्यवसायी हालसम्म बेपत्ता रहेका छन्।

नुवाकोट निर्माण सामग्री व्यवसायी सङ्घका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठका अनुसार बाढीको तीव्र बहावले नदी तटीय क्षेत्र आसपासमा रहेका पसल, सोरुम, कारखाना र गोदामघरहरू बगाएर पूर्ण क्षति पुर्‍याएको छ।

बाढीले पुर्‍याएको क्षतिको विवरण अनुसार विदुर-१, ढुङ्गेमा रहेका व्यवसायीहरू सबैभन्दा बढी प्रभावित बनेका छन्। सङ्घका अध्यक्ष नवीनकृष्ण राजभण्डारीको घर, मनकामना इन्टरप्राइजेजको सोरुम र गोदामघर पूर्ण रूपमा नष्ट भएको छ। सोही स्थानमा रहेको सविन राजभण्डारीको माता मनकामना सप्लायर्सको पसल तथा गोदाम, प्रेमनाथ लामिछानेको लामिछाने हार्डवेयर र सञ्जीव थपलियाको इन्द्रायणी ग्याबिन बक्स प्रा.लि.को सोरुम, अफिस तथा कारखाना बाढीले सोत्तर बनाएको छ।

त्यसैगरी, विदुर-१ कै धोबीखोलास्थित त्रिशूली पुल नजिकै रहेको राजु मानन्धरको घर, राज हार्डवेयर र गोदामघर पूर्ण रूपमा क्षति भएको छ। त्रिशूलीबजारमा रहेको प्रितम शाक्यको घर र त्रिशूली हार्डवेयरको गोदाम बाढीले बगाएको छ भने उक्त घटनामा परेर शाक्यका बुबा बेपत्ता भएको छ।

बाढीको प्रकोप विदुरका अन्य वडाहरूमा पनि उत्तिकै भयानक देखिएको छ। विदुर-४ सिँचाइ क्षेत्रमा रहेको राजाराम अधिकारीको गरिमा पाइप उद्योगको कारखाना र गोदामघर, विदुर-५ देवीघाटस्थित विरोध खतिवडाको न्यु खतिवडा हार्डवेयर र राममणि घिमिरेको घिमिरे हार्डवेयरका पसल तथा गोदामघरहरू पनि बाढीले ध्वस्त पारेको छ।

यस्तै, विदुर-१० भैँसेमा उपेन्द्र बुढाथोकीको घर र बागमती ग्याबिन बक्स सप्लायर्सको कारखाना तथा गोदाम पूर्ण रूपमा क्षति भएको छ।

विदुर-१० वेत्रावती क्षेत्रमा उत्तरगया हार्डवेयरका सञ्चालक भरत भट्टकी पत्नी बाढीमा परेर बेपत्ता भएको छ भने उनको पसल र गोदाम घर नष्ट भएको छ। सोही स्थानमा रहेको न्यू बुद्ध हार्डवेयर सप्लायर्सका पसल तथा गोदामघर पूर्ण क्षति हुनुका साथै सञ्चालक खिलराज भट्ट आफैँ पनि बाढीमा परी हालसम्म बेपत्ता भएको जनाएको छ।

विपदको यो घडीमा बेपत्ता भएकाहरूको खोजी कार्य जारी राखिएको र प्रभावित व्यवसायीहरूलाई राहत तथा पुनर्स्थापनाका लागि पहल भइरहेको जनाइएको छ।

लेखकको बारेमा

सुनील श्रेष्ठ

ट्रेन्डिङ