कात्तिक १४, नुवाकोट । अविरल वर्षाका कारण गल्छी–त्रिशूली–मैलुङ–रसुवागढी सडकखण्डको आगिटारदेखि बेत्रावतीसम्म करिब तीन सय मिटर क्षेत्रमा पहिरो खस्दा सडक पुनः अवरुद्ध भएको छ।
स्थानीय शशी डङ्गोलका अनुसार झरी वर्षाले बेत्रावती–आगिटार क्षेत्रको बाटो पूर्ण रूपमा बन्द भएको छ। पहिरोले सडक तल नदी किनारतिर भासिएको छ।
भोटेकोशी-त्रिशूली नदीमा आएको विनाशकारी बाढीपहिरोले सडक तथा पुलहरूमा क्षति पुर्याएपछि एक महिनासम्म सञ्जालबाट विच्छेद भएको यो सडक नेपाली सेना, सडक विभाग र विशेष कार्यदलको निरन्तर प्रयासपछि पुनः जोडिएको थियो। भीरमा अस्थायी ट्र्याक खोलेर यातायात सम्पर्क पुनर्स्थापित गरिएको थियो।
तर अहिले फेरि वर्षाका कारण उक्त खण्ड अवरुद्ध भएको छ। स्थानीयले सुरक्षित आवागमनका लागि तत्काल मर्मतको माग गरेका छन्।