जेठ ३, नुवाकोट । माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को नतिजामा नुवाकोट जिल्लाको शैक्षिकस्थिति उत्साहजनक देखिएको छ।
शिक्षा विकास तथा समन्वय इकाई नुवाकोटका अनुसार यस वर्ष जिल्लाभरबाट कुल ६३ दशमलव ४६ प्रतिशत विद्यार्थीहरू उत्तीर्ण भएका छन् । गत चैत महिनामा सञ्चालित परीक्षामा जिल्लाका विभिन्न १४० भन्दा बढी विद्यालयबाट कुल ३ हजार ३ सय ५६ जना परीक्षार्थीहरू सहभागी भएका थिए । जसमध्ये २ हजार १ सय ३० जना विद्यार्थीहरू सफलतापूर्वक ‘ग्रेडेड’ (उत्तीर्ण) हुन सफल भएका छन् ।
गत वर्ष नुवाकोटमा ५९ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण भएका थिए । तुलनात्मक रुपमा यस वर्ष उत्तीर्ण दर करिब ४ प्रतिशतले वृद्धि भएको छ ।
यद्यपि, परीक्षामा १ हजार २ सय २६ जना विद्यार्थीको नतिजा भने ‘नन-ग्रेडेड’ अर्थात् अनुत्तीर्ण रह्यो । कुल परीक्षार्थीको ३६ दशमलव ५४ प्रतिशत हो । अनुत्तीर्ण भएकाले आगामी असार १ गतेदेखि ९ गतेसम्म सञ्चालन हुने ग्रेड वृद्धि पूरक परीक्षामा सहभागी भई पुनः आफ्नो नतिजा सुधार गर्ने अवसर पाउनेछन् ।
जिल्लाभर कुल ११ जना विद्यार्थीहरूले ‘४ जीपीए’ प्राप्त गरेर सर्वोत्कृष्ट स्थान हासिल गरेका छन् । उत्कृष्ट विद्यार्थीहरू विदुर नगरपालिकाका विद्यालयका हुन् । यसरी उत्कृष्ट अंक ल्याउनेमा विदुरस्थित पृथ्वी माध्यमिक विद्यालयका ९ जना, सुभेनियर बोर्डिङ स्कुलका १ जना र सूर्यज्योति बोर्डिङ स्कुलका १ जना विद्यार्थी रहेका छन् ।
स्थानीय तहगत आधारमा विश्लेषण गर्दा नुवाकोटका १२ स्थानीय तहहरूमध्ये विदुर नगरपालिका सबैभन्दा उत्कृष्ट साबित भएको छ। विदुर नगरपालिकाका ९ सय १३ परीक्षार्थीमध्ये ७ सय ५० जना (८२ दशमलव १५ प्रतिशत) उत्तीर्ण हुन सफल भएका छन् ।
त्यस्तै, लिखु गाउँपालिका ७८ दशमलव ५८ प्रतिशत उत्तीर्ण दरका साथ दोस्रो स्थानमा रहँदा तादी गाउँपालिका ६४ दशमलव ०४ प्रतिशत र पञ्चकन्या गाउँपालिका ६४ प्रतिशत नतिजासहित क्रमशः अगाडि रहेका छन् ।
अन्य तहहरूमा ककनीको ६२.५८ प्रतिशत, बेलकोटगढीको ६०.०९ प्रतिशत, सूर्यगढीको ५६.४७ प्रतिशत, शिवपुरीको ५२.३४ प्रतिशत र दुप्चेश्वर गाउँपालिकाको ५२.०२ प्रतिशत उत्तीर्ण दर छ ।
सबैभन्दा तल्लो स्थानमा भने म्यागङ, तारकेश्वर र किस्पाङ गाउँपालिका देखिएका छन्। म्यागङ गाउँपालिकामा ४६ दशमलव ४५ प्रतिशत विद्यार्थी मात्र ग्रेडेड हुन सके । त्यसैगरी, तारकेश्वर गाउँपालिकाको उत्तीर्ण दर ३४ दशमलव २८ प्रतिशतमा खुम्चिएको छ भने किस्पाङ गाउँपालिका ३३ दशमलव १३ प्रतिशत उत्तीर्ण दरका साथ जिल्लाकै सबैभन्दा कमजोर नतिजा ल्याउने तह बन्न पुग्यो ।

प्रतिक्रिया