कात्तिक २०, विदुर । बर्दियाको मधुवन नगरपालिकाले नुवाकोटको विदुर नगरपालिकाका बाढीपीडित तथा विपद् प्रभावित परिवारका लागि खाद्यान्न सामग्री सहयोग गरेको छ।
प्राकृतिक विपत्तिले पुर्याएको क्षतिप्रति मानवीय भावना दर्शाउँदै मधुवन नगरपालिकाले राहतस्वरूप खाद्यान्न सामग्री सहयोग गरेको हो।
विदुर नगरपालिकाको कार्यालयमा आयोजित एक कार्यक्रममा मधुवन नगरपालिकाका प्रमुख तेजबहादुर भाटले विदुर नपाका प्रमुख राजन श्रेष्ठलाई सहयोग सामाग्री हस्तान्तरण गरेका हुन् ।
मधुवन नगरपालिकाका नगर प्रमुख भाटले विपद्को यस कठिन घडीमा दुःखी परिवारहरूलाई राहत पुगोस् भनी नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, शिक्षक, व्यापारी लगायत विभिन्न संघसंस्था र समुदायको सक्रियतामा राहत सामग्री संकलन गरिएको जानकारी दिएका छन्। विपद्को मारमा परेका पीडितहरूका लागि स्थानीयस्तरबाटै ‘मानमुठी’ सङ्कलन गरी चामल र दाललगायतका खाद्यान्न सामाग्री उपलब्ध गराइएको उनले बताए ।
मानवीय तथा उद्धार सहयोगप्रति विदुर नगरपालिकाका प्रमुख श्रेष्ठले बर्दियाको मधुवन नगरपालिकाका जनप्रतिनिधि, नगरवासी तथा दाताहरूप्रति आभार तथा धन्यवाद प्रकट गरेका छन्। कठिन परिस्थितिमा प्राप्त यस किसिमको सहयोगले दुई पालिका बीचको सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै आपतकालीन अवस्थामा मानवीय एकताको उच्च संदेश दिएको प्रमुख श्रेष्ठले बताए ।
सहयोग खाद्यान्न सामग्रीमा चामल छसय १७ बोरा र दाल २७ बोरा रहेको विदुर नगरपालिकाका विपद शाखाका प्रमुख सुबास पाण्डेले जानकारी दिए।