कात्तिक १६, नुवाकोट । ‘कर्पोरेट खबर’ का अध्यक्ष उज्ज्वलजङ्ग पराक्रम शाहलाई काभ्रेपलाञ्चोकको बनेपामा शनिबार आयोजित एक कार्यक्रममा ‘शब्दयात्रा प्रकाशन’ ले सम्मान गरेको छ।
यस सम्मानपछि शाहले ‘शब्दयात्रा प्रकाशन’ प्रति आभार व्यक्त गर्दै, यस सम्मानले आफूलाई थप प्रेरित गर्नुका साथै जिम्मेवारीबोध अझ बलियो बनाएको बताए।
शाहले भने, “आफ्नो कार्यक्रममा मलाई सम्मान गरेकोमा म ‘शब्दयात्रा प्रकाशन’ प्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछु। सम्पूर्ण ‘शब्दयात्रा’ परिवारप्रति मेरो हृदयदेखि नै धन्यवाद छ। विशेष गरी हरि गोपाल प्रधानजीप्रति म कृतज्ञता व्यक्त गर्न चाहन्छु।”
आफ्नो जीवनमा शब्द र भाषाको महत्त्वबारे प्रकाश पार्दै शाहले यी कुराहरू आफ्नो पहिचान र व्यावसायिक यात्राको अभिन्न अंग रहँदै आएको बताए।
उनले भने, “शब्द र अक्षर मेरो जीवनका अविभाज्य अंग हुन्। पत्रकारिताको मेरो यात्रामा शब्दहरू नै मेरो शक्ति, पहिचान र पेसा बनेका छन्। मेरा लागि शब्दहरू केवल अभिव्यक्तिको माध्यम मात्र होइनन्; यी जीवनका अपरिहार्य हिस्सा र समाजप्रतिको जिम्मेवारी हुन्। शब्दहरूप्रतिको यो सम्मानले मलाई अझ बढी जिम्मेवार, प्रेरित र उत्साहित महसुस गराएको छ।”
‘शब्दयात्रा प्रकाशन’ ले साहित्य, भाषा, पत्रकारिता तथा शब्द र लिखित अभिव्यक्तिको प्रवर्द्धनमा संलग्न व्यक्तिहरूलाई सम्मान गर्दै आएको छ।