+
Search

ताजा अपडेट +

पपुलर +

मुख्यमन्त्री किरण थापाको रेडक्रस भ्रमण, रसुवा बाढीपीडितका लागि पुनर्लाभ सम्झौता

डबली खबर
२ घण्टा अगाडी

कात्तिक १६, नुवाकोट । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयको भ्रमण गरेका छन् । भ्रमणका क्रममा उनले आफ्नो कर्मयात्राको सुरुवात रेडक्रसबाटै भएको स्मरण गर्दै संस्थाले मानवीय सेवामा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गरेका छन्  ।

मुख्यमन्त्री थापाले आफू पनि नेपाल रेडक्रसको युथ मेम्बर रहँदा नेतृत्व विकास, जनसम्पर्क, प्राथमिक उपचार र प्रकोप व्यवस्थापनसम्बन्धी सीपहरू जीवनमा निकै उपयोगी भएको बताए । उनले आगामी दिनमा व्यक्तिगत रूपमा तथा बागमती प्रदेश सरकारका तर्फबाट नेपाल रेडक्रसलाई आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा नेपाल रेडक्रविपद् प्रतिकार्य, प्रभावित समुदायको पुनर्लाभ तथा पुनर्स्थापना र मानवीय सेवाका क्षेत्रमा रेडक्रसले गरिरहेका कार्यबारे छलफल भएको छ ।

भ्रमणकै क्रममा रसुवाको बाढी प्रभावित समुदायको पुनर्लाभ तथा पुनर्स्थापनाका लागि कालिका गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी रसुवा जिल्ला शाखाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटा र रेडक्रस रसुवा शाखाका उपसभापति नीलकण्ठ आचार्यले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार बाढी प्रभावित परिवारको तत्कालीन आवश्यकता सम्बोधन गर्नुका साथै स्वास्थ्य, खानेपानी, सरसफाइ तथा स्वच्छता, आवास, जीविकोपार्जन पुनर्स्थापना, नगद सहायता र विपद् जोखिम न्यूनीकरणलगायतका क्षेत्रमा सहकार्य गरिनेछ। यसअन्तर्गत बहुउद्देश्यीय नगद सहायता, जीविकोपार्जन सहयोग, अस्थायी आवास तथा घरभाडा सहायता र मृत्यु वा बेपत्ता भएका व्यक्तिका परिवारलाई निर्धारित मापदण्डअनुसार सहयोग उपलब्ध गराउने योजना समेटिएको छ।

कार्यक्रममा अध्यक्ष डा. विशालकुमार भण्डारीले नेपाल रेडक्रसले विपद् प्रभावित समुदायको आवश्यकता र प्राथमिकतालाई केन्द्रमा राखी पारदर्शिता, जवाफदेहिता, समावेशिता तथा स्थानीय समुदायको सहभागिता सुनिश्चित गर्दै कार्यक्रम कार्यान्वयन गर्ने बताए । उनले रेडक्रस, स्थानीय सरकार र प्रदेश सरकारबीचको समन्वय तथा सहकार्यले बाढी प्रभावित समुदायको पुनर्लाभ र पुनर्स्थापनालाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका छन् ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ