+
Search

ताजा अपडेट +

पपुलर +

भोटेकोशी-त्रिशूली बाढी: नुवाकोटका ६ विद्यालय, २१ पक्की पुल र ६ जलविद्युत आयोजनामा पूर्ण क्षति

डबली खबर
१२ घण्टा अगाडी

भदौ ३१, नुवाकोट । भोटेकोशी-त्रिशूली नदीमा आएको भिषण बाढीका कारण नुवाकोट क्षेत्रमा ठूलो जनधनका साथै भौतिक पूर्वाधारमा गम्भीर क्षति पुगेको छ।

जिल्ला प्रशासन कार्यालय नुवाकोटको तथ्यांकअनुसार भदौ १० गते आएको बिपत्तिले सडक, पुल, विद्यालय, जलविद्युत आयोजना तथा सरकारी संरचनाहरू तहसनहस पारेको छ। बाढीले सर्वसाधारणको दैनिकी प्रभावित हुनुका साथै जिल्लाको यातायात र विद्युत् सेवा समेत क्षति पुगेको छ ।

बाढीले जिल्लाका ६ वटा विद्यालय भवन पूर्ण रूपमा ध्वस्त भएका छन् भने ३ वटा विद्यालयमा आंशिक क्षति पुगेको छ ।

यसैगरी आवागमनका लागि महत्त्वपूर्ण मानिएका २१ वटा पक्की पुल र १८ वटा झोलुङ्गे पुल पूर्ण रूपमा बगेका वा ढलेका छन्। पक्की पुलतर्फ थप १ वटा पुलमा आंशिक क्षति पुगेको छ, जसका कारण धेरै स्थानीय तहहरूसँगको प्रत्यक्ष सडक सम्पर्क विच्छेद भएको छ ।

बाढीले ऊर्जा र सार्वजनिक सेवा क्षेत्रमा पनि बाढीले ठूलो धक्का दिएको छ। कुल ६ वटा जलविद्युत आयोजनाहरूमा पूर्ण रूपमा क्षति पुग्दा विद्युत् उत्पादन ठप्प बनेको छ।

त्यसैगरी सरकारी सम्पत्तितर्फ ६१ वटा सरकारी सवारी साधन पूर्ण रूपमा नष्ट भएका छन्।

प्रशासनिक सेवा प्रवाह गर्ने १४ वटा सरकारी कार्यालय भवन पूर्ण रूपमा ध्वस्त भएका छन् भने २ वटामा आंशिक क्षति पुगेको छ।

सडकमार्गतर्फ ५.५ किलोमिटर सडक पूर्ण रूपमा बगेर नष्ट भएको छ भने ८ किलोमिटर सडक खण्डमा आंशिक क्षति पुगेको छ।

यसैगरी १४ वटा सहकारी संस्थाका भवन तथा संरचनाहरू पूर्ण रूपमा क्षति भएका छन्।

सर्वसाधारणको प्राथमिक स्वास्थ्य उपचारका लागि प्रयोग हुने २ वटा स्वास्थ्य चौकी (खोप केन्द्र) भवन पनि पूर्ण रूपमा ध्वस्त भएका छन्।

हाल प्रभावित क्षेत्रमा उद्धार र पुनःस्थापनाका कार्यहरू तीव्र पारिए पनि पूर्वाधारको यो क्षतिले गर्दा सामान्य स्थितिमा फर्कन लामो समय लाग्ने देखिएको छ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ