कात्तिक १९, नुवाकोट । त्रिशूली अस्पतालले आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा २९ हजार ५ सय ४५ जनालाई स्वास्थ्य सेवा प्रदान गरेको जनाएको छ।
अस्पतालले सार्वजनिक गरेको स्वतः प्रकाशन विवरणअनुसार उक्त अवधिमा बहिरङ्ग सेवामा २५ हजार पाँचसय ९३ जना, आकस्मिक सेवामा तीनहजार नौसय ५२ जना र भर्ना भएका बिरामी सातसय ७३ जना रहेका छन्।
अस्पतालमा बिरामी बसाइ अवधि बढीमा तीन दिनसम्म रहेको छ ।
सो अवधिमा एकसय १० प्रसूति सेवा दिइएको छ। जसमध्ये सामान्य प्रसूति ५२, सिजेरियन ५७ र सहयोगी प्रसूति १ रहेको छ। प्रमुख शल्यक्रिया एकसय ६४, मध्यमस्तरका ४९ र साना शल्यक्रिया आठसय २४ भएका छन्। आईसीयू सेवा एकसय ३८ र एनआईसीयू सेवा ६ जनालाई प्रदान गरिएको छ।
प्रयोगशाला सेवा ११ हजार ८ सय ३७ जनालाई, एक्सरे ४ हजार ८ सय ८०, अल्ट्रासाउन्ड ३ हजार ८ सय ८, ईसीजी २ हजार ८ सय १५, सीटी स्क्यान २२८ र इकोकार्डियोग्राम १०७ पटक गरिएको छ।