१५ फागुन, नुवाकोट । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय नुवाकोटले मतदानको दिन सवारीसाधन सञ्चालनमा रोक लगाएको छ।
प्रशासनले फागुन २० गते राति १२:०० बजेदेखि २१ गते मतदान कार्य सम्पन्न नभएसम्मका लागि अत्यावश्यक सेवा र अनुमति प्राप्त सवारी साधनबाहेक अन्य सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा अस्थायी रोक लगाएको हो।
शुक्रबार सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईँद्वारा जारी सूचनाअनुसार निर्वाचन सुरक्षा र मतदाताको सहजताका लागि यस्तो निर्णय गरिएको जनाएको छ ।
मतदानको दिन एम्बुलेन्स, दमकल, शव वाहन, रक्तसञ्चार सेवा र सुरक्षा निकायका सवारी साधनहरू निर्वाध सञ्चालन हुन पाउनेछन्। त्यसैगरी, विद्युत्, खानेपानी, दूरसञ्चार जस्ता अत्यावश्यक सेवा मर्मतमा प्रयोग हुने सवारी साधनलाई पनि रोक लगाइने छैन।
यसबाहेक, निर्वाचन आयोगबाट विशेष अनुमति (पास) प्राप्त गरेका सवारी साधनहरूले मात्र सडकमा गुड्न पाउने व्यवस्था गरिएको छ।
प्रशासनले जारी गरेको सूचनामा सबै सरोकारवाला पक्षलाई यो व्यवस्था पालना गरी निर्वाचन सफल पार्न सहयोगका लागि अनुरोध गरिएको छ। तोकिएको समयसीमा र मापदण्ड उल्लंघन गर्ने सवारी साधनलाई कानुन बमोजिम नियन्त्रणमा लिई कारबाही गरिने समेत प्रशासनले स्पष्ट पारेको छ।


















प्रतिक्रिया