कात्तिक १६, विदुर । गत भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा लेदोसहित आएको विनासकारी हिमबाढीबाट प्रभावित नुवाकोटका पीडितहरूले आफूलाई पुरानो दैनिकीमा फर्काउन सरकारको ध्यानाकर्षण गराएका छन्।
सोमबार भोटेकोशी–त्रिशूली बाढीपीडित सरोकार समिति नुवाकोटले सदरमुकाम विदुरमा भेला भई र्यालीसहित जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीमार्फत नेपाल सरकारलाई ६ बुँदे मागपत्र बुझाएको हो।
समितिका अध्यक्ष सूर्यबहादुर कँडेलको नेतृत्वमा गएको टोलीले माग तत्काल सम्बोधन गर्न जोडदार आग्रह गरेको छ।
समितिले सरकारसँग पीडितको वर्गीकरण र क्षतिपूर्ति, क्षतिको तथ्याङ्क सङ्कलन, राहत वितरण, पुनस्र्थापना, पुनर्बास र जीवनयापन सहजीकरण, विकास निर्माणका साथै ऐतिहासिक तथा पुरातात्विक धरोहरको पुनर्निर्माण र पुनर्निर्माण प्राधिकरण गठनको माग गरेको छ।
उक्त दिन नै समितिले जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रमसिंहठकुरी र विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठलाई पनि सरकारलाई पेश गरिएको मागबारे जानकारी गराएको थियो।