+
Search

ताजा अपडेट +

पपुलर +

बाढीको क्षतिपछि सडक र आवतजावत सहज बनाउन तीव्र मर्मत तथा वैकल्पिक मार्ग सञ्चालनमा

डबली खबर
४ मिनेट अगाडी

असोज ५, नुवाकोट । भोटेकोशी-त्रिशूली नदीमा आएको विनासकारी बाढीले विभिन्न स्थानमा क्षति पुर्‍याएपछि प्रभावित क्षेत्रमा यातयात तथा आवतजावतलाई सहज बनाउन नुवाकोट, रसुवा र धादिङमा मर्मतसम्भार र वैकल्पिक मार्ग सञ्चालनको काम तीव्र पारिएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ।

प्रशासनका अनुसार गल्छी-देवीघाट सडकखण्डको ठुलो खोला पुल सफा गरी यातायात सञ्चालनमा ल्याइएको छ। पुल माथिबाट अझै पनि पानी बगिरहेको र रातमाटे क्षेत्रमा कटान भएको सडक मर्मतको कार्य निरन्तर भइरहेको छ। तादी नदीमा रहेको पुल बगाएर अवरुद्ध भएको सडकमा भने ‘एक्रो ब्रिज’ जडान गरी सञ्चालनमा ल्याइएको छ।

ढुङ्गे बजारदेखि तिरतिरे भीर हुँदै बेत्रावतीतर्फ करिब १.७५ किलोमिटर सडक सफा गर्ने कार्य सकिएको छ । बाँकी खण्डमा चट्टान फोर्ने, ग्राभेल बिछ्याउने र नाली बनाउने काम जारी छ। जिल्लाभित्रका प्रभावित सडक मर्मतका लागि १७ वटा हेभी इक्विपमेन्ट र १७ वटा टिपर परिचालन गरिएको छ।

अवरुद्ध मार्गमा वैकल्पिक सडक सञ्चालन

मुख्य सडक खण्डहरू प्रभावित भएपछि सर्वसाधारणका लागि विभिन्न वैकल्पिक सडक मार्गहरू प्रयोगमा ल्याइएको जनाएको छ।

बाहुनेबेसी-लाच्च्याङ-परच्याङ-धुन्चे सडक तथा ढीकुरे-फेदीबेसी-चोगते-बोरेभञ्ज्याङ-ढुङ्गेधारा हुँदै बेत्रावती/रसुवा जाने बाटोमा साना सवारी सञ्चालन भइरहेका छन्।

विदुर-चोगते-बोरेभञ्ज्याङ-लच्याङ-जिरो किलो-धुन्चे सडक, कोलोनी-बुद्धसिंहघाट सडक र बेलकोटगढी-निरञ्जना सडक सञ्चालनमा छन्। यस्तै, चोगते-बोरेभञ्ज्याङ-दण्डद्वारा-ढुङ्गेधारा-पाटीखर्क-भोर्ले सडकमा ठुला सवारी चलाउन पहल भइरहेको छ।

गल्छी-कोशीखोला-कोलडाँडा-तार्केश्वर-छत्रेखोला पुल हुँदै कोलोनी जाने मार्ग र विदुर-पिपलटार-धमले-निरञ्जना-बागखोर-देउराली-दुईपिपल-कोलपुटार हुँदै गल्छी जाने बाटोलाई पनि वैकल्पिक रूपमा प्रयोग गर्न सकिनेछ।

विदुर नगरपालिकाका हेभी मेसिन प्रयोग गरी विदुर नगरपालिका-११ थापाटार-बेत्रावती सडक खोल्ने काम भइरहेको छ।

तुइन, जिपलाइन र बेली ब्रिज निर्माणमा तीव्रता

आवतजावतलाई थप सहज बनाउन नुवाकोटको विदुर-९ इन्द्रायणी चौर क्षेत्रमा ४ वटा तुइन निर्माण गरी सञ्चालनमा ल्याइएको छ, जसमध्ये एक तुइनलाई मोटरबाट चल्ने बनाउने काम सुरु गरिएको छ। सामान ढुवानी सहज पार्न इन्देणीघाट र त्रिशुली गुम्बाबीच ‘जिपलाइन’ समेत सञ्चालनमा आएको छ।

यसैगरी, किस्पाङ जोड्ने सलाखु खोलामा पुल बगेकाले त्यहाँ १२० सेन्टिमिटरका १६ वटा ह्युम पाइप राख्ने काम भइरहेको छ भने ढुङ्गेबाट पारिपट्टि झोलुङ्गे पुलका लागि जग हाल्ने र बेत्रावतीबाट रसुवा जोड्ने बेली ब्रिज निर्माणका लागि जग खन्ने काम तीव्र पारिएको छ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ